अमेरिकाको पोर्टल्याण्डमा हिंसात्मक प्रदर्शनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आगामी नोभेम्बरमा हुने निर्वाचनमा उनका प्रतिस्पर्धी जो बाइडनबीच आरोप प्रत्यारोप चलेको छ ।
ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याट मेयर टेड विलरमाथि ‘सहरमा मृत्यु र विध्वंशको बाटो खोलेको’ आरोप लगाएका छन् ।
बाइडनले भने राष्ट्रपति ट्रम्पले ‘गैरजिम्मेवार तरिकाले हिंसा उकासेको र अमेरिकामा घृणा र विभाजनको आगो फुकेको’ आरोप लगाएका छन् ।
शनिवार ट्रम्प समर्थक र ब्ल्याक लाइभ्स म्याटर अभियानका सहभागीबीच भएको हिंसात्मक प्रदर्शनमा एक श्वेत प्रदर्शनकारी मारिएका थिए ।
अफ्रिकी–अमेरिकी जोर्ज फ्लोईडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि पोर्टल्याण्ड प्रहरी हिंसा र रङ्गभेदविरोधी प्रदर्शन भइरहेका छन् । पछिल्ला ३ महिनादेखि सो स्थानमा प्रदर्शन जारी छ ।
गत २५ मेमा मिनिसोटा राज्यको मिनिअपोलिसमा प्रहरी नियन्त्रणमा फ्लोइड मारिएका थिए ।
आइतवार चरणबद्ध ट्वीटहरू गर्दै ट्रम्पले ‘मूर्ख मेयरसँग पोर्टल्याण्डले कहिल्यै पुरानो स्वरूप नपाउने’ टिप्पणी गर्दै त्यहाँ सङ्घीय बलका जवानहरू पठाउनु पर्ने सोचिरहेको बताएका थिए ।
उनले बाइडनमाथि नेतृत्व गर्न र अपराधविरुद्ध बोल्न नचाएको आरोप समेत लगाएका छन् ।
जबाफमा एउटा विज्ञप्तिमार्फत् बाइडनले भनेका छन्, ‘ट्रम्पलाई कानुनीराजबारे ट्वीट गरेर आफूलाई बलियो देखाउन सकिन्छ भन्ने लाग्दो हो । तर आफ्ना समर्थकलाई द्वन्द्व रोक्न आह्वान गर्न नसक्नुले उनी कति कमजोर छन् भन्ने देखाउँछ ।’
पत्रकार सम्मेलनमा मेयर टेड विलरले समेत राष्ट्रपति ट्रम्पलाई आधुनिक इतिहासकै अमेरिकालाई सबैभन्दा बढी विभाजन गर्न खोज्ने व्यक्ति भएको आरोप लगाएका छन् ।
www.shilapatra.com