बाँके : भारतमा कोरोना संक्रमण फैलिएपछि त्यहाँ रहेका लाखौं नेपाली स्वदेश फर्कन थाले। तर, कोरोना महामारी रोक्न नेपालको सीमामा पनि कडा सुरक्षाव्यवस्था अपनाइयो। भारतका विभिन्न शहरबाट अनेक सकस भोगेर भोकभोकै हिँड्दै र सीमित गाडीमा खचाखच भरिएर बल्लतल्ल सीमामा आइपुगेका नेपाली देश छिर्न नपाएपछि त्यहीँ अलपत्र पर्न थाले। भारतसँग जोडिएका बाँकेका सीमा नाकामा पनि यस्तै भयो। बल्लतल्ल सरकारले सीमामा अलपत्र परेकालाई उद्धार गर्ने भयो। तर, संक्रमण तीव्र फैलिएको भारतबाट आएकालाई उद्धार गर्ने गाडी चलाउन चालक नै भेटिएनन्। छोटीराम थारू पनि भारतबाटै फर्किएका थिए। पराया भूमिबाट अनेक हण्डर खाँदै देश फिरेका उनलाई सीमामा अलपत्र परेका नेपालीको दु:ख आफैँले भोगिरहेजस्तो लाग्यो। सीमामा देश फर्कने आशामा बसेकाहरूलाई बोक्ने सवारीसाधन चलाउन कोही नमानेपछि उनी आफैं अघि सरे। भारततर्फ अलपत्र परेका नेपालीलाई सीमा नाकासम्म पुगेर गाडीमा हाले। अनि, स्थानीय प्रशासनले तोकेको गन्तव्यसम्म पुर्याउन थाले। परिवारको गर्जो टार्न सीमापारी पुगेकाहरूको सपना पनि छोटीरामको जस्तै छरितो हो। सोनापुरका छोटीरामसँग पनि त्यस्तो महत्वाकांक्षी सपना छैन। त्यसैले त सोनापुरका छोटीराम सीमामा अलपत्र परेका नेपालीका लागि सुनजस्तै महत्वपूर्ण मानिस भइदिए। नाम छोटीराम भएपनि उनले मानवकल्याणका लागि लामो समयसम्म सीमा नाकामा काम गरिरहे। ज्यानको बाजी लगाएर अरुको उद्धार उनले २ ज्येष्ठ, २०७७ देखि सीमामा अलपत्र परेकालाई गाडीमार्फत ओसार्न थाले। रातदिन नभनी बाँकेका विभिन्न नाकामा आएका आफ्ना वडाबासीलाई गाडीमा लिएर आउँथे। उनले गाडी चलाउन सुरु गर्नुभन्दा पहिले नै भारतबाट आएका दुई जनामा कोरोना पुष्टि भइसकेको थियो। ती दुवै जना उनकै वडाका थिए। ‘भारतबाट आएका व्यक्तिमा कोरोना देखिएपछि वडा कार्यालयले मान्छे ओसार्न भाडामा लिएको गाडी चलाउन कसैले मानेनन्, सीमा पुगेका नेपाली दाजुभाई अलपत्र परेको खबर सुनेपछि ज्यान दाउमा लगाएर गाडी चलाउने निधो गरेँ,’ उनले भने। उनी भारतबाट आएर सीमानाकामा अलपत्र परेकालाई गाडीमा हालेर वडामा निर्माण गरिएको क्वारेन्टाइनमा ल्याउँथे। र, फेरि सीमानाका तिर गाडी कुदाउँथे। यो क्रम २० ज्येष्ठको विहानसम्म चल्यो। त्यो भन्दा पहिले नै उनले ल्याएका धेरैमा कोरोना पुष्टि भइसकेको थियो। आफैँले गाडीमा ल्याएकाहरुमा कोरोना पुष्टि भएपछि उनले पनि कोरोना जाँचका लागि स्वाब दिए। आफैँ संक्रमित २० ज्येष्ठ, २०७७ को साँझ अरुको झैँ उनको कोरोना रिपोर्ट पनि पोजेटिभ आयो। तर, उनले थाहा पाउनुभन्दा पहिले नै पूरै वडामा हल्ला फैलिसकेको थियो। ‘फत्तेपुरको