काठमाडौं : संखुवासभाको चैनपुर नगरपालिका-६ मा प्राकृतिक सुन्दरताले सजिएको छ डाँगी गाउँ। जहाँबाट मकालु हिमाल देख्न सकिन्छ। सोही ठाउँमा अहिले हिमालसँगै जो कोहीले देख्न सक्छन् अर्को–दाजुभाइ बाख्रा फार्म। चैनपुरका सबिन डाँगीले एक वर्षदेखि बाख्रा फार्म सञ्चालन गरेका छन्। जो अनेरास्ववियू जिल्ला कमिटी काठमाडौंका कार्यालय सदस्यसमेत हुन्। ३० वर्षीय उनी अहिले राजनीतिसँगै कृषि,पशुपालन व्यवसायमा लागेका छन्। आफ्नै एक रोपनी जग्गामा फार्म बनाएर अहिले बाख्रा पाल्दै आएका छन्।उनको अत्याधुनिक किसिमको खोर,दाना खाने ठाउँ गरी तीन वटा उनको विल्डिङ छन्। कुकुर राख्ने ठाउँसमेत बनाएका छन्। ती संरचना देख्दा सबै आकर्षित हुन्छन्।

गाउँका धेरै युवा खाडी मुलुकको चर्को घाममा पसिना बगाउन जान्छन्। तर, उनी नेपालमै सम्भावना देख्छन्। त्यसो त बाख्रापालन व्यवसाय सुरु गरेका छन्। उनी व्यावसायिक कृषि, पशुपालनबाट राज्यलाई इटा थप्न चाहन्छन्। उनी भन्छन्,‘अहिले गाउँघरकै धेरैजसो युवा विदेशिन चाहन्छन्। यहाँ पनि केही न केही गरियो भने विदेशमा जस्तै यहाँ पनि फल पाइन्छ।’ व्यावसायिक बाख्रापालन गर्नुको उनको दुईवटा उद्देश्य छ, पहिलो हो पढेर जागिर खाने अवधारणा परिवर्तन गर्न अर्को २०/३० हजार कमाउन विदेश जानु नपरोस्। कृषिमा फाइदा हुँदैन भन्ने परम्परालाई उनी तोड्न चाहान्छन। अहिले जताततै कोरोना त्रास छ। विभिन्न जिल्लामा निषेधाज्ञ छ। तर, उनलाई यसले छोएको छैन। उनको व्यवसायमा कुनै प्रभाव छैन। निर्धक्क भन्छन्,‘हाम्रोमा खासै कोरोनाको त्रास छैन। लकडाउनको प्रभाव छैन। अहिले पनि काममै व्यस्त छु।’

गत मंसिरबाट फार्म सञ्चालन गरेका उनको गोठमा अहिले ४५ वटा लोकल बाख्रा छन्। २० लाख लगानीमा खोलेको फर्ममा बोयरलगायत विस्तारै विभिन्न थरीका बाख्रा पाल्ने उनको सोच छ। उनी भन्छन्,‘यो सबै मेरो परिवारकै लगानी छ। मलाई धेरै सहयोग गर्ने मेरो भाइ छ।’ बाख्रापालनबाट धेरै सन्तुष्टि मिलेको उनी बताउँछन्। अहिले दुई जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन्।
२५ रोपनी जग्गामा घाँस खेती
उनले बाख्रालाई पोसिलो र हरियो घाँस खुवाउन करिब २५ रोपनी जग्गामा विभिन्न थरीका घाँस रोपेका छन्। अहिले हरियाली देखिएको छ। उनका अनुसार मेन्दोला,भटमासे,मुलाटो,नेपियर,ल्याबलगायत विभिन्न थरीका घाँस रोपेका छन्। ‘बाख्रा पालेर मात्रै हुँदैन,’उनले भने,‘पोसिलो घाँस पनि दिन सक्नुपर्छ। धेरै थरीको घाँस रोपिसकेको छु। अहिले हुर्किएर हरियाली बनेको छ।’

