नवराज घिमिरे
गुर्जो पछिल्लो समयमा अत्यन्तै चर्चामा रहेको वनस्पति हो । जडिबुटि एवम् गैरकाष्ठ वन पैदावार विकास नीति २०६१ ले पनि खेती र अनुसन्धानको लागि प्राथमिकतामा राखेको छ गुर्जोलाई । गुर्जो ‘मेनिस्परमासिया’ वनस्पति परिवार अन्तर्गत ‘टिनोस्पोरा’ वंशमा पर्ने प्रजाति हो ।
गुर्जोको वैज्ञानिक नाम ‘टिनोस्परा कोर्डिफोलिया’ हो । गुर्जोलाई संस्कृतमा अ्मृता भनिन्छ । यस नामको पछाडिको रहस्य भनेको गुर्जोले एक सयभन्दा बढी रोगलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निको पार्ने भएकाले गुर्जोलाई अमृत रुप मानि अमृता नाम रहन गएको पाइन्छ । हिन्दी भाषामा यसलाइ गिलोई भन्दछन् ।
गुर्जो उष्णतटीय क्षेत्रमा पाइन्छ । नेपाल लगायत चीन, भारत, म्यान्मार, मलेशिया, श्रीलंका आदि देशमा गुर्जो प्रशस्त मात्रामा पाइन्छ । नेपालको तराई क्षेत्रदेखि मध्यपहाडी क्षेत्रको लगभग १८०० मिटरसम्मको उचाइका वनजङ्गल र खेतबारीमा पाइन्छ ।
गुर्जोको पात लगभग पानको पात जस्तै हुन्छ । यो वनस्पति अन्य ठूला रुखमा बेरिएर बस्ने लहरे प्रकृतिको वर्षाको समयमा पहेंलो सुन्दर फूल फुल्ने गुर्जोको हिउँदमा रातो फल लाग्छ । गुर्जोको लहरा आँख्लासहित हुन्छ । पछि तिनै आँख्लाबाट नयाँ हाँगा पलाउने गर्दछ ।
बहिरपट्टि टिकटिक थोप्ला जस्तो चिन्ह हुने भएकाले यसलाई सजिलै पहिचान गर्न सकिन्छ । बाहिरको एकपत्र पातलो तह निकालेपछि भित्रपट्टि हरियो चिप्लो तह आउ“छ यो तह नै औषधिले भरिपूर्ण हुन्छ । त्योभन्दा भित्र कडा काठ जस्तो हुन्छ ।
गुर्जोमा औषधीय गुणले भरिपूर्ण टिनोस्पोरिन, कार्डिफोलाइड्स, पिक्र्राेटिन जस्ता रासायनिक तत्वहरु पाइन्छन् । गुर्जोको जुस सेवनबाट ज्वरो, रुघाखोकी, क्यान्सर, महिनावारी गडवडी, मानसिक समस्या लगायत धेरै रोगहरुलाई प्रत्यक्ष रुपमा निको पार्न सहयोग गर्दछ ।
गुर्जोले हाम्रो शरीरको प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ जसले गर्दा महामारीको रुपमा रहेको कोरोनासहित अन्य घातक रोगसँग लड्न सहज हुन्छ । त्यसैले गुर्जोको प्रयोग वैज्ञानिक र आयुर्वेदिक तरिकाले गर्न सके बिभिन्न रोगसँग लड्न सकिन्छ ।
कसरी खाने त गुर्जो ?
