काठमाडौँ — सरकारले प्रतिनिधिसभा विघटन गरेपछि शुक्रबारदेखि राष्ट्रियसभाको पहिलो बैठक बस्दैछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाको बैठक बस्न लागेको हो । बैठकका लागि कार्यसूचीबारे छलफल गर्न बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।
बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइनेछ । त्यसपछि अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुकोतर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाटन मन्तव्य राख्ने कार्यसूची छ । राष्ट्रियसभामा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रतिनिधित्व छ ।
बैठकमा छैटौं अधिवेशनपछि हालसम्म निधन भएका संघीय संसद्का सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ ।
सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपा ( पुष्पकमल दाहाल– माधवकुमार नेपाल) समूह, कांग्रेस र जसपाले उक्त कदमको विरोध गरेका छन् । नेकपा (दाहाल–नेपाल) समूहले राष्ट्रियसभाको अधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने नीति लिएको छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा दाहाल–नेपालसमूहले आफूहरुसँग सबैभन्दा बढी अर्थात् करिब दुई दर्जन सांसद रहको दाबी गरेको छ ।
प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रियसभामार्फत सरकारको कदमको जोडदार रुपमा विरोध र प्रतिरोध गर्ने यो समूहका एक सांसदले बताए ।
विपक्षी कांग्रेस र जसपाले पनि संसद् विघटनलगायतका मुद्दामा राष्ट्रिय सभामा बलियो उपस्थिति जनाउने तयारी गरेको छ । बैठक बस्ने भएपछि बिहीबार राष्ट्रियसभा सदस्यहरुको कोभिड–१९ परीक्षणको लागि स्वाब संकलन पनि गरिएको थियो ।
ekantipur.com बाट