दार्चुला । महाकाली नगरपालिका—१ कलौन भिरमा पहिरो खस्दा दार्चुला तिंकर सडक अवरुद्ध भएको छ । आइतवार विहान सडक माथिबाट खसेको पहिरोले दार्चुला तिंकर सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
पहिरो खस्दा मानिसहरुको आवतजावत बन्द भएको प्रहरीले जनाएको छ । दुँहु गाउँपालिका र व्याँस गाउँपालिकाबाट दार्चुला सदरमुकाम खलंगासम्म आवतजावत गर्नेहरु समस्यामा परेका छन् ।
यसैबिच शनिबार महाकाली नगरपालिका—२ मैखोलीमा पहिरोले चार घर पुरिएका छन । बर्षासंगै शनिबार बिहान घर माथिबाट आएको पहिरोले आधा दर्जन बढी घर जोखिममा परेका छन् ।
पहिरोमा परी स्थानीयका झण्डै चार दर्जन पशुचौपाया मरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोले घरमा पूर्ण क्षती भएका र उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोले स्थानीय मनिराम भूल, ललितराम पार्की र परे भूलको संयुक्र घरमा पूर्ण क्षती हुदा गोठमा रहेका ८ गाई, २ गोरु, ३ बाख्रा मरेका छन् । ललित राम पार्कीको दुई तले घर बगाउदा उहाँका २ गाई, २ बाख्रा र ३ खरायो बेपत्ता भएका छन् । कालु सिंह भूलका २ गाई, २ गोरु, ३ बाख्रा र २ कुखुरा बेपत्ता भएका छन् ।
स्थानीयका आधा दर्जन घरहरु पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । मानमति पार्की, हरक सिंह साहू, पारस साहू, अमिरा पार्की, रुकुम राम पार्की र गगन पार्कीको घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । शेरेराम पार्कीका ५ गाई, २ बाख्रा र ४ खरायो, मनिराम भूलका २ गाई २ गोरु ५ बाख्रा र ४ कुखुरा, परे भूलको १ गाई ३ बाख्रा पनि पहिरोमा पुरीएको उहाँले बताउनुभयो ।
स्थानीयका केहि पशु चौपायाहरु भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । पहिरो पिडित स्थानीय ११ परिवारलाई दुर्गा लटिनाथ आबि मैखोलीको भवनमा सारीएको र बेपत्ता पशुचौपायाको उद्धार भइरहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । उनिहरुलाई खाद्यान्न र त्रिपाल लगायत सामाग्री सहयोग गरिएको वडाअध्यक्ष गौरसिह साहुले बताउनुभयो ।