संखुवासभा । घटनाको अघिल्लो रातभर कार्की नसुति विक्षिप्त मानसिक अवस्थामा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। मृतक तेजबहादुर कार्कीप्रति प्रतिशोध साँध्नकै निम्ति उनले सो घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको हो।
कार्कीका बुवाको आर्थिक अवस्था कमजोर रहेकाले मर्नेबेलामा तेजबहादुरलाई रेखदेख गरिदिन भनेका थिए। त्यसैले तेजबहादुर घरमा बेला बेलामा जाने गर्थे। त्यही क्रममा सम्झाउने, काम अराउने मात्रै नभइ हप्काउने समेत गर्थे। यो कुरा कार्कीलाई मन पर्दैनथ्यो। उनले यो कुरालाई गम्भीररुपमा लिँदै आएको प्रहरीसमक्ष बताएका छन्।
कार्की बेलाबेलामा आक्रोशित हुने, नजिकमा रहेकाहरुलाई जे पायो त्यहीले आक्रमण गर्न खोज्ने,राति नसुत्ने र एक्लै हिँड्ने र घरका सदस्यसँग झैंझगडा गर्ने स्वभावको रहेको प्रहरी अनुसन्धानले देखाएको छ।
उनी पटकपटक विदेश गएका थिए। विदेश जाँदा लिएको ऋण, आमाको उपचार र किरिया खर्चको जोहो गर्न नसक्दा जग्गा समेत बेचेका थिए। जुन कुराले उनलाई हिनताबोध गराइरहेको हुन्थ्यो। यी विभिन्न कारणले उनी यति ठूलो अपराधिक घटना घटाउन पुगे।
प्रहरीलाई दिएको बयान अनुसार सबैभन्दा पहिले उनले तेजबहादुरलाई नै चिरपटले हानेका थिए। पछाडिबाट टाउकोमा पटक-पटक प्रहार गर्दा तेज बहादुर अनियन्त्रित भइ भिरालो जमिनबाट लडेका थिए। 'लोकेले मलाई मार्यो' भन्दै उठ्न खोज्दा पुन: टाउकोमा प्रहार गरी घोप्टो पारि लडाएका थिए। हारगुहार गरेको आवाज सुनेपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रन्जना समेत घटनातर्फ आए। उनीहरुमाथि पनि लगातार चिरपट प्रहार गरे। त्यसपछि घर नजिकै बाटोको डिलमा आएका २ जना नाबालक दिपेन र गोमालाई पनि लखेटी लखेटी हत्या गरे । घरको पछाडि खोले पकाउँदै गरेकी पार्वता कार्कीको टाउको पटक-पटक भित्तामा ठोक्याइ हत्या गरी घर फर्केका थिए। सबैको हत्यापछि घर फर्किएका लोकबहादुरले घटनामा प्रयोग गरेको चिर्पट अगेनामा हाली नष्ट गरे।
घटनास्थलमा शवहरु ४ वटा फरक फरक स्थानमा भेटिएका थिए। सबैभन्दा पहिले शारीरिक रुपमा बलिया तेजबहादुरलाई पछाडिबाट आक्रमण गरी हत्या गरेका थिए। त्यसपछि महिलाहरु, नाबालकहरु र वृद्धमाथि एउटै चिर्पटले हानेर हत्या गरेको पाइएको प्रहरी अनुसन्धानले देखाउँछ।
मादी नगरपालिका–१ उमलिङमा गत सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको थियो । हत्यामा संलग्न आरोपमा प्रहरीले शनिबार बिहान अभियुक्त कार्कीलाई पक्राउ गरेको थियो । अभियुक्त कार्कीले ६ जनालाई आफूले नै हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।
मादी–१ उम्लिङको खोला गाउँमा एकैपरिवारका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो। उनी मृतकका परिवारका नाती पर्छन्।
प्रहरीले आइतबार एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो।