संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ६ जनाको सामूहिक हत्या गरेर बडिबा हजुरबुवाको परिवारमा नरसंहार मच्चाएका जब्बर अभियुक्त हुन् २५ वर्षीय लोकबहादुर कार्की। सुरुका दिनमा घटनामा आफ्नो संलग्नताको कुनै छनक नै उनले दिएनन्।
परिवारभित्रकै मान्छे भएकाले प्रहरीले पनि त्यसतर्फ ध्यान दिएन। प्रहरीको आशंका उनीतिर नजानुका धेरै कारण थिए। घटनाको अनुसन्धानमा खटिएका प्रहरीलाई घटनास्थल पुगेदेखि नै सहयोगीका रूपमा प्रस्तुत भएर छाड्दै छाडेनन्। विश्वास जित्न सकेकै कारण प्रहरीले पनि घटना अनुसन्धानमा सहयोगीका रूपमा लोकबहादुरको साथ लिइरह्यो। उनी भने प्रहरीको अनुसन्धानलाई हेरेर आफ्नो धारणा बनाउँथे र सामूहिक हत्यामा आफ्नो संलग्नता नभएको व्यवहार प्रस्तुत गरिरहन्थे। उनी गाउँमा यति ठूलो नरसंहार भएकाले असुरक्षा बढ्यो भन्दै दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउँदै सुरक्षा र न्याय दिनुपर्यो माग गरिरहन्थे।
अझ आफन्त गुमाउँदाको पीडाले विक्षिप्त भएको नाटक गर्थे। घटनाको अनुसन्धानमा खटिएका प्रहरीलाई खाना बनाएर खुवाइरहे। पानी ल्याइदिन्थे। प्रहरीलाई हत्याराको खोजीमा सहयोग गरिरहन्थे। जसका कारण भदौ २१ गते सोमबार बिहान ६ जनाको सामूहिक हत्या गरिएको घटनाका हत्यारा पक्राउ गर्न प्रहरीलाई निक्कै सकस पर्यो।
घटनाको जानकारी पाएको २ घण्टामा मादी नगरपालिका–१ मंगलबारे प्रहरी चौकीको टोली घटनास्थलमा पुग्यो। बिहान ६ बजेदेखि ६:३० बजेको बीचमा घटना भएपनि स्थानीयले करिब ९ बजेतिर मात्र थाहा पाए। प्रहरीले जानकारी पाउँदा लगभग ९:३० बजिसकेको थियो। इलाका प्रहरी कार्यालय चैनपुरको टोली दिउँसो ३ र जिल्ला प्रहरी कार्यालयको टोली साँझ ५ बजेतिर घटनास्थलमा पुगेको संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए।
संघीय इकाई प्रहरी कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको टोली दुईवटा कुकुरसहित राति घटनास्थल पुग्यो। भौगोलिक विकटता र अवरुद्ध सडकको समस्या छिचोल्दै वेरमात्रै घटनास्थलमा पुग्न सकेको टोलीले भोलिपल्ट बिहानबाट घटनाको विश्लेषण गर्दै अनुसन्धान सुरु गर्यो। टोलीले प्रारम्भिक अनुसन्धान थाल्दै हत्यारा पत्ता लगाउन कुकुर परिचालन गर्यो। अभियुक्त लोकबहादुर घटनास्थलमै भएपनि कुकुरबाट कुनै संकेत मिलेन। घटनास्थल लास जाँच मचुल्का, भौतिक सवुत प्रमाण संकलन, खानतलासी गर्दै स्थानीयसँग सोधपुछसमेत गरेर बयान लिइएको डीएसपी सुवेदीको भनाइ छ।
घटनाको भोलिपल्ट अर्थात मंगलबार दिउँसो १ बजे मात्र शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो। तर हत्यारा पत्ता नलागेसम्म शव उठाउन नदिने भन्दै स्थानीयले अवरोध गरे। मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपको आग्रहपछि शव पोस्टमार्टमका लागि लैजान दिनलाई स्थानीय राजी भए।
