भोजपुर । करिब दुई हप्ता देखिको निरन्तरको वर्षाले रुद्राक्ष किसान तथा व्यापारी चिन्तित बनेका छन् । निरन्तर वर्षाको कारण रुद्राक्ष बोटमै कुहिएर झर्न थालेपछि किसान चिन्तित बनेका हुन् । निरन्तरको वर्षातले बगानका रुद्राक्षहरु झर्न थालेपछि यो वर्ष किसानलाई निराश बनाएको छ ।
चिन, भारत लगायतका बाह्य मुलुकमा करोडौँ मूल्यमा निर्यात हुने रुद्राक्ष पछिलो समयको वर्षातले झर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन । आम्दानीको मूख्य श्रोत रहेको रुद्राक्ष खेती अविरल वर्षातले क्षति पुर्याएपछि व्यापारमा ह्रास आउने किसानहरु बताउछन् । खेतीको रुपमा रहेको रुद्राक्ष बगानमा अत्याधिक बर्षातकै कारण रुद्राक्ष दाना बोटमै कुहिन थालेको षडानन्द नगरपालिका १ नेपालेडाडाँका रुद्राक्ष किसान रामचन्द्र गौतमले सुनाए । “भारी बर्षातले राम्रो दाना अड्डिन नै पाएन, यस्तै वर्षा अझै केहिदिन भईरहे रुद्राक्ष बेचौला भन्ने आश मर्यो ”उनले भने ‘कोरोनाले व्यापार पनि खस्किएको बेला फल नअडिदा झन समस्या भयो ।’ उनले थपे ‘यस वर्षातमा मेरो वगानको ११-१२ मुखे देखि लिएर १६-१७ मुखेसम्म रुद्राक्ष झरिसको छ ।’ किसान गौतमका अनुसार पानी नपरेको भए झण्डै यतिबेला कारोवार सुरु हुन्थ्यो । उनका अनुसार वर्षातमा टिपेको रुद्राक्ष हल्का हुने र दाम नआउने हुदाँ व्यापारीले रुचाउदैनन् ।
पछिल्लो समयमा रुद्राक्षमा विभिन्न औषधिहरुको प्रयोग गरेतापनी फल अडिनुको सट्टा उल्टै बढि मात्रामा झर्न थालेको अर्का कृषक षडान्नद नगरपालिका वडा नं ४ का सन्तोश राईले बताए । उनले भने, ‘यसवर्ष फुल त अडिएकै थियो तर पछिल्लो समयको वर्षाले फल अडिन पाएन ।
कारोवार सुरु भएन
भोजपुरको षडानन्द नगरपालिकाको प्रमुख आय आर्जनका रुपमा रहेको रुद्राक्ष व्यवसाय यस वर्ष सुरु हुन सकेको छैन । यस वर्ष कोरोनाका कारण चिनियाँ व्यापारी नआउँदा कारोवार सुरु हुन नसकेको हो । विगत वर्षहरुमा यस बेला गाउँ गाउँमा पुग्ने चिनियाँ व्यापारीहरु यस वर्ष देखिएका छैनन् । सयौंको संख्यामा रुद्राक्ष कृषकहरु थपिएका छन् ।
भएका खेतबारी रुद्राक्ष बोटले भरिएका छन्, तर व्यापार हुने कुनै सम्भावना छैन । रुद्राक्ष व्यापारी तथा कृषक षडानन्द नगरपालिका ४ का किसान राईले भने लाखौं खर्च गरेर कृषकले मलजल र औषधी पनि हालेका छन्, तर व्यापार हुने कुनै लक्षण छैन ।
भोजपुरको षडानन्द नगरपालिका क्षेत्रबाट मात्रै वर्षेनी करोडौको रुद्राक्ष कारोबार हुँदै आएकोमा गत वर्ष समेत कोरोनाको कारण भएको लकडाउनले कारोबार हुन पाएको थिएन् ।
चिनियाँ व्यापारीले भरिने षडानन्द नगरपालिका अन्तरगत दिङ्ला बजार र आसपासका गाउँघर र होटल पसल पनि यस वर्ष सुनसान देखिन्छन् । रुद्राक्षको व्यापार व्यवसायमा लगानी गर्ने कृषक र ठेकेदार सुस्ताउँदा व्यापार व्यवसायमा समेत मन्दी आएको व्यपारी तथा कृषकहरुको बुझाइ छ । विगत वर्षहरुमा साउन लागेसँगै रुद्राक्षको कारोबार सुरु हुन्थ्यो । यस वर्ष विशेष गरि चिनियाँ व्यपारिहरु हालसम्म नआउदा कारोवार सुरु हुन नसकेको हो ।