काठमाडौं : आफ्नो ५४ औँ जन्मदिनको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एसिड आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले गत वर्ष भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा दुई युवाले एसिड हानेपछि अनुहार नराम्ररी जलेर घाइते मुस्कानको शिक्षामा खर्चका लागि उक्त सहयोग प्रदान गरेका छन्।
भट्टराईले आफूले संस्कृति मन्त्रालय सम्हाल्दा आउने एक महिनाको तलबबाट कर र लेबी कटाएर बचेको ५० हजार रुपैयाँ मुस्कानलाई आइतवार प्रदान गरेका हुन्। एसिड आक्रमणबाट गुज्रिएकी मुस्कानले आफ्नो आत्मबल बलियो बनाएर पुन: विद्यालय फर्किसकेकी छन्। उनी हाल कक्षा ९ मा अध्ययनरत छिन्।
'गत माघ महिनामा होटल हायातमा एक भव्य कार्यक्रममा मुस्कान खातुनसँग भेट हुन पुग्यो। केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि मैले थाहा पाएको थिएँ', योगेशले भनेका छन्, 'हायातको कार्यक्रममा उनको बुलन्द भाषणमा सहभागीहरुले तालीको गडगडाहावटले मुस्कानलाई उत्साहित बनायो । जब मञ्चमा मैले मुस्कानलाई सम्मान गर्ने मौका पाएँ, उहाँको उच्च शिक्षाका लागि आफ्नोतर्फबाट केही सहयोग गर्ने बचन दिएको थिएँ । आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु।'
मुस्कानलई यही भदौ १६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरमा बोलाएर भेटेका थिए। आफूलाई एसिड हान्ने युवाहरुको उमेर घटाउन प्रहरीले नै सघाएपछि अदालतले पुन:स्थापना गृहबाट दुवैजनालाई छाडिदिएको गुनासो मुस्कानले गरेकी थिइन्। मन्त्री भट्टराईले मुस्कानको डाक्टर बन्ने इच्छामा पनि आफूहरुले साथ दिने प्रतिवद्धता जनाएका छन्।
मन्त्री भट्टराईले यसअघि पनि आफ्नो जन्मदिनमा असहाय तथा गरिब परिवारका बालबालिकालाई सहयोग गर्दै आएका छन्। उनले केही बालबालिकालाई आफ्नो पहलमा नि:शुल्क पढाइरहेका छन्।
घटना के थियो?
मुस्कानमाथि एसिड प्रहार गरेका माजिद मियाँ र शमशाद मियाँलाई घटनाकै दिन प्रहरीले पक्राउ गरेको थियो। तर २० वर्ष पुगेका भनिएका उनीहरुको प्रहरीकै मिलेमतोमा उमेर घटाएर कम सजाय दिइएको गुनासो मुस्कानले गर्दै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय घटना अभियोजनका क्रममा माजिद मियाँलाई १९ वर्ष र शमशाद मियाँलाई १८ वर्ष तोकेर पठाएपछि उनीहरुलाई जेल नपठाइ सुधार गृहमा राखिएको थियो। नारायणी अस्पतालले प्रहरीलाई प्रमाणस्वरूप उपलब्ध गराएको मेडिकल रिपोर्ट अनुसार शमशाद आलमको उमेर १६ देखि १८ वर्ष र माजिदको १८ देखि २० वर्ष तोकिएको थियो।
मुस्कानमाथि २०७६ भदौ २० गते एसिड हानिएको थियो। माजिदले राखेको प्रेम प्रस्ताव नस्विकारेपछि उनका साथी शमशादले विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार गरेका थिए। एसिड लागेर मुस्कानको आधा अनुहार बिग्रिएको छ।
www.thahakhabar.com