संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको क्रुरतापूर्वक हत्या गरिएको घटनाको अनुसन्धानमा प्रहरीले अहिलेसम्म कुनै उपलब्धि हात पार्न सकेको छैन।
घटनाको अनुसन्धानमा प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीसमेत खटिएका छन् । उनी बुधबार साँझ ७ बजेतिर घटनास्थल पुगेका हुन् । अनुसन्धानका लागि घटनास्थलमा प्रहरीका चारवटा टिम खटिएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघीय इकाई प्रहरी कार्यालय धरान र संखुवासभा प्रहरीको टोलीले घटनाको अनुसन्धान अघि बढाउँदै हत्याराको खोजी गरिरहेको हो । सामूहिक हत्या भएको चार दिन भइसक्दा पनि प्रहरीले घटना निस्कर्षमा पुर्याउन सकेको छैन ।
संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले विभिन्न कोणबाट प्रमाण संकलन गर्दै मजवुत ढंगले घटनाको अनुसन्धान जारी राखिएको बताए । 'धेरै पाटोबाट अनुसन्धानलाई जारी राखिएको छ । केही स्थानीय व्यक्तिहरुसँग पनि घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको छ,' उनले भने, 'तर ठ्याक्कै निस्कर्षमा पुग्न सकिएको छैन । अहिलेसम्म उपलब्धि हात परेको छैन ।'
तालिम प्राप्त कुकुरहरुसहित अनुसन्धानरत प्रहरीको सक्रियताले पनि उपलब्धि हाँसिल हुन नसकेपछि स्थानीयमा त्रास बढेको छ । मादी नगरपालिका-१ खोलागाउँको उम्लिङमा भएको उक्त हत्याकाण्ड अहिले देशभरी नै चासो र चर्चाको विषय बनेको छ । तर घटना भएको ४ दिन बितिसक्दा पनि हत्यामा संलग्नको पहिचान हुन नसक्दा प्रहरीको अनुसन्धान उपलब्धिविहीन देखिएको हो ।
८५ वर्षीय बौदमान कार्कीको परिवार नै सखाप बनाउने गरी दर्दनाक घटना गराइएको छ । घरमा रहेका ७ जनामध्ये वृद्ध अवस्थाका उनी मात्रै सकुशल भेटिएका छन् । बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो ।
गत सोमबार बिहान घर आसपासमा छरपस्ट शवहरु भेटिएका थिए । घटनाका सवालमा प्रहरीले कुनै संकेत प्राप्त गरिरहेको छैन । न त हत्याराको पहिचान नै हुन सकेको छ ।
छिमेकीहरुले पार्वतीको शव घर बाहिरै भेटेका रहेछन् । बेलाबेला बेहोस भइरहने समस्या रहेकाले मुर्छा परेको ठान्दै स्थानीयले उठाएर ओछ्यानमा सुताइदिएको खुलेको छ । प्रहरी पुग्दा उनको शव ओछ्यानमै थियो । नजिकै सुतेका उनका पति बौदमानले घटना चाल नपाएको बताए । उनी कान कम सुन्छन् र आँखा पनि मधुरो देख्छन् ।
सडक छेउमा घोप्टो परेको अवस्थामा तेजबहादुरको शव भेटियो । घरनजिक खोल्सीमा कमला र रञ्जना तथा घरमाथि खरबारीमा दीपेन र गोमाको शव भेटिएको प्रहरी बताउँछ। बर्बरतापूर्वक घटना कति बेला गराइएको हो भन्ने थाहा पाउन पोष्टमार्टम रिपोर्ट नै कुर्नुपर्ने भएको छ । छिमेकीहरुले बिहान ८:३० बजेतिर मात्रै शवहरु देखेको बताएका छन् । घटनास्थलको प्रकृति हेर्दा लखेटीलखेटी हत्या गरेजस्तो देखिने प्रहरीले जनाएको छ ।
सबै मृतकको टाउकोमा प्रहार गरिएको पाइएको चिकित्सकले बताएका छन् । धार नभएको हतियारले टाउकोमा पछाडिबाट जोडले प्रहार गरिएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । घटनास्थल पुगेका फरेन्सिक तालिम प्राप्त चिकित्सक र पोस्टमार्टममा खटिएका चिकित्सकले पनि त्यही कुराको संकेत गरेका छन् ।
