कमरेड ओली!
अभिवादन!!
पहिलो कुरा त मेरो र तपाईको आमा हामी सानै हुँदा हामीले चालै नपाई मरेका रहेछन्।हामी दुवै एकपाखे बाउले पालेका टुहरा सन्तान रहेछौँ।जस्तो म त्यस्तै तपाइँ।
दोस्रो कुरा तपाई सानो छँदा सेतो सर्प तपाईको शिरमाथि बसेको सुने,मेरो शिरमाथि पनि उसरी नै बसेको रे।तपाईको परिवारले सर्प मारेनछ,मेरो परिवारले मारेछ।फरक यति हो। तपाईका बा झापा झरेछन् मेराबाले फाँडेको दहीझोडा पन्चायतले खोसेछ।म पहाडै रहेँ ,पाख्रिबासे भएँ तपाई झापाली हुनुभयो।अब फरक शुरु भयो। तपाइँ दश पढेर राजनीतिमा लाग्नुभएछ।जेल पर्नभएछ।म माष्टरीमा लागेँ,फिस तिर्ने पैसा कमाएँ।डिग्री गरेँ। माष्टर हुन कोर्स पढ्नुपर्दो रहेछ नेता हुन फोर्स पढ्नुपर्दो रहेछ।
तपाई ५० बर्ष अघि कम्युनिष्ट बन्नुभएछ। म २०३९ देखि कम्युनिष्ट भएँ।ढाट्दिन मदन भन्डारीको रहस्यमय हत्याले विरक्तिएर म २०५१ देखि राप्रपा भएँ।पछिफेरि तपाइको आसलाग्दो उदय देखेर २०६३ पछि एमालेमै फर्किएँ।
थोरैमात्र भरोसा लागेको हो र!नवौँ महाधिवेशनमा'सबैको बोली केपी ओली'लेखेको क्यापटोपी लाएर बागबजारमा कुदेँ।बेलुकी प्रज्ञा भवनको सभाहलमा हलोलको लुँडी,ब्रोइलरलाई मुजुरको प्वाँखजस्ता तुक्का सुनेर ताली बजाएँ।तपाईलाई फङ्गल थियो।मैले जिन्दगीका कुइनेटा दिएँ।पढ्नुभो होला। तपाइँ खादबारी आउँदा बाँदरलाई मकै गोठालो मजा लागेको थियो।पहिलो चोटी प्रम हुँदा नाकाबन्दी विरुद्ध उभिनुभो।मदनभन्दा अग्लो देखेँ।दोश्रो चोटी प्रम हुँदा नयाँ नक्सा ल्याउनुभो कविता नै लेखेँ। काम पनि हुँदै थिए।उसो त दोश्रो चोटी तपाईको उम्मेदवार राजेन्द्र गौतमलाई 'फूल मन्त्री'हुन्छन् भनी भनी भोट मागियो,तर मन्त्री बनाइदिनुभएन।ढाँटेजस्तो भो।
पाँचकरोड माथिको ठेक्का,अनुसन्धान र सेना तपाइको मातहत ल्याउनुभयो।यो कुनै प्रधानमन्त्रीले गर्न नसकेको काम। उसो त सङ्खुवसभाका दिनेश र प्रेमलाई निर्वाचन र अख्तियारको प्रमुख बनाएर होस् वा अमृतलाई स्थायी प्रतिनिधि बनाएर।यो मकालुअरुणमाथि न्याय नै गरेको मान्छु।
सुरुङ,पानीजहाज,रेल,ग्यसचुलो नयाँ आयाम हुन्।धरहरा,रानीपोखरी,मेलाम्ची ,एयरपोर्ट र सडकहरु देखिने काम हुन्।
नगरेको भन्ने ठाउँ छैन।कुलमान र विनालाई धन्यवादसम्म नभन्नु अनि कृष्णप्रसादलाई नसम्झिनु तपाईको अहंता हो।तर चन्द्र सम्सेरले पनि घन्टाघर,त्रचन्द्र कलेज,सिँहदरबार र चन्द्रज्योति बिजुली बनाएकै थिए।आज निरङ्कुस 'फिस्टे महाराज'भनेरै पढाउँछन् इतिहास।तपाइले संसद विघटन,पार्टी विघटन चाहिँ गर्नै नहुने काम हो लाग्छ।
मदनभण्डारी फाउन्डेसनमा बजेट दिएर गुटका मान्छे पाल्नु,आफ्ना मातहतले भ्रष्टाचार गरे तिनलाई बचाउनु जस्ताफोहोरी काम पनि भएको भन्छन्। सुचना सन्चारमा विकास भएकोले सबैलाई थाहा भएको हो कि तपाईकै पालामा ब्रम्हलुट भएर हो,यतिधेरै भ्रष्टाचार भएको थाहा थिएन।
अहिले एमाले पार्टी धरापमा छ।तपाई हान्ने अर्नजस्तो टसकोमस हुनुहुन्न।एउटै अधिवेसनबाट अध्यक्ष भएको तपाई र महासचिव चाहि रहने,उपाध्यक्ष,बरिष्ठ नेता र सचिवहरु खारेज हुने कतैबाट नाप्दा पनि मिटर नमिल्ने ढिपी छ तपाइको।उसरी नै निर्वाचित जिल्ला अध्यक्ष पनि मान्य नहुने तपाईले तोकेको मान्छेलाई मान्नुपर्ने यो कस्तो काइते तर्क हो।तपाई जे भन्नुस तपाईकै कारणले पार्टी फुटको संघारमा छ।
आज बैसाख २६ गते पनि तपाई लचक हुनुभएन भने पार्टी फुटाउने तपाई नै हो भनेर अर्कोफिष्टे त नभनूँ'कीर्ते महाराज'भनेर भन्नै पर्ने हुन्छ।इतिहास यस्तै लेखिनेछ।तपाई विश्वासको मत जित्नोस् ,हार्नुस्।प्रम हुनुस नहुनुस यो क्षणिक कुरा हो। आज लचक बन्नुस्।पार्टी मिलाउनुस्।समय छ।हाम्रो चैनपुर तिरको ऊखनजस्तो'कुमाईको घुमाई बाहुनको जाल नेवारको लेखापढी लिम्बुको काल नै गर्ने भए त के भनौँ।भिर जाने गाइलाई राम भन्न सकिन्छ काँध हाल्न सकिन्न। अन्तमा,मैले त आलोचना गरेँ,रिसाउनुभा होला।'आइ लभ यु केपी बा'भन्ने कार्यकर्ता पङ्तिको राजनीतिक भविष्य पराजय नै पराजयको डिलमा पुर्याएर तपाई प्रम भइरहनुले अर्थ राख्दैन।एकतावद्ध एमाले पार्टीमा तपाईकै कार्यकर्ता भएर घाममा भोट हाल्न पाउँ।
उचनिचमा क्षमा पाउँ।कुरा त कति छन कति।किम्अधिकम्।
तपाइँको उही शुभचिन्तक
ताराबहादुर बढाथोकी ,खाँदबारी।
२०७८साल बैसाख २६ गते रोज १ शुभम्।