लुटपाटका लागि हत्या गरिएको प्रहरी आशंका थियो। तर मृतकको घरमा ८ लाख ८९ हजार नगद, सुनचाँदीका गरगहना सुरक्षित रहेको र मृतकले लगाएका गहना पनि साथैमा रहेपछि आशंका मेल खाएन। मृतक परिवारले झापामा जग्गा किन्नलाई बैना गरिसकेको थाहा पाएपछि प्रहरीले घरमा राखिएको नगद लुटपाटका लागि घटना गराइएको हुनसक्ने आशंका गरेको थियो।
हत्याको तेस्रो दिनसम्म प्रहरी घटनानजिक पुग्न सकेन। बुधबार साँझ प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी आफैँ घटनास्थल आइपुगे। घटनास्थलको प्रकृति अध्ययन गर्दै उनी पनि अनुसन्धानमा खटिए र प्रहरी टोलीलाई हौसला प्रदान गरे। बीसी भन्छन्, ‘दर्दनाक घटनाको मुख्य कारण लुटपाट, यौन हिंसा, रिसिईबी, अंशवण्डा, धनसम्पत्ति हुनसक्ने आशंकामा ४/५ विधाबाट अनुसन्धान अघि बढायौँ। ’ अधिकांश अनुसन्धान आशंकामा मेल नखाएको उनले बताए।
त्यसपछि अनुसन्धानको दायरा खुम्च्याउँदै लगेर आफन्त केन्द्रित गरिएको उनको भनाइ छ। ‘घटनामा कुनै धारिलो वा अन्य हतियार प्रयोग भएको देखिएन। जसका कारण लुटपाटको आशंका कमजोर बन्यो,’ बीसी भन्छन्, ‘लुटपाट वा अन्य कुनै योजना बनाइएको घटनामा प्राय हतियार प्रयोग हुन्छ नै। गरगहना र धनसम्पत्ति जस्ताको तस्तै भेटिएपछि लुटपाटको योजनाले हत्या नभएको निस्कर्ष निकालियो। ’
घटनाका बारेमा जानकारी दिँदै प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी। तस्बिर : अनिष विष्ट
दाजुभाइको अंशवण्डाको विवादमा पनि कुनै प्रमाण फेला परेन। बाहिरका व्यक्ति गाउँमा प्रवेश गरेको रेकर्ड पाइएन। बीसी भन्छन्, ‘भौगोलिक विकटताका कारण गाउँमा पुगेर बाहिरका मान्छेले घटना गराउनसक्ने अवस्था देखिएन। विभिन्न कोणबाट भएको अनुसन्धान निस्कर्षविहीन बन्दा हत्यारासम्म पुग्न निक्कै कठिन भयो। ’ त्यसपछि मानिसको मनैभित्रदेखि आएको घृणाको भावले घटना भएको अनुमान लगाएर प्रहरी अनुसन्धान छरछिमेकी केन्द्रित भयो। त्यसपछि गाउँमा मानसिक आस्था ठिक नभएका वा निद्रा लगाउने औषधि सेवन गर्ने बिरामीको खोजीमा प्रहरी जुटेको बीसीले बताए।
कसरी दोषी पक्राउ गर्न सफल भए प्रहरी ?
आफ्नै घरनजिक घटना हुँदा मृतकले चिच्याएको सुनेको हुनसक्ने आशंकामा प्रहरीले लोकबहादुर र उनको परिवारलाई निगरानीमा बढायो। तर उनको संलग्नता विश्वास गर्ने कुनै आधार फेला पारेन। मृतकमध्ये तेजबहादुर कार्की उनका बडिबुवा हुन्। तेजबहादुरको शव आफैँले पहिले देखेको लोकबहादुरले बताएका थिए। ‘जुन ठाउँबाट बडिबुवा तेजबहादुरको शव देखेको भनेर प्रहरी र स्थानीयलाई उनले भनेका थिए, त्यहाँबाट शव नै देखिँदैन थियो,’ डीआईजी बीसी भन्छन्, ‘शव नै नदेखिने ठाउँबाट तेजबहादुरलाई मृत्यु भएको अवस्थामा देखेको बताएपछि मात्रै पूरै शंकाको घेरामा उनी परेका हुन्। ’ तर घटना सुरुमा देखेर अरुलाई जानकारी दिएको र अनुसन्धानमा पनि सहयोगीको भूमिका निर्वाह गरेकाले प्रहरीलाई लोकबहादुरको संलग्नता सुरुमा प्रत्याउनै गाह्रो भयो। विभिन्न पाटोका अनुसन्धानले निष्कर्ष ननिस्किएपछि लोकबहादुरका हरेक गतिविधि प्रहरीले नियाल्न थालेको बीसीको भनाइ छ। त्यसपछि लोकबहादुर र मृतकको परिवारबीचको सम्बन्ध प्रहरीले खोज्न थाल्यो।
