काठमाडौं : राष्ट्रिय सभा हिउँदे अधिवेशनको पहिलो बैठक सकिएको छ । शुक्रबार बसेको सातौं बैठक पुस २३ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।शुक्रबारको बैठकमा राष्ट्रियसभाका सदस्य दीननाथ शर्मा, जितेन्द्र नारायण देव र प्रमिला कुमारीले सम्बोधन गरे ।
बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश राष्ट्रिय सभामा पेस भएको छ ।
शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेस गरेका हुन् । मन्त्री श्रेष्ठले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न अध्यादेश, २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ समेत पेश गरेका छन् ।
सँगै बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले 'तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७’, 'नेपाल प्रहरी र प्रदशे प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७’ पेश गरेका छन् ।
बैठकको सुरुमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिबाट अधिवेशन आह्वान गरेको पत्र र राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसैगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य र पूर्वसदस्यको निधनप्रति शोध प्रस्ताव पारित गर्दै शुक्रबारको बैठक सम्पन्न भएको हो ।
annapurnapost.com बाट