संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभामा नै पहिलो पटक पाठेघरको मुखको क्यान्सर (भिआईए)को चेकजाँच तथा उपचार सेवा शुरु भएको छ ।
जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको एकमात्रै संखुवासभा जिल्ला अस्पतालमा पहिलो पटक पाठेघरको मुखमा क्यान्सर भएका महिलाहरुको लागि चेकजाँच तथा उपचार सेवा शुरुवात भएको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए । उनले भर्खरै देखि अस्पतालमा पाठेघरको मुखमा क्यान्सर भएका महिलाहरुको शुरुवाती चरणमा उपचार गर्न सकिने सुविधा थपेको बताए । ‘ग्रामीण क्षेत्रका हाम्रा आमा, दिदिबहिनीहरु पाठेघरको मुखमा क्यान्सर हुने पीडाबाट पिडीत छन् । रोग लुकाएर बस्न बाध्य भएका छन् । अब क्यान्सर भएको शुरुवाती चरणमा यहि उपचार हुने र रोग छिप्पिएको रहेछ भने सुविधासम्पन्न अस्पतालमा रिफर गछौ ।’—श्रेष्ठले भने–‘रोगको पहिचान र रोगको अवस्थाको बारेमा यहि चेकजाँच हुन्छ, त्यो नै ठुलो कुरा हो । नत्रभने रोगको पहिचान गराउन मात्रै लाखौ रुपैया खर्चेर सुविधासम्पन्न अस्पताल खोज्र्दै धरान, बिराटनगर र काठमाडौ जानुपथ्यौं, अब त्यो समस्या हटेको छ ।’
जिल्ला अस्पतालमा नै पाठेघरको मुखको क्यान्सर चेकजाँच तथा उपचार सेवा शुरु भएपछि यहाँका महिलाहरुले खुशी ब्यक्त गरेका छन् । सो अस्पतालमा फागुन १ गतेबाट शुरुवात भएको अस्पतालका प्रशासन प्रमुख श्रेष्ठको भनाइ छ । उनका अनुसार, तालिम प्राप्त दक्ष चिकित्सकबाट दैनिक ११ बजेदेखि ४ बजे सम्म सेवाग्राहीको चेकजाँच गरिरहेको छ । कतिपय आमा, दिदिबहिनीहरुलाई यहि जिल्लामा नै पाठेघरको मुखको क्यान्सरको सेवा शुरुवात भएको छ भन्ने जानकारी नहुँदा सेवाग्राहीका संख्या त्यति बाक्लो नभएको अस्पतालको भनाइ छ ।
यो पाठेघरको मुखको क्यान्सरबाट ३० देखि ६० बर्षका महिलाहरु बढि जोखिममा हुने गर्दछ । विशेषः गरि यौनजन्य रोगबाट सर्ने र २० बर्ष भन्दा कम उमेरका किशोरीहरुले बच्चा जन्माउँदा पाठेघरको मुख क्यान्सर हुने संम्भावना प्रवल रहने गरेको चिकित्सकहरुको भनाइ छ ।
संखुवासभा अस्पतालले पछिल्लो समय धेरै वटा सेवाहरु थप गरेको छ । प्रदेश नं. १ मा नै उत्कृष्ट बनेको संखुवासभा अस्पताल उदाहरणीय काम गदै अघि बढिरहेको छ । विगतका तुलनामा जिल्ला अस्पतालको मुहार समेत फेरिदै गएको छ । अहिले २४ सैं घण्टा दक्ष चिकित्सकहरु अस्पतालमा रहने भएकाले संखुवासभा र भोजपुरका सर्वसाधारणहरुले सहज रुपमा सेवा पाइरहेका छन् ।
sankhuwasabhaexpress बाट