गाडी चलाउने ड्राइभरलाई कोरोना लाग्यो भन्ने हल्ला मैले थाहा पाउनुभन्दा पहिले नै फैलिसकेको थियो,’ छोटीरामले भने। पोजेटिभ रिपोर्ट आएपछि उनको मुटुमा ढ्याङ्ग्रो बज्यो। चिन्ताले च्याप्यो। मन भारी भयो। कसैसँग बोल्न मन लागेन। भोक-प्यास सबै हरायो। सधैँ हाँसिरहने छोटीरामको अनुहार मलिन भयो। उनी एकान्तमा टोलाएर बस्न थाले। न बोल्न मन लाग्थ्यो, न त खाना खाने रुची हुन्थ्यो। उनी भन्छन्, ‘एकान्तमा बस्न मलाई मजा लाग्थ्यो। कसैले कुरा गर्न खोज्यो भने रिस उठेर आउँथ्यो।’ भारतबाट आएकालाई ल्याउने बेला उनले सावधानी नअपनाएका होइनन्। माक्स लगाउँथे, बेला–बेला हातमा सेनिटाइजर लगाउँथे। साबुन पानीले हात धुन्थे। होसियारी अपनाउँदै सामाजिक दूरी कायम राख्ने प्रयास गर्थे। तै पनि उनी अछुतो रहन सकेनन्। फोक्साको अप्रेसन, तर कुनै संकेत देखिएन कोरोना पुष्टि हुनुभन्दा पहिले उनमा कुनै लक्षण र संकेत देखिएको थिएन। सामान्य रुघाखोकी लागेको थियो। घाँटी खसखस भएको अनुभूती उनले गरेका थिए। ‘कोरोनाको लक्षण केहि देखिएन, एक रात हल्का ज्वरो आएको थियो,’ उनले आफ्नो अनुभव सुनाए। कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयले उनलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा निर्माण गरिएको आइसोलेसनमा राख्यो। उनी उक्त आइसोलेसनमा दुई दिन बसे। त्यहाँ बस्दा उनलाई कोरोना लागेको भन्ने अनुभूति नै भएन। घर भन्दा दुईसय मिटर दूरीमा आइसोलेसन भएकोले उनले परिवारका सदस्यलाई पनि बेला–बेला भेट्न पाएका थिए। नजिकबाट कुरा गर्न नपाए पनि टाढाबाट कुरा गर्न र अनुहार हेर्न पाउँदा उनलाई आइसोलेसनमा बसेको जस्तो लागेको थिएन। आइसोलेसनबाट दुई दिनमै सारिए तर, वडाअध्यक्ष रामलखन थारुले दुई दिनपछि योजना फेरे। छोटीराममा फोक्सोको समस्या भएकोले वडाअध्यक्ष डराए। जुनसुकै बेला समस्या आउनसक्ने भन्दै उनले छोटीरामलाई खजुरास्थित कोरोना विशेष अस्पतालमा लैजाने निर्णय गरे। घर नजिकैको आइसोलेसनबाट छोटीराम खजुरा सारिए। ‘मेरो फोक्सोको अप्रेसन भएकोले वडाअध्यक्ष डराउनु भयो, समस्या आउन सक्ने भन्दै खजुरा पठाउने निर्णय गर्नुभयो। मैले पनि उहाँको निर्णय काट्न सकिनँ। खजुराको आइसोलेसनमा १५ दिन बसेँ,’ उनले भने। एक महिनासम्म छिमेकी भागे खजुरास्थित कोरोना विशेष अस्पतालमा १५ दिन बसेपछि उनी निको भएर घर फर्किए। आइसोलेसनबाट फर्किएपछि एक हप्तासम्म उनी होम आइसोलेसनमा बसे। घरमा बस्दा उनले आफूले खाएको भाँडा, लगाएको लुगा आफैँ धुन्थे। शौचालय प्रयोग गरिसकेपछि आफैँ सफा गर्थे। निको भएर आएपछि पनि गाउँघरका छिमेकीले उनलाई अर्कै नजरले हेर्न थाले। एक हप्तासम्म घरमा कोही आएनन्। उनीमात्र होइन, उनको परिवारका सदस्यलाई देख्दासमेत तर्केर हिँड्थे। 