काठमाडौं- कोरोना भाइरसको संक्रमण दर दैनिक बढ्दो क्रममा छ। कोरोना भाइरसको संक्रमणबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेकै भौतिक दूरी कायम गर्नु, मास्क लगाउनु र साबुनपानी वा स्यानिटाइजरले हात धुनु नै हो।
विश्व स्वास्थ्य संगठनदेखि चिकित्सकहरुले भाइरसको संक्रमणबाट जोगिन भीडभाडमा नजान तथा एक अर्काबीच कम्तीमा २ मिटरको दूरी कायम राख्न सुझाव दिँदै आइरहेका छन्।
यसका साथै भाइरसको संक्रमणले वृद्धवृद्धा तथा बालबालिका र रोक प्रतिरोधात्मक क्षमता कम भएकालाई छिट्टै आक्रमण गर्ने र जटिल समस्या निम्तिन सक्ने भन्दै उनीहरुलाई घरबाट बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ।
संक्रमितको संख्या दैनिक उकालो लाग्दै गइरहेको यो समयमा नेपालीको ठूलो चाड दसैं र तिहार नजिकै आइसकेको छ। दसैंको टीका तथा आशिर्वाद लिन काठमाडौं उपत्यका लगायतका सहरी क्षेत्रबाट गाउँगाउँमा जाने क्रम सुरु भइसकेको छ।
यस्तो अवस्था काठमाडौं उपत्यका र सहरी क्षेत्रबाट बाहिरको यात्रा गर्नु थप जोखिमपूर्ण हुन्छ। चाडपर्व मनाउने भन्दै गाउँ जाने क्रममा खुसीभन्दा संक्रमण पनि सँगै लैजाने सम्भावना धेरै छ।
यतिमात्र होइन, दसैंमा आशिर्वाद लिन र टीका थाप्न भन्दै वृद्धवृद्धाकहाँ जाँदा उनीहरुलाई संक्रमण सार्ने खतरा रहनुका साथै जीवन नै तलमाथि पार्ने सम्भावना पनि उत्तिकै छ। यही खतरालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले यस पटकको दसैं जो जहाँ छौं, त्यहीँ बसेर मनाउन सुझाव दिएको छ।
मन्त्रालयले संक्रमणको फैलावट रोक्न र सम्भावित खतरालाई बुझेर नै भनेको छ, आशिर्वाद जोगाउँ। अर्थात् टीका र आशिर्वाद लिन वृद्धवृद्धाकहाँ नजाउँ। मन्त्रालयले घरमै बसेर चाडबाड मनाउने र भिडियो तथा टेलिफोनबाट आशिर्वाद लिन भनेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी भन्छन्, ‘यो पटक विगतको समयमा भन्दा निकै फरक छ। त्यसैले यसपटक जो, जहाँ, जस्तो अवस्थामा छौँ, त्यस्तै अवस्था बसाै। यात्रा नगरौँ। यस पटक वृद्धवृद्धालाई सुरक्षित बचाऔं, सँगै अर्को वर्ष दसैं मनाउँला।’
उनले कोरोना भाइरसले दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमी भएका मानिस र वृद्धवृद्धालाई छिटो आक्रमण गर्ने र गम्भीर बनाउने भएकाले त्यस्ता व्यक्तिहरुलाई बचाउनुपर्ने बताए।
उनले भने, ‘गाउँघरमा जाँदा आमाबुबा, हजुरबुबा–हजुरआमासँग भेट्ने, टीका लगाउने क्रममा आफू संक्रमित भए सर्न सक्छ। त्यसैले यात्रा गर्दा कोरोना पनि सँगै हुनसक्छ। त्यसैले संक्रमण फैलनबाट रोक्न सबैभन्दा उत्तम उपाय भनेको नै जो जहाँ छौँ, त्यही बसाँै।’
चाडपर्वमा सुरक्षित रहन स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड समेत जारी गरेको छ। स्वास्थ्य मन्त्रालयले ‘चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड, २०७७’ जारी गर्दै सोही अनुसार गर्न पटकपटक भन्दै आइरहेको छ।
सहप्रवक्ता डा अधिकारीले यो मापदण्ड केही समयअघि बनाइएको भए पनि दसैं र तिहारमा पनि यसमा उल्लेख भएका मापदण्ड पालना गर्नुपर्ने बताए। सो मापदण्डमा व्यक्तिगत तहमा पालना गर्नुपर्ने अत्यावश्यक र अनिवार्य कुराहरु र आयोजकले पालना गर्नुपर्ने कुराहरु उल्लेख छ।
मापदण्डमा घरपरिवार र समुदायस्तरमा मनाइने सबै प्रकारका चाडपर्व, जात्रा र उत्सवहरूलाई ध्यानमा राखी विकास गरिएको डा अधिकारीले जानकारी दिए।
चाडपर्वमा सुरक्षित रहने मापदण्ड
व्यक्तिगत तहमा लागू हुने
अत्यावश्यक र अनिवार्य (एसएमएस)
१. सबै किसिमका चाडपर्व मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने। यदि भेटघाट गर्नैपर्ने भएमा कम्तीमा २ मिटर (६ फिट) को दूरी अनिवार्य रूपमा कायम गर्ने।
२. चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने। यदि जानै पर्ने भएमा सहभागी हुँदा मास्क (सर्जिकल वा ३ तहको कपडाको मास्क) को प्रयोग अनिवार्य रूपले गर्ने।
३. चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रूपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।
आधारभूत
१. धार्मिक स्थलमा हुने हरेक भेलामा र कार्यक्रममा बढीमा २५ जना मात्रै भेला हुने।
२. अभिवादन गर्दा भौतिक दूरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्ने, तर अँगालो मार्ने वा शरीर छुने कुनै प्रकारको अभिवादन नगर्ने।
३. सतहहरू (रेलिङ, बार आदि), देवी–देवताका मूर्ति र धेरै व्यक्तिहरूले प्रयोगमा ल्याउन सक्ने सामग्रीहरू नछुने।
४. अनुहारको टी क्षेत्र– आँखा, नाक र मुख सकेसम्म नछुने यदि छुनै परेमा हात धोई वा हातमा स्यानिटाइजर प्रयोग गरी मात्र छुने।
५. खोक्दा वा हाछ्युँ गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने, उक्त सम्भव नभएमा कुहिनाले छोप्ने।
६. सार्वजनिक स्थलमा जथाभावी नथुक्ने।
७. सम्भव भएसम्म पैसाको कारोबार विद्युतीय माध्यमबाट गर्ने।
८. देहायका उच्च जोखिम समूहमा पर्ने व्यक्तिहरूले घरपरिवार बाहेक बाहिरका व्यक्तिहरू सहभागी हुने भेलाहरूमा सहभागी नहुने:
– ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएका व्यक्ति,
– ६० वर्षभन्दा बढी उमेरका व्यक्ति,
– १५ वर्ष मुनिका बालबालिका,
– गर्भवती तथा सुत्केरी महिला,
– रोग प्रतिरोधी क्षमता कम भएका व्यक्ति,
– कलेजो सम्बन्धी समस्या भएका, दम लगायत अन्य श्वासप्रश्वास सम्बन्धी दीर्घरोग भएका व्यक्ति,
– अंग प्रत्यारोपण गरेका व्यक्ति,
– शरीरमा मेडिकल उपकरण राखेका व्यक्ति,
– हालसालै सर्जरी गरेका व्यक्ति
– तत्काल (विगत १५ दिनभित्र) सबै प्रकारका रोगको उपचारबाट निको भएका व्यक्तिहरू लगायत।
swasthyakhabar.com