विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ बाट प्रहरीले प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका सैन्य विभाग प्रमुखलाई पक्राउ गरेको छ।
विष्फोटक पदार्थ र हतियारसहित विप्लव समूहको पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरा पक्राउ परेको पुष्टि मोरङ प्रहरीले गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले विशेष सूचनाका आधारमा बोहरालाई आफ्नै घरबाट पक्राउ गरिएको जानकारी दिए।
बोहराको साथबाट एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली र सकेट बम बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै बम बनाउने र विष्फोटमा प्रयोग गरिने विष्फोटक पदार्थ पनि बरामद भएको उच्च प्रहरी स्रोतले बतायो।
प्रहरीका अनुसार उनका साथबाट पूर्व लडाकु लेखिएको एक थान छाप, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुईवटा सीमकार्ड, एउटा मोबाइल, कम्प्युटरको हाडडिक्स, चारवटा डाटा केवुल लगायतका सामग्री बरामद भएको छ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगर जिल्ला प्रहरी कार्यालय मोरङले चलाएको संयुक्त अपरेशसनका क्रममा बोहरालाई पक्राउ परिएको प्रहरीले जनाएको छ। मुलुकका विभिन्न ठाउँमा गरिएका विष्फोटका घटनामा संलग्न रहेको आरोप लागेका उनीविरुद्ध थप अनुसन्धानपछि मात्रै कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको भनाइ छ।
बोहरालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको छ। उनी तत्कालीन विद्रोही माओवादीको जनसेनातर्फको पूर्व बिग्रेड कमाण्डर रहेको पनि प्रहरीले जनाएको छ।