काठमाडौं । राजधानीको बालाजुस्थित माछापोखरीबाट प्रहरीले बरामद गरेको दुई पेस्तोल सर्लाही र महोत्तरीको सिमानाको बाँके जंगलमा ‘बस डकैती’ मा प्रयोग भएको पाइएको छ ।
महानगरीय अपराध महाशाखाले बुधवार दुई पेस्तोलसहित माछापोखरीबाट नुवाकोटका बिकेश पण्डित र नुवाकोटबाट अमर तामाङलाई पक्राउ गरेको थियो । अमरको बयानको आधारमा धनुषाका ३० वर्षीय शम्भु कार्कीलाई पनि महाशाखाले पक्राउ गरेर काठमाडौंँ ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा शम्भुलाई शुक्रवार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।
माछापोखरीबाट बरामद दुई पेस्तोल, म्यागजिन र १० राउण्ड गोली ०७० मा बाँके जंगलमा भएको ‘बस डकैती’ मा प्रयोग भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ९ जनाको समूहले बस डकैती गरेका थिए ।
बस डकैती गरेपछि पक्राउ परेको सो समूह जेल बसेर निस्केपछि फेरि आपराधिक काममा सक्रिय भएका हुन् । जिल्ला अदालत महोत्तरीको फैसला अनुसार शम्भु कार्की र अमर तामाङ ‘बस डकैती’ मुद्धामा ६ वर्ष २ महिना जेल बसेर ०७६ फागुनमा रिहा भएका थिए ।
अमरले सो पेस्तोल सँगै कारागार बसेका धनुषाका शम्भु कार्कीको भएको बताएपछि प्रहरीले शम्भुलाई पक्रेको हो । शम्भुले सो पेस्तोल ‘बस डकैती’मा प्रयोग गरिएको प्रहरीलाई बताएका छन् ।
शम्भु र अमर भन्दा अघि जेलबाट छुटेका लुटेरा समूहका राजकुमार गुरुङसहित तीनजना लागु औषध मुद्धामा पुनः पक्राउ परे । उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट क्राउ गरेको थियो ।
धादिङ खाल्टेका गुरुङ अहिले डिल्लीबजार कारागारमा छन् । राजकुमारले नै सो पेस्तोल बालाजुका एक होटल संचालकलाई राख्न दिएका थिए ।
बिकेश पण्डितले होटल संचालकसँग सो पेस्तोल मागेपछि प्रहरीले हतियार कारोबारको सुराक पाएको थियो । सुराकको आधारमा महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटी नेतृत्वको टोलीले हतियार बरामद गरेको थियो ।
ठुलो दुर्घटना टर्यो
हतियार सहित पक्राउ परेका समूहले दशैंको बेला सो पेस्तोल प्रयोग गरेर ‘लुटपाट’ गर्ने योजना बनाएका थिए ।
महाशाखाको अप्रेशनपछि अर्को ठुलो अपराधा योजना विफल भएको छ । ‘दशैंको समयमा यो समूहले केही गर्ने योजना बनाएको खुलेको छ’ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापा भन्छन्–‘अब सो योजना चाहिँ टरेको छ ।’
पेस्तोल र गोलीसहित पेस्तोल परेको समूहमाथि प्रहरीले ‘हात हतियार तथा खरखाजना मुद्धा’मा अनुसन्धान गरिरहेको छ ।
www.ratopati.com