सबैभन्दा पहिले त हामीले राम्रोसँग गुर्जो चिन्न सक्नु पर्छ । लहरे र गाने गरी गुर्जो दुई प्रकारका हुन्छन् । हामी अहिले लहरे गुर्जोका बारेमा कुरा गर्छौ । लहरे गुर्जोको पहिचान गरि काटेर घरमा ल्याउने र पानीले राम्ररी धुनु पर्दछ ।
लगभग ३–४ सेन्टिमिटरका दरले लहरालाई टुक्रा पार्ने अनि ४ देखि ५ ओटा टुक्रा पानीमा राखि मज्जाले उमालेर सेलाउन छाडिदिने र मनतातो भएपछि छानेर खाने हो । एक वयस्क मानिसका लागि दिनमा २० देखि २५ (सबै डाँठसहित) ग्राम गुर्जो उपयुक्त मानिन्छ ।
एकैचोटि नभएर बिहान र बेलुका गरेर दिनमा मापनसहित खान सके राम्रो हुन्छ । पानीमा उमाल्दा पानी सुकाएर एक चौथाइ बनाउनु पर्छ । साना वालवालिकाले भने ४–५ ग्राम मात्र खानु राम्रो हुन्छ । ५ वर्ष मुनिकाले त सकेसम्म नखानु नै राम्रो हुन्छ ।
अहिले गुर्जोको सिजन छ । त्यसैले माथि उल्लेखित तरिकाले खान सकिन्छ तर हिउँदमा भने गुर्जो अलिक सुक्ने र कडा हुन्छ त्यसकारण हामीले गुर्जोको बीचको हरियो भागलाई कुटेर धुलो बनएर राख्न सक्छौ र जहिले पनि प्रयोग गर्न सकिन्छ । गुर्जोको धुलोको चिया पनि पकाएर खान सकिन्छ ।
गुर्जोको पात पनि प्रयोग गर्न सकिन्छ । घाउखटिरा, दाद आदि आउँदा गुर्जोको पात पिसेर लगाउँदा राम्रो गर्छ । हातखुट्टा पोल्ने, पैताला झमझमाउने आदि गर्दा पनि गुर्जोको पात पिसेर लगाउ“दा शितलता प्रदान गर्छ । गुर्जोले रगत सफा गर्ने कार्यमा पनि सहयोग गर्दछ ।
गुर्जोको जुस सेवनले डिप्रेसन लगायत मानसिक समस्या आदिका बिरामीलाई पनि सकरात्मक ऊर्जा प्रदान गर्दछ । गुर्जोले पिसाव पोल्ने समस्याबाट पनि छुट्कारा दिने कुरा आयुर्बेदिकहरुले बताउँछन् । जन्डिसका बिरामीले कालो मरिच र त्रिफलासँग मिसाएर गुर्जो खाँदा राम्रो हुन्छ । तितो हुने भएकाले मह, ज्वानो, जिरा आदि मिसाएर खान पनि सकिन्छ ।
गर्भवती र सुत्केरी महिलाले गुर्जो खानु हुँदैन । त्यस्तै भर्खर शल्यक्रिया गरेको बिरामीले पनि गुर्जो खान हुँदैन । नियमित कडा औषधि सेवन गर्नेले पनि खानु हुँदैन । कम रक्तचाप भएकाले पनि गुर्जो खानु हुँदैन । लगातार गुर्जो खान हुँदैन । समय समयमा रोक्दै खाँदा झन् राम्रो हुन्छ ।
हामी गुर्जोको लगभग ३० सेन्टिमिटर जति आँख्लासहित डाँठ ल्याएर घरमा ठूलो गमला वा बारीमा नै रोप्न सक्छौ । लहरे प्रजाति भएकाले गुर्जोलाई सपोर्ट पनि चाहिन्छ (थाङ्ग्रो जस्तै) ।
शहर बजारमा गुर्जोलाई मनिप्लान्ट जस्तो गरी पनि राख्न र हुर्काउन सकिन्छ ।
विज्ञसँग राम्रो बुझेर गुर्जोको सेवन गर्न सके हाम्रो स्वास्थ्य राम्रो हुन्छ । गुर्जोको व्यवसायिक खेती गरी वैज्ञानिक बिधिद्वारा प्रशोधन गर्न सके स्वास्थ्य साथसाथै राम्रो आर्थिक उपार्जन पनि गर्न सकिन्छ ।
गुर्जोको प्रयोग, फाइदा र व्यवसायिकताको बिषयमा आयुर्वेदिक, वैज्ञानिक र सरकारसहित सबै सम्बन्धित निकायले चासो बढाउन आवश्यक छ ।
(लेखक स्नातकोत्तर क्याम्पस, विराटनगर एमएसस्सी वनस्पति शास्त्र चैथो सेमेस्टरका विद्यार्थी हुन् ।)