घटनास्थलमा जम्मा भएको भीडका कारण बयान लिँदा स्थानीय सशंकित हुने एवं अनुसन्धान असहज बन्ने देखेर प्रहरीले दिउँसो हत्याराको खोजी गर्ने र अनुसन्धानको पाटोलाई राति अघि बढाउने निर्णय लियो। जतिबेलै प्रहरीसँगै हुने भएपछि लोकबहादुरमाथि निगरानी गर्न प्रहरीलाई गाह्रो थिएन। ‘लोकबहादुरले हत्याराको खोजी र अनुसन्धानमा सहयोग गरिहन्थे,’ उनले भने, ‘गाउँमा खटिएको ५० जना प्रहरीलाई खाना बनाएर खुवाउन र पानी ओसार्न उनकै साथ थियो। ’ त्यहाँमाथि लोकबहादुरको हाउभाउ, व्यवहार, शारीरिक अवस्था र घटनाप्रति व्यक्त गरिरहने चिन्ताले प्रहरी नै अलमलमा परेको उनको भनाइ छ।
घटना सबैभन्दा पहिले देखेको बताउने अभियुक्त लोकबहादुर र उनका बुवा सबैको सूचनाका स्रोत थिए। उनीहरुले भनेका कुरालाई समेत प्रहरीले अनुसन्धानको विषय बनाएको डीआईजी बीसीको भनाइ छ। ‘पछिल्ला दिनमा घटनालाई लिएर लोकबहादुरले भनेका कुरा बाझिन थाले। अनुसन्धानका क्रममा फरक-फरक बयान दिए,’ उनले भने, ‘घरमा गएर छापा मार्दा घटनामा लगाएको टीसर्ट र हाफपाइन्टमा रगतको टाटा लागेको फेला पर्यो। त्यसपछि लोकबहादुरलाई लक्षित गरेर घटनाको अनुसन्धान अघि बढाइयो। ’
बीसीका अनुसार घटनाको चौथो र पाँचौं रात प्रहरीले उनलाई सँगै राखेर बयान लिएको थियो। शनिबार बिहानका राति २ बजेतिर मात्रै उनले घटना स्वीकार गरेको बीसी बताउँछन्। अभियुक्तको घरबाट मृतकको घर करिब डेढ सय मिटर टाढा छ। तेजबहादुरको हत्या गरिएको स्थल भने २० मिटर मात्रै। घटनामा प्रयोग गरिएको चिर्पट दाउरा गाईलाई खोले पकाउने अँगेनोमा हालेर डढाइसकेको पाइएको प्रहरीले जनाएको छ। बीसीका अनुसार प्रमाण नष्ट गर्न हत्या गर्दा लगाएको लुगा धोएर सुकाएका थिए।
सुरुको अनुसन्धानमा प्रहरी र स्थानीयले आशंकासमेत नगरेपछि लोकबहादुर सामान्य व्यक्ति सरह घरमै बसेका थिए। चिर्पट दाउरा डढाइसकेको र कपडा पनि धोइसकेकाले ढुक्कले घरमै बस्ने निर्णय लिएको एवं उल्टै अनुसन्धानमा सहयोगी बनेर प्रहरीको विश्वास जित्ने प्रयास गरेको डीआईजी बीसीको भनाइ छ।
लोकबहादुरले आफ्ना बुवा र कान्छो भाइसँग बेलाबेला घरमा झगडा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्यो। बीसी भन्छन्, ‘कार्की बेलाबेला आक्रोसित हुने र नजिकमा रहेकाहरुलाई जे पायो त्यसैले आक्रमण गर्न खोज्ने गरेको पाइयो। खासै राति नसुत्ने र एक्लै हिँड्ने स्वभाव पनि रहेछ। मानसिक समस्यामा रहेका उनी निद्रा लगाउने औषधि पनि सेवन गर्दा रहेछन्। ’
८ कक्षासम्म पढेका लोकबहादुर बीचमै पढाइ छाडेर तीन पटकसम्म विदेश पुगेर आएको खुलेको छ। वि.सं. २०७१ र २०७३ मा मलेसिया र २०७६ सालमा कतार गएको पाइएको बीसी बताउँछन्। ‘तीनै पटक विदेश जाँदाको ऋण तिर्नसमेत नसकिकन घर फर्किएका रहेछन्,’ उनी भन्छन्, ‘कतारमा त बिरामी पनि परेछन्। ’ नेपाल आएर मानसिक समस्याको उपचार गराउँदै औषधिसमेत सेवन गरिरहेको उनले बताए।
