टोखा नगरपालिका–१०, गोंगबु नवज्योतिमार्गमा किरण बस्नेतको चारतले घर । सेतो र फिक्का नीलो रङले सजाएको, तलैपिच्छे बार्दली । उनी कहिले नेपाल कहिले अमेरिका बस्छन् ।
घरमा भाडामा बस्नेहरूको उनलाई खासै मतलब छैन् । घरको माथिल्लो तलामा बस्ने बस्नेतको त्यही घर अहिले चर्चामा छ । जहाँ दाङका कृष्णबहादुर बोहोराको वीभत्स हत्या भयो ।
हत्या चितवनकाे कालिका नगरपालिका–७ की कल्पना मुडभरी पौडेलले गरेकी थिइन् । उनी बस्नेतकै घरको तेस्रो तलाको फ्ल्याट भाडामा लिएर बसेकी थिइन् ।
यसरी जोडिएका थिए कृष्ण र कल्पना
चितवनकी कल्पना र दाङका कृष्णबहादुरको विगत करिब–करिब मिल्लोजुल्दो छ । कल्पनाका श्रीमान् २ वर्षअघिदेखि नै उनको सम्पर्कबाहिर छन् ।
उनले कतै अर्कै बिहे गरेर बसेको अनुमान कल्पनाको छ । उनी नवज्योतिमार्गस्थित किरणको घरमा भाडामा बस्दै आएकी छन् । उनीसँगै १५ वर्षीया छोरी र १३ वर्षका छोरा पनि बस्छन् ।
मृतक कृष्णबहादुर बोहोराको विगत पनि उस्तै छ । उनले यसअघि नै बहुविवाह (दुई विवाह) गरिसकेका छन् । दुवै श्रीमती उनको सम्पर्कमा छैनन् ।
जेठी श्रीमती दाङ र कान्छी श्रीमती छोराछोरीसहित भारतमा बस्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसबीचमा उनी रोजगारीका लागि दुबई, अफगानिस्तान, इराक पनि पुगे ।
विदेशमा बस्न नसकेपछि २ वर्षअघि उनी नेपाल फर्किएको प्रहरीले जनाएको छ । विदेशबाट फर्किएपछि भने उनी काठमाडौंका विभिन्न ठाउँमा बस्दै आएका थिए ।
पछिल्लो समय बोहोरा कल्पना बसेको घरनजिकैको एक होटलमा बस्दै आएका थिए । त्यहाँ बस्न थालेको करिब ८ महिना भएको प्रहरीले जनाएको छ । यसरी विगतको पृष्ठभूमि एउटै भएका कल्पना र कृष्णको सम्पर्क हुने माध्यम बन्यो, फेसबुक ।
फेसबुकबाट नै आफूहरूको चिनजान भएको र करिब २ वर्षदेखि नियमित सम्पर्कमा रहेको बयान कल्पनाले प्रहरीलाई दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
उनीहरूबीच फेसबुकबाट भएको चिनजान माया प्रेममा पुगेको र मृतक बोहोरा सधैँजसो उनकै कोठामा जाने र बस्ने गरेका थिए । उनीहरूबीच अन्तरंग सम्बन्धसमेत हुँदै आएको थियो ।
यसरी गरिन् हत्या
सधैँजसो कल्पनाको कोठामै बस्न जाने कृष्णबहादुर शनिबार पनि उनकै कोठामा पुगे । शनिबारसाँझ उनी कल्पनाको कोठा जाँदा दही, रक्सी र चिप्ससमेत आफैँले लिएर गएका थिए ।
कल्पनासँँगै उनले शनिबार रक्सी, मासु र चिउरा खाए । कल्पनालाई पछिल्लो समय कृष्णबहादुरको बानी मन पर्न छाडिसकेको थियो । उनले नक्कली फेसबुक आईडी खोलेर कल्पनालाई दुःख दिन थालेका थिए ।
उनीसँगको नग्न तस्वीर कृष्णसँग थियो । आफू अनुकूल नचले सार्वजनिक गर्ने भन्दै धम्क्याउन थालेका थिए । कति तस्वीर त सार्वजनिक नै गरेको प्रहरीले जनाएको छ ।
त्यही कारण कल्पनाले कृष्णको हत्या गर्ने योजना बुनिन् । शनिबार उनले ल्याएको रक्सीमा निद्राको औषधि मिसाइदिइन् । रक्सीसँगै निद्राको औषधिले लट्ठिएका कृष्ण कल्पनाकै बेडमा सुते ।
त्यही मौकामा कृष्णको अण्डाकोषमा फलामको मारतोलले प्रहार गरिन् र उनी झस्किएर उठ्न खोजे । आफूले ओढेको सलले फेरि घाँटी थिचेर हत्या गरिन् ।
