काठमाडौं : शरीरको मुटुको अवस्था पत्ता लगाउने प्रविधि बनाउँदै आएकी लचना हाडाले माटोको गुणस्तर नाप्ने प्रविधिको बिकास गरेकी छन्। जर्मनको टेक्निकल युनिभर्सिटी अफ म्युनिकबाट सन् २०१४ मा स्नातकोत्तर गरेकी हाडाले जर्मनमा मुटु सर्जरीको सफ्टवेयर बनाउदै आएकी थिइन्। अहिले नेपालमा माटोको गुणस्तर नाप्ने प्रविधि आविष्कार गरेकी हुन्।माटो परीक्षण गर्ने कृत्रिम बौद्धिकता (आर्टिफिसियल इण्टेलिजेन्स) डिभाइस अर्थात हार्डवेयर प्रविधिलाई ‘साथी’को नाम दिइएको छ। यसअघि मुटु सर्जरीका लागि सिटी स्क्यानको इमेज हेर्ने सफ्टवेयर बनाएकी हाडा भन्छिन्, ‘रोग पत्ता लगाउँदा पनि पातको इमेज हेर्ने हो। यो कुरा प्रविधिसँग मेल खान्छ। यसैले माटो परीक्षण गर्ने प्रविधि बनाउन सम्भव भयो।’
किसानले प्रविधिको अभावमा माटो, बिरुवाको अवस्थाबारे केही पनि थाहा नपाउने समस्याबाट गुज्रिएका थिए । प्रविधिको सहायताले माटोमा नपुगेको तत्वबारे जानकार हुन सक्ने र सोही अनुसारको मल लगायतका तत्वको प्रयोग गर्न सकिन्छ। नेपालबाट एसएलसी सकाएर बेलायतमा प्लस टु पास गरेपछि जर्मनमा सन् २००६ मा ईलेक्ट्रीक इन्जिनियरीङ र कम्प्यूटर साइन्सबाट स्नातक गरिन्। यसपछि कम्प्यूटर साइन्समा स्नातकोत्तर गरेर जर्मनीमै काम गर्दै आएकी हाडाले नेपालका लागि पनि केही गर्ने सोच बनाएकी छन्। ‘मेरो र संस्थाको सोच मिलेकाले नेपालमा यो प्रविधि बनाउन सफल भएको छु’ उनले भनिन्।
ईम्पयाक्टर्स, महिला विकास समाजको संयोजक समेत रहेकी हाडाका अनुसार केही वर्षअघि महिला विकास समाज (वडेस)बाट फर्पिङमा अर्गानिक फार्मिङको कार्यक्रम गरिएको थियो। खेतीका लागि आवश्यक माटोको परिक्षण गर्ने प्रविधि तयार पारिएको उनले जनाइन्। प्रोजेक्ट साथीकी प्रमुख रहेकी हाडा सबै विदेश गएर पलायन भइदिए नेपाल जहाँको तहिं रहने बताउँछिन्। ‘यसैले जर्मनबाट केही समयका लागि आएर नेपालमा कृषि, हार्डवेयर र सफ्टवेयरमा अध्ययन गरेका अरु १६ जना साथीहरूको साथबाट प्रविधि बनाइएको बताइन्। ‘सबै छोडेर नेपाल आएर मात्रै गर्छु भन्ने वातावरण छैन,’ उनले भनिन्, ‘नेपालमा स्रोत छैन।
यो प्रविधि तयार गर्न आवश्यक हार्डवेयर पनि जर्मनबाटै ल्याउन धेरै गाह्रो भएको थियो। नेपालमा यस्ता सामान पाइदैन। यसैले प्रविधिको पहुँचमा जर्मन र सम्भाव्यताको आधारमा नेपाल ठिक छ।’
अब सूचना प्रविधिमार्फत् उत्पादनमा सहज
नेपालका किसानलाई खेतीपाती गर्दा मल, माटोमा आवश्यक तत्व घटबड भएर उत्पादनमा कमी आउने धेरै समस्या भोग्नु परेको छ। अब यस्ता खालका समस्यालाई कृत्रिम वौद्धिकता आर्टिफिसियल इण्टेलिजेन्स (एआई) को प्रयोगबाट पहिचान गरी समाधान गर्न सहयोग पुग्छ। महिला विकास समाज विमेन डेभेलपमेण्ट सोसाइटी (वोडेस) अन्तर्गत सक्रिय महिला प्राविधिज्ञको समूह ‘इम्प्याक्टर्स’ले सूचना प्रविधिविज्ञ लचना हाडाको सुपरीवेक्षणमा उक्त डिभाइस तयार गरेको हो। परम्परागत प्रविधिलाई पछ्याउने अभ्यासका साथै जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभावका कारण उत्पादन खस्कँदै गएको उनको भनाइ छ। कृषि व्यवसायलाई पुनरुत्थान गर्नमा तथा सामान्य किसानलाई पनि सूचना प्रविधिको लाभ उपलब्ध गराउनमा एआईको यो नवीनतम प्रयोग उपयोगी हुने उनको भनाइ छ।
प्रविधिले यसरी थाहा पाउँछ माटोको गुणस्तर
डिभाइसको टुप्पोलाई माटोमा राखेको १ मिनेटमै यसले गुणस्तर छुट्याउँछ। कम्प्यूटर विज्ञान, विशेषगरी मसिन लर्निङ र एआई, इलेक्ट्रिकल इञ्जिनियरिङ र कृषि विज्ञानको सहायताबाट निर्माण गरिएको ‘साथी’ डिभाइसले नेपाली किसानलाई आफ्नो खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने तथा परीक्षणको नतिजा पाउन लामो समय कुर्नुपर्ने बाध्यता अन्त्य गर्ने छ। यसले स्थलगतरूपमै तत्कालै त्यससम्बन्धी जानकारी प्रदान गर्छ। डिभाइसको प्रयोगबाट खेतको माटोको गुणस्तर पहिचान गर्न सकिने भएकाले कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने छनोट गर्न किसानलाई सक्षम बनाउँछ। यसले बालीनालीको स्वास्थ्य सुपरीवेक्षण गर्न पनि सहयोग गर्ने हुँदा समयमै उपयुक्त उपचारका लागि पहल गर्न पनि सजग गराउँदछ