प्रहरीले अनुसन्धानका लागि पिकु र लैला नामक दुई वटा 'ट्रयाक' डगलाई समेत प्रयोग गरिसक्यो । तर कुकुरबाट गराइएको 'स्निफिङ' त्यति प्रभावकारी देखिएन । निरन्तरको वर्षाले सबुत प्रमाण नष्ट भएको अनुमान गरिएको छ । संखुवासभाका सबै नाका शिल गरेर ठाउँठाउँमा विशेष सर्च अभियान चलाउँदै हत्याराको खोजी तीव्र पारिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । उनका अनुसार तत्कालको अनुसन्धानबाट कार्की परिवारको कोहीकसैसँग रिसईबी देखिएको छैन । कार्की परिवारको घरबाट छिमेकीकोमा पुग्न लगभग ५ मिनेटजति लाग्छ । निरन्तरको वर्षासँगै घटनास्थल वरपरका खोला र खोल्साहरु बढेर पानी ठूलो आवाजका साथ बगेकाले छिमेकीले घटना हुँदा थाहा नपाएको तथा नसुनेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनापछि शोक र त्रासमा डुबेको गाउँमा आतंक छाएको वडाध्यक्ष खेमराज कटुवालले बताए । उनले भने, 'घटनापछि स्थानीय त्रसित छन् । गाउँले एवं छरछिमेकी सम्हालिन सकिरहेका छैनन् ।' कटुवालले गाउँलाई सामान्य अवस्थामा ल्याउनका लागि समेत अपराधीलाई जतिसक्दो चाँडो पक्राउ गर्नुको विकल्प नभएको बताए ।
प्रहरीका अनुसार गाउँघरमा नयाँ व्यक्ति प्रवेश गरेको पनि पाइएको छैन । घटना भएका बेला त्यो क्षेत्रमा सक्रिय रहेका मोबाइलको पनि विश्लेषण प्रहरीले गरिरहेको छ । एसपी राईका अनुसार विभिन्न कोणबाट अनुसन्धान जारी छ । 'उपलब्धि हात पर्न केही समय लाग्छ । त्यसका लागि धैर्य गर्नुपर्छ,' उनले भने, 'अहिलेसम्म मजवुत प्रमाण जुटिसकेको छैन । घटनामा पेसेवर अपराधीको संलग्नता हुनसक्छ ।'
बौदमानको परिवारले झापामा जग्गा किनेर पास गराउने तयारी गरेको खुलेको छ । बौदमानका नातिहरु जेठो रमेश र कान्छो नरेश वैदेशिक रोजगारीका क्रममा दुवई र मलेसियामा थिए । जग्गाका लागि उनीहरुले पठाएको पैसा अपुग भएपछि कार्की परिवारले गाउँघरमा ऋण पनि खोजेको पाइएको छ ।
जग्गा किन्न घरमा राखिएको पैसा डकैती गर्न खोजिएको शंका थियो । तर नगद र गरगहना घरभित्रै सुरक्षित फेला परेको प्रहरीको भनाइ छ । जसका कारण लुटपाटको उदेश्यले घटना नभएको हुनसक्ने प्रहरीले जनाएको छ । यद्यपि आर्थिक एवं विभिन्न प्राविधिक पाटोबाट पनि अनुसन्धान तथा हत्याराको खोजी जारी राखिएको राईले बताए ।
हत्या गरिएका ६ जनाको शवलाई बुधबार साँझ सुनसरीको इटहरीमा सामूहिक दाहसंस्कार गरिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो पोष्टमार्टम गरिएका शवहरुलाई साँझइटहरीस्थित बूढीगंगा जमुनामुक्ति घाटमा दाहसंस्कार गरिएको हो। घटनास्थलबाट उठाएर शव पोस्टमार्टमका लागि मंगलबार धरान ल्याइएको थियो । दाहसंस्कार गरिएकामा एउटै परिवारका चार पुस्ता छन् । तीनवटा चिता बनाएर उनीहरुको अन्त्येष्टि गरिएको हो ।
पार्वताको भिन्दै तथा तेजबहादुर र पत्नी कमलाको एउटैमा अन्त्येष्टि गरिएको छ । रञ्जना र उनका दुई सन्तानको अर्को चितामा एकै पटक अन्त्येष्टि गरिएको हो । शव जलाउन ल्याउने भएपछि इटहरीको घाट दिउँसोदेखि नै आफन्त, गाउँले र स्थानीयहरुले भरिभराउ थियो । शवलाई गाडीबाट निकाल्दै गर्दा घाटमा रुवाबासी चलेको थियो । शव इटहरीस्थित घाटमा जलाइने खबरसँगै सुनसरी र मोरङका धेरै स्थानीयहरु भेला भएका थिए ।
दाहसंस्कारपछि मृतकका आफन्तहरुले घटनाको छिटो छानबिन गर्न माग गरेका छन् । उनीहरुले अनेक अफवाह फैल्याएको भन्दै युट्युबरहरुसँग रोष प्रकट गरेका छन् । दर्दनाक नरहसंहारमा परिवारै सखाप बनाइएको घटनाका विषयमा युट्युबरले फैल्याएको अफवाहविरुद्ध कानुनी लँडाइमा जाने संकेत उनीहरुले गरेका छन् ।
अन्नपुर्ण बाट