विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओली समूहले प्रदेश १ मा मनोनित गरेका केन्द्रीय सदस्यहरुले धमाधम एकपछि अर्को गर्दै पद अस्वीकार गर्न थालेका छन्।
पद अस्वीकार गर्ने धेरैले आफूहरुलाई थाहा नै नदिई केन्द्रीय सदस्यमा मनोनयन गरेको बताइरहेका छन्। उनी सपथ ग्रहणमा पनि गएका छैनन्। पार्टी खरानी बनाएर केन्द्रीय सदस्यको बधाई थाप्दिने प्रतिक्रिया कतिपयले दिइरहेका छन्। प्रदेश १ मा पद अस्वीकार गर्नेमा प्रदेश राज्यमन्त्रीदेखि संघीय सांसद र जनप्रतिनिधिसमेत छन्।
जसमध्ये संविधानसभाका सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरध्वज तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।
ओली समूहको केन्द्रीय कमिटी सदस्यमा आफ्नो नामसमेत समावेश भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले आफू प्रचण्ड–माधव समूहमा रहेको बताएका हुन्। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूलाई कुनै जानकारी नै नदिइ ओली समूहको केन्द्रीय सदस्यमा राखिएको प्रति असहमति जनाएका हुन्।
यता प्रदेश १ प्रदेशसभाका सदस्य कला घलेले आफू पार्टी फुटको पक्षमा नरहेको बताए। ओली समूहबाट केन्द्रीय सदस्यमा गरिएको मनोनयनका सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै घलेले शपथग्रहण नै नगरेको व्यक्ति कुनै पार्टीको केन्द्रीय सदस्य हुन नसक्ने बताइन्।
‘पार्टी विभाजनको पक्षमा म छैन र जनता पनि छैनन्,’ सांसद घलेले भनिन्, ‘अहिले कोरोना कहरका बेला जनताको उपचार गर्न छोडेर अन्यत्र ध्यान दिनु गलत हुन्छ।’ पछिल्लो गतिविधिले जनअभिमतको गम्भीर अपमान भएको र त्यसबाट आफू सबैभन्दा दुःखी भएको उनले बताइन्। ‘अहिलेको क्रियाकलाप जनताको अभिमत र जनविश्वासको अपमान हो,’ उनले भनिन्, ‘आजको आवश्यकता फुट होइन एकता हो।’
प्रदेश सांसद घलेले ओली समूहले केन्द्रीय सदस्य पद आफूलाई स्वीकार्य नरहेको पनि स्पष्ट पारेकी छन्। ‘कला घलेको नाम कहिले मन्त्रीको लिष्टमा आउँछ कहिले फोटाहरु छापिन्छ, कहिले केन्द्रीय सदस्यमा आउँछ,’ उनले थपिन्, ‘हामी लुगा फेर्न र पद खोज्न गएका होइनौं, जनताको दुःख हटाउन सकिन्छ कि भनेर गएका हाैं।’ प्रदेशसभा सदस्य घले उदयपुरबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
ओली समूहले केन्द्रीय सदस्य पदमा मनोनित गरेका जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल पनि शपथग्रहण कार्यक्रममा अनुपस्थित भएका छन्। प्रमुख पोखरेलले शुभचिन्तकहरुको बधाई तथा शुभकामनासमेत ग्रहण गरेका छैनन्।
‘पार्टीलाई खरानी बनाएर केन्द्रीय सदस्य पदको शपथग्रहण कसरी गर्नु?’ प्रमुख पोखरेलले भने, ‘पार्टी एक हुँदा आफूभन्दा जुनियरलाई केन्द्रीय सदस्य बनाएर अपमान गर्ने अनि पार्टी फुटाएर केन्द्रीय सदस्य भइस् भन्दैमा बधाई थाप्दै हिँड्ने कुरा छैन।’
मोरङ जिल्लामा तात्कालीन नेकपा एमालेको झण्डै १५ वर्ष (तीन कार्यकाल) पार्टी सचिवको भूमिका निर्वाह गरेका पोखरेल लामो समयदेखि ओली पक्षमै रहेका थिए। उनले पार्टी विभाजन गलत भएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्।
ओली समूहको केन्द्रीय सदस्यमा मनोनित प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेशसभा सदस्य झापाका गोपालचन्द्र बुढाथोकी, उदयपुरको कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले पनि केन्द्रीय सदस्यको पद अस्वीकार गरिसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय सदस्यमा प्रदेश १ बाट ८३ केन्द्रीय सदस्यमा मनोनित भएका थिए।
थाहाखबर बाट