स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै दलका उम्मेदवारहरु जनताका घरदैलोसम्म पुग्न थालेका छन् । दलका आआफ्नै प्रतिज्ञा र घोषणापत्र लिएर चुनावी अभियानमा उम्मेदवार, दलका नेता र कार्यकताहरु मतदातासम्म मत माग्न व्यस्त छन् । संखुवासभालाई पछिल्लो अवस्थामा हेर्ने हो भने गठबन्धन दल र प्रतिदन्दीको रुपमा रहेको नेकपा एमालेबिचमै प्रतिस्पर्धा हुने देखिएको छ । यसबिचमा मादी नगरपालिकाको नगरप्रमुख पदमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका दावाछत्र शेर्पा र एमालेका जिवन लिङ्थेपको चुनावी अंक गणित हुन थालेको छ । गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धामा देखिएका छन् । उनीहरु विकासका एजेण्डा लिएर मतदातका घरदैलो पुगिरहेका छन् । यसक्रममा मादी नगरपालिकाको नगर प्रमुख पदका गठबन्धनका साझा उम्मेदवार दावाछत्र शेर्पासँग पत्रकार भविन कार्कीले चार प्रश्न सोधेका छन् ।
१. तपाईको उम्मेदवारी केका लागि ?
मादी नगरपालिकाको भष्टाचार अन्त्य गर्न, नगरबासी जनताको सुशासन कायम राख्न मेयर पदमा उम्मेदवारी दिएको छु । मादी नगरबासीको विकासका हिसावले समृद्ध बनाउन मेरो उम्मेदवारी हो । भ्रष्टचारको अखडा बनिरहेको मादी नगरपालिकालाई भ्रष्टचार मुक्त बनाउने मैले उम्मेदवारी दिएको छु । बेतिथी र सबैखाले भ्रष्टचार अन्त्य गर्न गठबन्धनको साझा उम्मेदवारी हो । नगरको आर्थिक, सामाजिक रुपान्तरण गर्दे युवाको रोजगारी ग्यारेन्टीका लागि मेरो उम्मेदवारी प्रस्तुत गरेको हो ।
२. तपाईको प्रतिवद्धता के के हुन् ?
मादी नगरपालिकाको विकास गर्न, जनताको काम छिटोछरितो गर्ने मेरो पहिलो प्रतिवद्धता छ । विकासका हिसावले तमाम स्वास्थ्य, शिक्षा, सडक पर्यटकीय क्षेत्र लगायत सबै क्षेत्रलाई उठाएर विकास गर्ने लक्ष्य छ । महिला तथा बालबालिकाको क्षेत्रमा नेतृत्व विकास, क्षमता विकास गरिने । नगरबासीलाई शुद्ध पिउने पानी ब्यवस्था गर्ने, अपुरा खानेपानी योजना आवश्यकताका आधारमा बजेट ब्यवस्था गरिने छ । नगरभित्र बोलिने भाषा हरेक मातृभाषाहरुको संरक्षण र संवर्धनका लागि नगरस्तरीय भाषा आयोग गठन गर्ने । गुरासँको राजधानी तिनजुरे एरियाका होटल, रेष्टुरेन्ट तथा होमस्टे ब्यवसायीलाई प्रोत्साहन गरिने छ ।
३. चुनाव जित्ने आधारहरु केके हुन् ?
हामी भ्रष्टचार विरोधी हो, भ्रष्टचारीलाई हराउनु पर्छ भनेपछि मादी नगरबासीले भोट दिनु हुन्छ । भ्रष्टचारी विरोधी भएपछि गठबन्धनलाई भोट दिन नगरबासी आतुर छन्, हामीले भोट पाउनेमा पूर्ण आशावादी छौं । भ्रष्टचार, अनियमितता अन्त्य गर्ने र गठबन्धनले माथि गरेको निर्णय अनुसार नै मादीमा गठबन्धनका दलहरु अघि बढेका छौं । केन्द्र देखि जिल्ला र स्थानीय स्तरसम्म भएका भ्रष्टचार, जनतालाई ढाँटछल गर्ने प्रवृति अन्त्य गर्न नगरबासी आतुर छन् । हाम्रो प्रतिवद्धता हेरेर मतदाता गठबन्धनको निर्वाचन परिणामको पर्खाइमा छन् । भ्रष्टाचार विरोधी गठबन्धन भएका कारण पनि चुनाव जित्ने आधार धेरै छ ।
४. चुनावी अभियान कसरी अघि बढीरहेको छ ?
चुनावी अभियान निर्वाचन आयोगले तोकेको मापदण्ड आचारसंहिता अनुसार शान्त ढंगले चलिरहेको छ । स्वच्छ वातावरणमा बैचारिक हिसावले मुद्दा घोषणा पत्र लिएर जनताका घरदैलोमा मत माग्न पुगिरहेका छौं । अहिलेको अभियानलाई मितव्ययी ढंगबाट चुनाव प्रचारप्रसार गरिरहेका छौं । चुनावी अभियानका क्रममा आजसम्म कुनैपनि दलसँग विवाद पनि भएको छैन । हाम्रो भनाई विकासका मुल एजेण्डालाई अघि बढाउनु पर्छ भन्ने हो । हामी स्पष्ट विचार, स्पस्ट विकासका कुरा लिएर मतदाताको घरदैलोसम्म पुगेका छौं । संयुक्त उम्मेदवार मिलेर सामूहिक रुपमा घरदैलो अभियान चलिरहेको छ ।