इटहरी । भारतमा बसेर नेपालमा हतियार तथा लागुऔषधको कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले भारत बिहारका ‘बग्गा’ भनिने ३९ वर्षीय प्रदीप यादवलाई शनिबार पक्राउ गरेको हो। विराटनगर महानगरपालिका-१६ दरैया नाकामा नियन्त्रित लागुऔषधसहित यादवलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।
यादवको साथबाट १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाट्रोसन र ५१ चक्कली नाइट्राभेट बरामद भएको खड्काले बताए। प्रहरीका अनुसार यादव भारतमा बसेर नेपालमा आपराधिक गतिविधि गर्छन्।
प्रहरीका अनुसार उनीविरूद्ध नेपालमा हातहतियार, खरखजना तथा लागुऔषध मुद्दा विचाराधीन छ। विशेषगरी १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामा अवैध रुपमा हातहतियार र लागूऔषधको कारोबारको सञ्जाल विस्तारमा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ।
‘उनी नेपालमा आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइके रहेको खुल्न आएको छ,’ खड्काले भने। उनका अनुसार यादवले २०७५ मंसिर ३ गते उदयपुर उदयपुरगढी गाँउपालिका-१९ का मन्दिप तामाङलाई 'मेड इन युएसए' लेखेको अटोमेटिक पेस्तोल पठाएका थिए।
सोको चार थान गोलीसहित यादवले सुनसरी इटहरी उपमहानगरपालिका-१२ खनारका ३५ वर्षीय सुशीलकुमार साहुमार्फत पठाएको अनुसन्धानमा खुलेको छ। सो क्रममा मन्दीप र सुशीललाई विराटनगर महानगरपालिका-१६ स्थित विराटनगर हुलास मेटल चोकबाट प्रहरीले पक्राउ गरेको थियो।
सो घटनाको अनुसन्धान गर्दा उक्त हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाइके यादव रहेको खुलेको थापाले बताए। यस्तै, २०७५ मंसिर ८ गते यादवले विराटनगर महानगरपालिका-१६ का २२ वर्षीय विद्यानन्द मण्डल र २० वर्षीय अनुप गिरीलाई लागुऔषध र कटुवा पेस्तोल दिएर पठाएका थिए।
सुनसरी धरान उपमहानगरपालिका घर भई ललितपुर महानगरपालिका-४ एकान्तकुनामा डेरा गरी बस्ने ४१ वर्षीय रुपम राईले पाउने गरी सो लागुऔषध र पेस्तोल यादवले पठाएका थिए।
मण्डल र गिरीलाई ३ सय ८० एम्पुल विभिन्न नियन्त्रित लागूऔषध, १ सय ५ ग्राम, १ सय १० मिलीग्राम ब्राउन सुगर, कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेपछि अनुसन्धान थालिएको थियो।
अनुसन्धानमा सो पेस्तोल र लागुऔषध यादवले नै पठाएको खुलेको थियो। यादवलाई अदालतबाट हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।