त्यसपछि शवलाई आफ्नो बाथरुममा लगेर टाउको र खुट्टा एकातिर र शरीर अर्कोतिर हुने गरी काटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कल्पना सुत्ने कोठामै एट्याच्ड बाथरुम भएका कारण हत्या हुँदा उनका छोरा र छोरीले चाल नै पाएनन् ।
शव व्यवस्थापन गर्न छोरीको प्रयोग
शनिबार करिब साढे ९ बजे नै कृष्णबहादुरको हत्या गरेकी कल्पनालाई सकेसम्म हत्याबारे आफ्ना छोराछोरी कसैले पनि चाल नपाउन् भन्ने थियो ।
त्यही योजनाअनुसार आफ्नो बेडरुममा हत्या गरेका कृष्णको टाउको र खुट्टा उनले आफ्नै कोठाभित्रको जेब्रा झोलामा राखेर बाहिर फाल्न गइन् ।
बाहिर पानी झमझम परिरहेको थियो । उनले मृतकको टाउको र खुट्टा फालेको कसैले चाल पाएनन् । शरीर पनि आफैँले फाल्न खोजिन् । तर, शरीर बोकेर फाल्न नसकेपछि आफ्नी १५ वर्षीया छोरीको सहयोग मागिन् ।
त्यो बेला छोरा र छोरी दुवै जना अर्को कोठामा टीभी हेरेर बसेका थिए । आमाले सुटकेश बोक्न बोलाएपछि आमाको रुममा गएको कल्पनाकी छोरीले प्रहरीलाई बयान दिएकी छन् ।
कल्पनाकी छोरीले प्रहरीलाई भनेकी छन्, ‘हत्या हुँदा थाहा पाएको थिएन । पछि सुटकेश बोक्न भनेपछि आमाको रुममा गएकी हुँ । मैले सुटकेश आमाको पिठ्युँमा र पछि बाहिर फाल्न जाँदा छाता ओढाएर गएकी हुँ ।’
शव पहिचान गर्न प्रहरीलाई हम्मेहम्मे
शनिबार राति हत्या भएका कृष्णको शव प्रहरीले आइतबार बिहान ७ बजे फेला पारेको थियो । गोंगबु नवज्योतिमार्गका स्थानीयले सुटकेशमा रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले सुटकेस खोलेर हेर्दा टाउको नभएको शव फेला परेको हो । शव फेला परेपछि प्रहरीले घटनास्थल सिल गरेर तालिम प्राप्त जो–जो नामको कुकुर प्रयोग गरेको थियो ।
जो–जोले सुटकेशभन्दा १० मिटरको दूरीमा कृष्णको टाउको र खुट्टा फेला पारेको थियो । तर, आइतबार टाउको र खुट्टा सबै फेला परे पनि मृतकको पहिचान खुल्न सकेन ।
सोमबार प्रहरीले पहिचान खुल्न नसकेपछि मृतक कृष्णको तस्वीर सार्वजनिक गरेको थियो । प्रहरीले सार्वजनिक गरेको १ घण्टामै दाङका कृष्णबहादुर रहेको खुलेको थियो ।
पहिचान खुलेको केही समयमै उनको हत्या भएको घर नै फेला पारेको प्रहरीले घटनाको ४८ घण्टाभित्र नै उनका हत्यारा कल्पना मुठभरी पौडेललाई पक्राउ गरेको हो ।
एम्बुलेन्स प्रयोग गरेर फरार
कृष्णको हत्या गरेर टाउको र शरीर छुट्टाछुट्टै बनाएर फरार भएकी कल्पनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।
शनिबार हत्या गरेकी कल्पनाले आइतबार दिनभर आफ्नो कोठाको सफाइ गरेर बेलुका मात्रै भागेकी थिइन् । चितवनबाट बिरामीलाई लिएर काठमाडौं आएको एम्बुलेन्स प्रयोग गरेर उनी चितवन पुगिन् ।
चितवन हुँदै चिनजान भएका एम्बुलेन्सचालकले ६ हजार रुपैयाँ लिएर कल्पना, उनकी १५ वर्षीया छोरी र १३ वर्षका छोरा चितवन पुर्याएका हुन् ।
१५ वर्षीया छोरी र कल्पनालाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरे पनि १३ वर्षीया छोराको भूमिका भने केही नदेखिएपछि उनलाई चितवनमै छाडिएको प्रहरीले जनाएको छ ।
यसरी एक वीभत्स हत्याकाण्डलाई प्रहरीले जो–जो अप्रेसनको नामबाट अनुसन्धान थालेर ४८ घण्टामै सफलता पाएको छ ।