विराटनगर । केहि वर्ष अगाडिसम्म सुख्खा बढेपछि कृषि उत्पादनमा समेत कमी आउन थालेको सर्लाहीको बागमती नगरपालिका–१२ र ४ आसपासको क्षेत्र अहिले हराभरा बनेको छ । बुढीबागमती किनारमा रहेको सुनसान रहने सो क्षेत्रमा अहिले सिचाईंको प्रबन्ध मात्र नभएको भएको छैन, दैनिक हजारौं मान्छे पुग्न थालेका छन् । होटल र पसलहरु खुल्न थालेका छन् । सयौंले रोजगारी पाइरहेका छन् ।
बागमती नगरपालिकाको ४ र १२ को सीमा क्षेत्रमा पर्ने बागमती किनारको बगरको परिचर्य फेर्न काम नगरप्रमुख भरतकुमार थापाको अगुवाईमा भएको हो । नेकपा माओवादी केन्द्रबाट गत स्थानीय तहको निर्वाचनमा वाग्मतीमा निर्वाचित मेयर थापाले निर्वाचनलगत्तै सुरु गरेको कामले सफलता प्राप्त गर्दा उनको चर्चा चुलिएको छ ।
सुख्खा बगरलाई ताल बनाउने मेयरको योजना सार्वजनिक हुँदा धेरैले उनलाई खिसि गरेका थिए । ताल बनाउन नगरपालिकाले डोजर प्रयोग गरेर काम थाल्दा आलोचकहरुले ‘बालुवामा डुब्ने लगानी’ भन्थे । तर, मेयर थापा ताल निर्माण गरेर पर्यटक आकर्षित गर्ने तथा सुख्खा क्षेत्रलाई हराभरा बनाउने अडानमा आलोचनाले डग्मगाएनन् ।
मेयर भएपछि थापाले नगरभित्र रहेका र खेर गइरहेका जमिन प्रयोग गर्ने विषयमा अध्ययन गरेपछि ताल निर्माण गर्ने योजना बनाएका थिए । सुरूमा पोखरी बनाएर माछापालन गर्ने सोच राखेका उनलाई विज्ञहरुले बृहत योजनाबारे बताएपछि गुरुयोजना बनाएर काम अगाडि बढाए ।
थापालाई सिंगो नगर कार्यपालिकाको साथ थियो । १२ वडा रहेको बाग्मती नगरपालिकामा ९ वडा वडाध्यक्षसहित मेयर र उपमेयर माओवादी केन्द्रले जितेको थियो । जसले गर्दा योजना अनुसार काम गर्न उनलाई कुनै अबरोध भएन ।
कसैले वास्ता नगरेको र खेर गइरहेको बगरलाई प्रयोगमा ल्याउने मेयर थापाको महत्वकांक्षी योजना अहिले कार्यान्वयन भएको छ । तीन वर्षअघि सुख्खा बगर रहेको सो क्षेत्रमा आकर्षक र रमणीय तालम मात्र बनेको छैन, त्यहाँ दैनिक हजारौं पर्यटकहरु पुग्न थालेका छन् ।
बागमती किनारको सुख्खा बगरमा आकर्षक ताल निर्माण भएसँगै ताल हेर्न मानिसहरु पुग्न थाले । मानिसको चहलपहल बढेपछि चिया, खाजा खाने पसल र होटल खुल्न थाले । नगरप्रमुख मेयर थापाले निर्माण गरेको ताललाई स्थानीयले ‘भरत ताल’को रुपमा पहिचान दिए । नगरपालिकाले नाम नराखेको भएपनि अहिले सो तालले भरत तालको पहिचान स्थापित गरिसकेको छ ।
बाग्मती बगरको १२१ विघा क्षेत्रफलमा फैलिएको ‘भरत ताल’ अहिले जिल्लाकै पर्यटकीय क्षेत्रको रुपमा स्थापित छ । तालमा बोटिङ सुरु भएपछि दैनिक २ हजारा हाराहारी पर्यटकहरु पुग्ने गरेको स्थानीय बताउँछन् । ताल किनारमा तस्बिर खिच्ने र टिकटक बनाउने युवायुवतीको घुइँचो लाग्ने गरेको छ ।भरत तालमा दुई दर्जनभन्दा धेरै डुंगा (मिनी क्रुज) सञ्चालनमा छन् । तालमा एउटा १३५ सिटे पानीजहाज पनि सञ्चालनमा छ । आगन्तुकबाट नगरपालिकाले दैनिक लाखौं रुपैयाँ राजश्व पनि संकलन गर्न थालेको छ । २० प्रतिशत कर लिएर नगरपालिकाले व्यवसायीलाई तालमा डुंगा सञ्चालन गर्न दिएको मेयर थापाले बताए ।
