सामाजिक दृष्टिले, यो एकता र भाइचाराको पर्व हो । सांस्कृतिक कोणबाट हेरौं वा वैज्ञानिक, उत्तिकै अर्थपूर्ण छ, फागु (हाेली) । निराशा र उदासीनता त्यागेर जीवनलाई उल्लासमय बनाउने माध्यम पनि हो यो ।
‘असत्यमाथि सत्यको जीत हुन्छ’ भन्ने पौराणिक सन्देश बोकेको छ होलीले । विष्णुभक्त प्रह्लादलाई आफ्नै पिता हिरण्यकश्यपले मार्ने योजना बनाउँछन् । यसका लागि आगोमा नजल्ने होलिकालाई प्रयोग गरिन्छ । अतः प्रह्लादलाई काखमा रखोर होलिका अग्निकुण्डमा होमिन्छन् । तर, अग्नीले होलिकालाई भष्म गर्छ प्रह्लाद जीवित रहन्छ ।
पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका बिजय गरेसँगै होलीको परम्परा सुरु भएको मानिन्छ । खासगरी नेवार समुदायले बसन्तपुर दरबार अगाडि रंगबिरंगी कपडा झुन्ड्याएर बनाइएको तीन छत्रे चीर गाडेपछि विधिवत् होली प्रारम्भ भएको मानिन्छ । फागुन शुक्ल अष्टमीमा गाडिने तीर पूणिर्माको रात ढालेर टुँडीखेलमा पोलिएपछि होली समाप्त हुन्छ ।
भक्तपुरमा जगतप्रकाश मल्लको समयमा वनेको दत्तात्रय मन्दिरसंगै रहेको भैरब मन्दिरमा लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ । यसलाई भीमसेनको लिंग र कपडाबाट बनेको प्वाललाई द्रौपतीको योनीका रुपमा चित्रण गरिन्छ ।
कसरी खेल्ने होली ?
एकअर्कामा अबीर दलेर होली खेलिन्छ । यसका लागि गुणस्तरीय अबीर प्रयोग गर्नुपर्छ । सकेसम्म प्राकृतिक रंगहरु बनाएर होली खेल्नु बढी अर्थपूर्ण हुन्छ । घरेलु बिधीबाट रंगहरु तयार गर्न सकिन्छ ।
होली आपसी सद्भावको पर्व हो । त्यसैले कसैलाई जबरजस्ती पानी छ्यापेर, लोला हानेर होली मनाउनु आफैमा मूर्खतापूर्ण हो । होली मैत्रीपूर्ण हुनुपर्छ । आफन्त, साथीभाइलाई निमन्त्रणा गरेर होली खेल्न सकिन्छ । यसका लागि पूर्व तयारी गर्नैपर्छ । खासगरी खुला स्थानमा होली खेल्नु उपयुक्त हुन्छ । खेल्ने स्थानमा चोटपटक लाग्ने कुनै बस्तु छ/छैन हेर्नुपर्छ ।