संखुवासभा। प्रतिनिधि सभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको संखुवासभाको ‘क’बाट नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नविन) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका कार्कीले १३ हजार ४३३ मतसहित प्रदेशसभा सदस्यमा बाजी मारेका हुन् । जनमत पाएर उनले प्रदेशसभाको यात्रा तय गर्दा कार्कीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार ३९९ मत मात्रै ल्याए ।
३४ मतको अन्तरले विजयी बनेका कार्की सालिन, भद्र र इमान्दार छवि बनाएका राजनीतिज्ञ हुन् । निर्वाचनको परिणाम उनको पक्षमा पर्नुमा व्यक्तिगत स्वभाव र सत्ता गठबन्धनको साथले काम गरेको देखिन्छ ।
मतदानमा सहभागी भएर आफूलाई प्रदेशसभा सदस्यमा विजयी गराउने भूमिका खेल्नेहरुप्रति आभार व्यक्त गर्दै कार्कीले सबै मतदातालाई धन्यवादसमेत दिएका छन् । उनले आफ्नो विजय सिंगो संखुवासभाली जनताको जित भएको बताए । ‘जनाताको साथ पाउँदा राष्ट्र र जनताको स्वर्णिम भविष्य कोर्ने ओहोदामा पुगेका छौँ,’ उनले भने, ‘जनताको रगत, पसिना र बलिदानबाट सिँचित संविधानको रक्षार्थ अहोरात्र सक्रिय हुन्छौँ ।’
संखुवासभाली जनताको साझा जनप्रतिनिधिको रूपमा रहेर जिल्लाको समग्र विकासमा आफू केन्द्रित हुने प्रतिबद्धता कार्कीले जनाएका छन् । कतिपनि विचलित नभइकन सुशासन र समृद्धिका लागि सक्रिय रहने उनको प्रतिवद्धता छ ।
यो समाचार तयार पार्दासम्म संखुवासभाको प्रदेशसभातर्फ ‘ख’को भने मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार ‘ख’मा पनि सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी)की सरीता थापा खड्का अग्रस्थानमा छिन् ।
नेकपा (एमालेका) विदुर लिङ्थेपले सरीतालाई पछ्याइरहेका छन् । प्रतिनिधि सभातर्फ कांग्रेसका दीपक खड्का प्रतिस्पर्धी एमालेका राजेन्द्र गौतमभन्दा ४ हजार बढी मतले अगाडि छन् ।
को हुन् कार्की ?
प्रमाणपत्र तहसम्म अध्ययन गरेका कार्की २०३२ साल साउन १७ गते खाँदबारी नगरपालिका–७ राम्चेमा जन्मिएका हुन् । उनी २०४६ सालदेखि वाम राजनीतिमा झुकाव राखेर अघि बढे ।
अनेरास्ववियुको प्रारम्भिक कमिटीमा बसेर २०४७ सालदेखि राजनीति सुरु गरेका उनी अखिलको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म बने । भूमिगतकालदेखि नै अर्थात २०५४ सालदेखि उनी माओवादीमा आवद्ध भए । हालसम्म माओवादीका विभिन्न कमिटीमा रहेर काम गरेको अनुभव उनीसँग छ ।
कार्की पार्टीको विभिन्न कमिटीमा रहेर सामाजिक र राजनैतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएका नेता हुन् । माओवादी विद्रोहका क्रममा २०६१ सालमा भारतको पटनामा जेल परे ।
२ वर्ष जेल जीवन बिताएका कार्की हाल माओवादीका केन्द्रीय सदस्य एवं संखुवासभा इन्चार्ज छन् । उनकी पत्नी इन्दिरा मिश्र कार्की (चेतना) पनि माओवादी राजनीतिमै सक्रिय छिन् ।