काठमाडौं- बेलायतबाट आएका तीन जनामा नयाँ भेरियन्ट (प्रजाति)को कोरोना भाइरस देखिएपछि अन्य व्यक्तिहरुमा पनि सो भेरियन्ट हुनसक्ने आंशका गरिएको छ।
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार नयाँ प्रजाति देखिएका तीन जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्य व्यक्तिहरुमा ‘एस जीन’ नेगेटिभ आएपछि उनीहरुमा पनि नयाँ भेरियन्ट कोरोना भाइरस भएको आंशका गरिएको छ।
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले केही व्यक्तिहरुमा नयाँ भेरियन्टको आंशका गरिएको भएपनि उनीहरुको जीन सिक्वेन्सी जाँच भने गरिएको छैन।
उनले भने,‘कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरु एस जीन नेगेटिभ हुन्। यो एक महिना अघिको कुराको हो। उहाँहरु सबै स्वस्थ हुनुहुन्छ। कसैको जीन सिक्वेन्सिङ गर्न आवश्यक भएन।’
नेपालमा जीन सिक्वेन्सिङ जाँच हुँदैन। त्यसका लागि नेपालबाट नमुना हङकङ पठाउनुपर्ने हुन्छ।
पौडेलका अनुसार नेपालमै जीन सिक्वेन्सिङ परीक्षण गर्ने तयारी गरिएको छ। तर, त्यसका लागि केही समय लाग्ने बताइएको छ।
बेलायतबाट आएका तीन जनामा कोरोना भाइरस पुष्टि भएपछि त्यो नयाँ भेरियन्टको भाइरस हो होइन भन्ने निक्र्यौल गर्न नमुना हङकङ पठाइएको थियो।
महाशाखा प्रमुख पौडेलका अनुसार कन्ट्याक्ट टे«सिङमा परेका ती व्यक्तिहरु लक्षण नभएका, सामान्य लक्षण भएको, कतिपयको पिसिआर रिपोर्ट नै नेगेटिभ आएका र स्वास्थ्यमा समस्या नभएका थिए।
उनले जिन सिक्वेन्सिङ नगरीकन उनीहरुमा कुन भेरियन्ट देखिएको भन्ने पत्ता लगाउन गाह्रो हुन भएको भन्दै ती यूके भेरियन्ट हुने सम्भावना बढी रहेको बताए।
पछिल्लो समय कोरोना भाइरसका विभिन्न भेरियन्ट देखिरहेका छन्। भाइरसहरुले रुप परिवर्तन गर्ने कुरा सामान्य नै मानिन्छ।
कोरोना भाइरसको हकमा भने यूके भेरियन्ट, ब्राजिल भेरियन्ट, जापान भेरियन्ट, सिंगापुर भेरियन्ट र साउथ अफ्रिका भेरियन्टहरु पुष्टि भएका छन्।
अझैपनि कोरोना भाइरसको जोखिम नघटेकाले मास्कको प्रयोग गर्ने, हातको सफाई र सामाजिक दूरी कायम राख्ने कुरामा ध्यान दिन डा पौडेलले अनुरोध गरे।
नेपालमा पछिल्लो समयमा परीक्षण दर न्यून रहेकाले संक्रमितको संख्या पनि घट्दै गएको छ। परीक्षण र संक्रमित कम भएकाले नयाँ भेरियन्टबारे थप जानकारी आउन भने सकेको छैन।
swasthyakhabar.com बाट