'हाम्रो नजिक आउँदैनथे, यताउता जाँदा पनि हामीलाई अलग्याएको जस्तो गर्थे,’ छोटीरामकी पत्नी सुमिताले भनिन्, ‘एक महिनासम्म बालबच्चालाई छुन दिएनन्। समय बित्दै गएपछि छिमेकीहरू आफैँ घरमा आउन थाले।’ आइसोलेसनबाट फर्किएपछि धान रोपाइँ आइसोलेसनबाट आएपछि पनि उनले एक महिनासम्म बेसार हालेर उमालेको तातो पानी खाए। उनी आइसोलेसनबाट घरमा फर्किदा धान रोपाइँ सुरु भइसकेको थियो। उनी पनि आउने बित्तिकै रोपाइँमा खटिए। रोपाइँका लागि खेत तयार बनाउन ट्याक्टर चलाए। ब्याडबाट धानका बेर्ना उखेले। खेतको आली र कान्ला खने। खेत सम्याए। धानको बेर्नाका मुठा बोकेर रोपाहारलाई सहयोग गरे। ‘आइसोलेसनबाट आएपछि दुई विगाहा खेतमा धान रोपेँ,’ उनले भने, ‘खेतमा काम गर्न असहज महसुस कहिलै भएन।’ प्लाज्मा दिन इच्छुक मनका धनी छोटीरामले कोरोना संक्रमितको ज्यान जोगाउन आफू प्लाज्मा दिन तयार रहेको बताएका छन्। कसैलाई प्लाज्मा आवश्यक परेको खण्डमा प्लाज्मा दिन पछि नपर्ने उनको भनाई छ। ‘प्लाज्माले कसैको ज्यान जोगिन्छ भने म दिन तयार छु। प्लाज्मा दिएर ज्यान जोगाउन सकियो भने म आफूलाई भाग्यमानी ठान्ने छु,’ छोटीरामले भने। उनले निको भएका संक्रमितको प्लाज्मा अर्को संक्रमितलाई दिँदा ज्यान जोगिने कुरा सुनेपनि दिने प्रक्रियाबारे जानकारी नभएको बताएका छन्। ‘कहिले र कसरी दिनुपर्छ मलाई जानकारी गराउनु पर्यो। म जतिसुकै बेला पनि प्लाज्मा दिन तयार छु,’ उनले भने। पत्नीले ढाडसले आत्मबल बढ्योकोरोना पोजेटिभ रिपोर्ट आएपछि उनको बोली फुट्न छोड्यो। कसैसँग नबोलेर बसेको देखेपछि उनकी पत्नी सुमिताले आत्मबल बढाउने काम गरिन्। कोरोना लागेपनि लक्षण देखिएको छैन। केहि हुँदैन भनेर खुबै सम्झाइन्, बुझाइन्। ‘डर नमान्नु, चिन्ता नलिनु भनेर खुबै सम्झाएँ। चुपचाप एक्लै बसेको देखेपछि सान्त्वना र ढाडस दिन्थेँ,’ उनले भनिन्। कोरोना लागेको भन्दा बढ्ता चिन्ता उनलाई पति चुपचाप बसेको र चिन्ता मानेको देख्दा पीर लागेको थियो। ‘किन चुपचाप बस्नु हुन्छ? बोल्नुस्, कुरा गर्नुस् भनेर सम्झाउँथे,’ उनले भनिन्, ‘मलाई त उहाँलाई कोरोना लागेको भन्दा चिन्ता मानेको देख्दा बढ्दा मन दुख्थ्यो।’ 'पत्नीको कुरा सुनेर मेरो आत्मबल बढ्थ्यो।' बारम्बार फोन गरेर पत्नीले आत्मबल बढाउने काम गरेको उनले सुनाए। ‘उनको ढाडस र मेरो आत्मबलले कोरोनालाई परास्त गर्न सफल भएँ,’ छोटीरामले भने, ‘कोरोनालाई जित्न परिवारका सदस्य, छिमेकी, साथीभाई र इष्टमित्रको सहयोग, हौसला तथा प्रेरणा आवश्यक छ।’
www.thahakhabar.com