ताल आसपासका क्षेत्रमा होटल र पिकनिक स्पट निार्मण हुँदैछ । ताल वरपर खुलेका दर्जनौं होटल र घुम्ती पसलमा सयौंले रोजगारी पाएका छन् । अझै ताल क्षेत्र व्यवस्थित भइनसकेको बताउने मेयर थापाले गुरुयोजना अनुसारको काम सम्पन्न भएपछि करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाउने बताए । ताल निर्माणमा अहिलेसम्म करिब ४० करोड रुपैयाँ खर्च भइसकेको र ६० करोडको गुरुयोजना रहेको नगरपालिकाले जनाएको छ । ताल निर्माणमा नगरपालिकालाई संघीय सरकार र मधेस प्रदेश सरकारले पनि साथ दिएका छन् ।
‘तालको सौन्दर्यकरणको काम बाँकी नै रहेको’ मेयर थापाले भने, ‘सबै काम सम्पन्न भएपछि यो नमुना काम बन्ने र पर्यटकको आवागमन अझै बढ्ने विश्वास छ ।’ उनले ताल नगरको दिगो आर्थिक स्रोतको रुपमा रहनेछ बताए ।
नगरपालिकाका अनुसार करिब ३० फिटसम्म गहिरो तालमा बागमती नदीबाट निरन्तर पानी प्रवाह भइरहेको छ । तालको वरपर चार मिटर चौडा र पाँच मिटर उचाइको पर्खाल निर्माण गरिएको छ । तालको बीच क्षेत्रमा शिव र बुद्धको मन्दिर निर्माण गर्ने योजना नगरपालिकाको छ । ताल वरपर फलामे रेलिङ निर्माण हुँदैछ भने हिँड्नको लागि आकर्षक फुटपाथ बनाइएको छ ।
तालमा पानी भरिएपछि वरपरका बस्तीका इनार र चापा कलहरुमा सुकेका मूलहरु फुट्न थालेको स्थानीयले बताएका छन् । तालकै कारण वरपरको जमिनको उर्बराशक्ति बढ्न थालेको मेयर थापाले बताए । चुरेको काखमा रहेको तालले चराचुरुङ्गी, वन्यजस्तुदेखि लिएर वातावरणमा पनि सकारात्मक प्रभाव पर्दै गएको उनको भनाइ छ । ताल भरिएपछि निकास भएको पानी सिँचाइमा प्रयोग भएको छ ।
तालमा बोटिङ मात्रै होइन, माछापालनसमेत थालिएको छ । अहिले पनि लाखौँ माछाका भुराहरु हुर्किरहेको नगरपालिकाले जनाएको छ । ताल नजिकै पिकनिक स्पटका लागि ९० विघाको बगैँचा तयार भइरहेको छ । बगैँचामा फलफूलका बोटविरुवा हुर्किरहेका छन् ।
बागमती नदी सर्लाही र रौतहटको सीमा भएर बग्छ । सर्लाहीतर्फ बागमती नदीको पुलबाट छेउको ड्याम हुँदै दुई किलोमिटर यात्रापछि भरत ताल पुग्न सकिन्छ । बागमती नगरपालिकाले ताल निर्माणको कामलाई आफ्नो गौरवको आयोजना मानेको छ ।
स्थानीय तहहरुले भ्यूटावर र गेटलाई प्राथमिकता दिएको र सबैतिर त्यहि काम भएको भन्दै आलोचना भइरहेको बेला बाग्मती नगरपालिका मेयर थापाले फरक बाटो रोजेका थिए । जसमा उनले सफलतामा मात्र प्राप्त गरेका छैनन्, उदाहरणीय बनेका छन् ।
hamromat बाट