यसरी सुरु भयो राजनीति
सविन बाल्यकालमा भाषण सुन्ने र स्टेचमा गएर बोल्न मन पराउँथे। उनी परिवारभित्रको राजनीतिक पृष्ठभूमिमै हुर्किए। एकपटक बाल्यकाललाई सम्झिन्छन्,‘सानो छँदा मेरो काकाहरूले माइकिङ गर्दा म जिन्दावाद भन्दै हिँड्थे। गोठालो जाँदा पनि एक्लै भाषण गर्ने अभ्यास गर्थे। त्यसैमा आनन्द आउँथ्यो। पारिवारिक माहोल नै राजनीतिक भएपछि यसैमा मेरो आकर्षण बढ्यो।’
उनी गाउँमा १० जोड २ सकाएर २०६४ साल मंसिरमा स्नातक तह अध्ययनको लागि काठमाडौं छिरेका थिए। त्यसपछि बानेश्वर क्याम्पसमा शिक्षा संकायमा भर्ना भए। पढ्दै गर्दा विद्यार्थी संगठनमा आबद्ध भए। गाउँमा भन्दा पनि झनै उनको राजनीतिक क्षेत्रमा क्रियाशिलता बढ्यो। महेन्द्ररत्न क्याम्पस ताहाचलबाट माष्टर गर्दै गर्दा झनै बढी राजनीतिक क्षेत्रमा लागे।
अखिलको केन्द्रीय सदस्यमा उपत्यकाबाट उठ्दा एक भोटले उनी हारे। पछि २०७६ साउनमा गाउँ फर्किएपछि बाख्रापालन व्यवसाय थाले। काठमाडौंमा उनको रुद्राक्षको व्यवसाय छ। दाजुभाइ पालैपालो गरेर ती व्यवसायलाई हेर्छन्। ‘१५ वर्ष जति भएछ राजनीति क्षेत्रमा बिताइसकेको,’उनले भने,‘विद्यार्थी आन्दोलनमा सन्तुष्ट नै छु। पूर्णरूपमा काठमाडौं छोडेको छैन।’
राजनीति गर्दा नेतामा धेरै गुण हुनुपर्ने उनको अनुभव छ। ‘नेता हुनलाई एक दुई वटा कुरा जानेर हुँदैन रहेछ,’राजनीतिलाई कोट्याउँछन्,‘राजनीति गर्न,नेता बन्नलाई ५० औँ गुण चाहिँदो रहेछ। त्यो मैले अनुभव गरेको छु। सफल किसान बन्नलाई भने चार वटा जति कुराले सफल भइन्छ।’
अबको उनको योजना
अब बाख्रा फर्ममा दुई सयवटा बाख्रा पाल्ने उनको लक्ष्य छ। त्यसैले अहिलेसम्म कुनै बाख्रा बेचेका छैनन्। उनले भने,‘भर्खरै सुरुवात गरेकोले फाइदा खोज्न मिल्दैन। अहिलै बेच्यो भने दुई लाखको त हुन्छ। तर, बेच्दिनँ। अझै समय भएको छैन।’ राजनीति गर्ने अझै उनको सोच भएको बताउँछन्। भन्छन,‘मेरो अन्तिम लक्ष्य भनेको नेता नै बन्ने हो। तर, म कृषि र पशुपालन माध्यमबाट नेतृत्व गर्ने सोचमा छु।’ पहिला आफू आर्थिक,सामाजिक रूपले सवल हुने र अरूलाई पनि सबल बनाउँदै जाने सोच बनाएको उनले सुनाए। अन्तिममा उनी चाहन्छन्,‘पढेपछि सबै युवा नेपालमै रोजगारी पाऊन्। व्यवसाय सञ्चालन गरून्। नपढ्नेले पनि मन लगाएर नेपालमै केही न केही गर्नुपर्छ भन्ने सोच जागोस्।’

तस्बिर : सबै सबिन डाँगी
www.thahakhabar.com