संखुवासभा । वर्तमान सरकारका मुख्यमन्त्री राजेन्द्र राईले सहजकर्ताको भूमिका पुरा नगर्दा प्रदेश नम्बर १ को नामकरण हुन नसकेको पूर्वमुख्यमन्त्री शेरधन राईले आरोप लगाएका छन् ।
सोमबार संखुवासभाको सदरमुकाम खाँदबारीमा पे्रस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलन पूर्वमुख्यमन्त्री राईले अहिलेको सरकारको रवैयाका कारण नामकरण हुन नसकेको जिकिर गरे ।
मुख्यमन्त्री आफैंले जनता भिडाउन खोजेको भन्दै पूर्वमुख्यमन्त्री राईले प्रदेश सरकारले सहजिकरण गरे नेकपा एमाले छलफलका लागि तयार रहेको बताए । नामकरणका लागि एमाले एकढिक्का भएको भन्दै उनले प्रदेशको नामकरणका लागि नेपाली काँग्रेसले समेत खुट्टा कमाएको दावी गरे ।
नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका राईले एमाले नामकरणमा सहमतिका लागि कोशी, सगरमाथा, विजयपुर, सप्तकोशी, किरातलगायतका नाममा छलफल गर्न तयार रहेको बताए । तर, नामकरणमा सत्तारुढ दलहरु नै उदाशिन देखिएको उनको भनाइ छ ।
आगामी चुनावमा गठबन्धनसँग एमाले एक्लै चुनाव लड्ने भन्दै राईले गठबन्धनका दलहरुसँग एमाले एक्लै लड्न काफी रहेको ठोकुवा गरे । एमाले एक्लै चुनाव लड्न, जित्न र नेतृत्व गर्न पनि सक्षम रहेको उनको भनाइ छ ।
जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणका लागि संखुवासभा आइपुगेका राईले नेपालमा टु पार्टी सिस्टम शासन प्रणाली आवश्यक रहेकोमा जोड दिँदै धेरै पार्टी हुँदा अस्थिरता बढ्ने दावी गरे । नेपालमा जति धेरै पार्टी त्यति धेरै अस्थिरता उत्पन्न भएको उनको भनाइ छ ।