काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले पार्टी प्रवक्ता नारायणकाजीसँग तीन वटा विषयमा जवाफ माग गरेका छन्।
प्रेस संगठन नेपालका इञ्चार्जसमेत रहेका गौतमले श्रेष्ठसँग व्यक्तिगत नभई पार्टीको प्रवक्ताका हिसाबले आफूले केही प्रश्न राखेको र तिनको उत्तर खाजेको उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत गौतमले नेकपाको अन्तरिम विधानमा भएको व्यवस्था, राजनीतिक प्रतिवेदनको निस्कर्ष र संविधानलाई आधार बनाएर प्रवक्ता श्रेष्ठसँग सार्वजनिक रुपमै जवाफ मागेका हुन्।
उनले फेसबुकमा यस्तो लेखेका छन् :
१ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संविधानको सर्वोच्चता, विधिको शासन ...आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्व छ। (अन्तरिम विधान २०७५ पेज ५ प्यारा दोस्रो)
२ विचार र कार्यक्रमका आधारमा ‘विधिको शासन, शक्तिको पृथकीकरण जस्ता विषयहरु यसका अभिन्न अंग हुनेछन्। (राजनीतिक प्रतिवेदन पेज २० (प्यारा दोस्रो)।
३ नेपालको संविधान भाग ७,धारा ७८ को (४) उपधारा १ मा जुनसुकै कुरा लेखिएको भए पनि तत्काल कायम गरेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्रिपरिषदमा नियुक्तिका लागि योग्य हुने छैन भनी प्रस्ट लेखिएको छ। त्यसकारण त्यस्तो व्यक्ति राष्ट्रियसभामा जान र मन्त्री बन्न मिल्छ कि मिल्दैन ? प्रवक्ताज्यू, पार्टीको धारणा प्रस्ट पारिदिन माग गर्दछु।