घरमा त्यति काम गर्ने र बिहानभर सुत्ने गरेको पाइएको छ। डीआईजी बीसीका अनुसार विदेश जाँदाको ऋण, आमाको उपचार र मृत्युपछिको किरियामा लागेको खर्च २५ रोपनी जग्गा बेचेर तिर्नु परेको पीडा बोकेर बसेका उनलाई बडिबुवाले सल्लाह, सुझाव र अर्ति दिँदा गरेको गाली तितो लाग्न थालेको थियो। आमाको निधन गत चैत २६ गते भएको थियो। करिब ५ महिनाअघि आमा तेजबहादुरकै घरमा लडेर घाइते भएकी थिइन्।
‘आमाको मृत्युको कारण पनि तेजबहादुरकै परिवार रहेको उनको बुझाइ रहेछ,’ बीसीले भने, ‘बुवा पनि कान कम सुन्ने, बोली लटपटिने र तुलनात्मक रूपमा आर्थिक अवस्थासमेत कमजोर रहेकाले हजुरबुवाले मर्नुअघि रेखदेखका लागि तेजबहादुरलाई भनेका रहेछन्। ’ त्यसपछि अभिभावकका रूपमा तेजबहादुरले भाइ रणबहादुरको परिवारलाई सम्झाउँदै लोकबहादुरलाई तँ काम नगर्ने अल्छि, पागल भनेर हप्काउने गरेको पाइएको उनको भनाइ छ। त्यो कुराले नकरात्मक छाप परेपछि मनमा कुण्ठा पालेर बसेका लोकबहादुरले पारिवारिक नाताभित्रै दर्दनाक एवं बीभत्स घटना गराएको उनले बताए। आमाको मृत्युपछि घरमा लोकबहादुरसहित बुवा र भाइ थिए।
‘मलाई लोकेले मार्यो, बचाउ’भन्दै चिच्याए
एकाबिहानै लोकबहादुरको घरमा धान गोड्ने खेताला यकिन गर्न तेजबहादुर गएका रहेछन्। रातभर नसुतेर अनिदो एवं विक्षिप्त अवस्थामा रहेका लोकबहादुरले फर्कने क्रममा पछाडिबाट चिर्पटले हानेर शारीरिक रूपमा बलिया रहेका तेजबहादुरको हत्या गरेको बीसी बताउँछन्। उनका अनुसार बडिबुवाले पटक-पटक पागल र काम गर्न नसक्ने भनेको रिसको झोंकमा हत्या गरेको पाइएको छ।
तेजबहादुरको हत्या भएको स्थान लोकबहादुरकोबाट लगभग २० मिटरको दूरीमा रहेको प्रहरी बताउँछन्। चिर्पट प्रहार भएपछि घाइते बनेका तेजबहादुरले ‘मलाई लोकेले मार्यो, बचाउ’भन्दै चिच्याएको पाइएको छ।
प्रहरीका अनुसार त्यसपछि तेजबहादुरकी पत्नी र बुहारी चिच्याउँदै घटनास्थलमा पुगे। बडिबुवाको हत्या गरिसकेका तेजबहादुरले त्यसपछि बडिआमा कमलालाई चिर्पट प्रहार गरे। घटना देख्नसाथ बेहोस भएर ढलेपछि भाउजू रञ्जनामाथि पनि आक्रमण गरेको जानकारी बीसीले दिए। त्यसपछि बाटोको डिलबाट बालबालिका दीपेन र गोमाले हेरिरहेको देखेकाले उनीहरुलाई समेत लखेटीलखेटी मारेको खुलेको उनको भनाइ छ। घरको पछाडि खोले पकाउँदै गरेकी बडिआमा हजुरआमा पार्वता कार्कीको टाउको पटक–पटक भित्तामा ठोक्काएर हत्या गरेपछि लोकबहादुर घरतर्फ फर्किएको पाइएको छ।
‘सुरुमा बडिबुवा तेजबहादुरको मात्रै हत्या गर्ने योजना रहेछ। तर घटनालाई प्रत्यक्ष देखेकाले प्रमाण लुकाउन अरुको पनि हत्या गरेको पाइयो,’ डीआईजी बीसी भन्छन् ,‘घटना देख्नेजति सबैलाई मारेको बयान लोकबहादुरले दिएका छन्। बडिबुवा हजुरबुवा बौदमान कार्कीलाई भने नदेखेकाले नमारेको बताएका छन्। ’ उनका अनुसार लोकबहादुरले दिएको बयानका आधारमा घटना देख्ने अरु थिए भने उनीहरु पनि बाँकी रहँदैन थिए।
लोकबहादुरले बडिआमा हजुरआमा ८४ वर्षीया पार्वता, बडिबुवा ५८ वर्षीय तेजबहादुर, बडिआमा ५२ वर्षीया कमला, भाउजू ३२ वर्षीया रञ्जना, भतिज ११ वर्षीय दीपने र भतिजी ७ वर्षीया गोमा कार्कीको हत्या गरेको प्रहरीले जनाएको छ।
अन्नपुर्ण पोष्टबाट