काठमाडौं : नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बूढानीलकण्ठ वार्ता सकारात्मक छलफलसँगै सकिएको छ। करिब चार घण्टासम्म चलेको वार्ताबाट निस्कदै वरिष्ठ नेता नेपालले तत्कालका लागि राजीनामा टरेको बताए। नेता नेपालका अनुसार दुई नेताबीच कार्यदल बनाएर पार्टी विवाद समाधान गर्नेगरी वार्ता सकिएको हो।
‘राजीनामा दुई–चार दिनलाई टर्यो’, ओलीसँगको वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले भने, ‘कार्यदल बन्छ।’ नेता नेपालका अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्कने वातावरण बनाउनका निम्ति कार्यदल बनाएर अगाडि बढ्नेगरी वार्ता सकारात्मक भएको हो। बैठकमा ओलीले फागुन २८ गतेको निर्णय फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन्।
‘फागुन २८ को निर्णय फिर्ता गर्ने, २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा सकारात्मक कुराकानी भएको छ’, नेपालले भने, ‘मिल्ने दिशामा कुराकानी अगाडि बढेको छ।’ संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार बेलुका ९ बजे सकिदैछ। तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न नसकिरहेका बेला एमालेको विवादमाथि सकारात्मक छलफल भएको हो । यसले ओली पुनः प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ ।
पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीले पार्टीका नेतामार्फत वरिष्ठ नेता नेपालसँग बिहीबार बिहानैदेखि छलफल अगाडि बढाएका थिए। अर्थमन्त्री विष्णु पौडेल छलफलका लागि बिहानै माधव नेपाल निवास कोटेश्वर पुगेका थिए।
बिहीबार दिउँसो बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतामाथिको कारवाही फुकुवा गरेको थियो । कारवाही फुकुवा भएको पत्र ओलीले वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पठाइ सकेका छन्। पत्रमा उनीहरुलाई गरिएको निलम्बन फुकुवा भएको उल्लेख गरिएको छ। त्यसपछि बसेको ओली र नेपाल बीचको वार्ता सकारात्मक भएको हो । यो भेटले एमालेलाई विभाजनबाट तत्काललाई जोगाएको छ ।
हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन कम्तीमा पनि थप १२ सांसदको आवश्यकता पर्छ। कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन्। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षमा १५ वा १६ जना छन्। यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन्। बहुमतका लागि १ सय ३६ आवश्यकता पर्छ।
एमाले नेपाल समूहले प्रधानमन्त्री ओलीलाई साथ दिँदा ओलीलाई पुनः प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ। वैशाख २७ गते प्रधानमन्त्रीले संसदबाट विश्वास गुमाएपछि राष्ट्रपतिबाट तीन दिनभित्र सरकार गठनका लागि आह्वान भएको हो । राष्ट्रपति भण्डारीले दिएको समय बिहीबार बेलुका ९ बजे सकिदैछ ।