मोरङ — नेकपा ओली समूहमा रहेका प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने प्रदेशसभा सदस्यहरुलाई सोमबार स्पष्टिकरण सोधेका छन् ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने र पेश गर्ने सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न राजभण्डारीले पत्राचार गरेका हुन् । संसदीय दललाई जानकारी गराउनु भन्दा पहिले नै संसद् सचिवालयमा ३७ जना सांसदहरुले आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
संसदीय दलमा छलफल नगरी प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएकाले प्रस्ताव फिर्तासहित स्पष्टिकरण पेश गर्न पत्र पठाएको प्रमुख सचेतक राजभण्डारीले बताए ।
पत्रमा नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानुनी व्यवस्था तथा पार्टीको संसदीय दलको विधान २०७६ को भाग ६ दफा २४ को (क), (ख), (ग), (च) र (छ) आकर्षित भई विधानको दफा २६ (ग) को देहाय (१), (२), (४) र (५) बमोजिम तपाईंलाई कारबाही किन नगर्ने उल्लेख छ । स्पष्टिकरण नदिनेलाई संविधान, राजनीतिक दल सम्बन्धी ऐन, कानुन र दलको विधान बमोजिम कारबाही भई जाने पत्रमा उल्लेख छ ।
पत्र प्राप्त भएको २४ घण्टाभित्र उक्त अविश्वासको प्रस्ताव फिर्ता गरी लिखित स्पष्टिकरण पेश गर्न दलका नेता मुख्यमन्त्री राईको निर्देशनमा पत्राचार गरेको उनले बताए । प्रदेशसभा सदस्यहरुलाई फोनमार्फत जानकारी गराएको र लिखित पत्र हुलाकमार्फत पठाइएको राजभण्डारीले सुनाए । निर्वतमान मन्त्री इन्द्रबहादुर आङबोले मुख्यमन्त्री राई संसदीय दलमा स्पष्ट अल्पमतमा परिसकेको अवस्थामा पनि आफ्नो पक्षमा बहुमत पुर्याउने हतियारको रुपमा स्पष्टिकरणलाई प्रयोग गरेको बताए । ‘यी यस्ता धम्कीले मुख्यमन्त्री राई नेतृत्वको सरकार रहदैन भन्ने कुरो स्पष्ट भइसकेकोले राजीनामा दिएर मार्ग प्रसस्त गर्न सुझाव दिन चाहन्छु,’ उनले भने, ‘संसदीय दलको बहुमतले पुस १९ गते बैठक बोलाइसकेको र त्यही बैठकबाट मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर प्रदेशसभा सदस्य भीम आचार्यलाई नेता बनाउँछौं ।’
नेकपाका ६७ प्रदेशसभा सदस्यमध्ये ३७ जनाको हस्ताक्षरसहित आइतबार प्रदेशसभामा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।