संखुवासभा । सरकारले राष्ट्रिय संरक्षित वन क्षेत्रको रुपमा घोषणा गरेको संखुवासभाको तिनजुरे मिल्के जलजले क्षेत्रमा लकडाउनको समय पारेर सयौ बढी संरक्षित चाँप लगायतका रुख काटिएको फेला परेको छ । वन तस्करसँग वनकै कर्मचारीको मिलोमतोमा ५० हजार क्युफिट बढी चाँप काटेको पाइएको हो ।
वन मन्त्रीसम्मको सेटिङ मिलाएर संरक्षित बन भित्र चाँपका सयौ रुख काटिएको आरोप छ । एकान्त क्षेत्रमा रहेको बन क्षेत्रमा तस्करले धमाधम बन मासे पछि प्रहरीमा उजुरी परेको थियो । प्रहरीले अनुगमन गर्ने क्रममा ७ सय क्युफिट बढी काठ जंगलमै बरामत गरे पछि वन कार्यालयलाई जिम्मा लगाएको थियो । प्रहरी स्रोतका अनुसार उजुरीका अधारमा स्थानीय राजनितीक कार्यकता शशी कुमार लिङथेप, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष रविन कुमार लो (कृष्ण) र नारायण कढुवालको सहितको टोलीले चाँप काटेर विक्री वितरण गरेको जनायो । आरोपितहरु हाल फरार रहेकाे प्रहरीकाे भनाइ छ ।
वन क्षेत्र सखापै बनाएको उजुरी दिए पनि डिभिजनल वन कार्यालय संखुवासभाले भने कुनै पनि प्रतिकृया नदिएको उनीहरुको आरोप छ । उल्टै आफुहरुलाई जानकारी नभएको बताएका छन् । उजुरी परे पछि अनुगमन हुदाँ क्रममा बन क्षेत्रमा सयौ बढी चाँप, अंगार र पात्ले ६ महिना देखि काटेको भेटेको तर अझै पनि दोषी उपर कारवाही हुन सकेको छैन भने कति रुख काटियो भनेर वन कार्यालयले यकिन समेत नगरेको हुदाँ वन कार्यालयकै मिलोमतो रहेको आशंका बढेको स्थानीयबासी पृथक कुमार पाठकले बताए ।
३२ प्रजातिको गुराँस पाइने त्यस तिनजुरे मिल्के जलजले क्षेत्रलाई गुराँसको राजधानी मानिएको छ । नेपाल सरकारद्धारा संरक्षित राष्ट्रिय वनको रुपमा संरक्षण शुरु गरे पनि तस्कर र वन कार्यालयकै कर्मचारीको मिलोमतोमा वन क्षेत्र सखाप बने पनि उपल्लो निकायले कुनै प्रतिकृया समेत नदिएको स्थानीयको आरोप छ ।
घना जंगल भित्र वनका कर्मचारीको मिलोमतो विना हाते मेसिनले प्रयोग गरी वन उजाड बनाउने आँट कसैले नगर्ने उनको आरोप छ । त्यस क्षेत्र हेर्ने मादि रेन्जपोष्टका इन्चार्ज सहायक वन अधिकृत पदम खड्का भने यस विषयमा सम्पर्कमै आउन चाहेनन् ।
लकडाउन मौका छोपेर काठ काटेको पाइएको छ । प्रहरी सहित पुगेका स्थानीयको टोलीले ७ सय क्युफिट बढी काठ जंगलमै बरामत गरी वन कार्यालयलाई बुझाएको र ५० हजार क्युफिट बढी काठ काटिएको हुनसक्ने अनुमान रहेको स्थानीय पृथक कुमार पाठकले बताए । पहिलो पटक ४ सय बढी क्युफिट काठ बरामत गरे पनि वन कार्यालयले ३ सय मात्र भनेको र सार्वजनिक गर्न नचाहेको पाठकको आरोप छ । यता गत असोज १ गते २७७ क्युफिट काठ वरामत गरेको छ । हाल त्यस क्षेत्रमा रहेको काठ समेत रातारात तस्करले अन्यत्रै लगेको स्थानीयको आरोप छ । त्यस पछि घटना बाहिरीने भए पछि आरोपितहरुले प्रमाण नष्ट रुखको ठुटा पुरेको, लुकाउन र प्रमाण नष्ट गर्न आगो लगाउने गरेको स्थानीयको अनुगमनमा भेटिएको थियो ।
संरक्षित क्षेत्र मध्ये मादि नगरपालिका २, ९ सिरानमा पर्ने मंगलबारे बजार देखि गुफासम्मको बन क्षेत्रमा कटान भएको मादी नगरपालिकाका मेयर विदुर लिंथेपले बताए । नासिने क्रममा रहेको चाँप आफ्नै बारीमा समेत काट्न नपाउने तर संरक्षित गरिएको जंगलको चाँप काटिनु दुखत भएको लिङथेपले भनाई छ । सयौ क्युफिटमा काठ निकालेर जंगल फडानी भएको सत्य हो वन क्षेत्र प्रदेश र संघको जिम्मेवारी भएकाले तत्काल अनुगमन गरी दोषीलाई कडा कारवाही गर्नु पर्ने उनले माग गरे । सम्बन्धित निकायको मिलोमतो विना जंगलमा पस्ने आँट कसैले नगर्ने र जसलाई वन संरक्षणको जिम्मा दिइएको हो त्यहीँबाट बदमासी भएको हुनसक्ने मेयर लिङथेपले बताए ।
करिव १० वर्ष अघि समेत संरक्षित वन भु–माफियाले सयौ हेक्टर जंगल व्यक्तिको नाममा दर्ता गरेका थिए । पछि मुद्दा परे पछि उक्त जंगल फिर्ता भएको थियो ।
www.nepalnews.com