सामाजिक तथा मौलिक इतिहास समेटिएको सङ्खुवासभा जेष्ठ नागरिक आवजमा स्वर्गिय डम्बरकुमारी घिमिरेको अनुभव अनुभुती र दृष्टि कोण समावेश गरिएको छ । यो पुस्तक पाठकधारा टोलविकास संस्था खाँदबारी-१ सङ्खुवासभाले २०७६ सालमा प्रकाशन गरेको पुस्तक हो । खाँदबारी नगरपालिका- ६, तल्लो पांठा निवासि घिमिरेको १९८९ साल मंसिर २९ गते जन्म भई २०८१ चैत्र ४ गते मृत्यु भएको हो ।
सङ्खुवासभा जेष्ठ नागरिक आवजमा समेटिएको स्वर्गिय डम्बरकुमारी घिमिरेको अनुभव अनुभुती र दृष्टि कोण जस्ताको तस्तै
मेरो जन्म १९८९ साल मङ्सिर ५ गते आइतबार । जन्मस्थान सङ्खुवासभा जिल्लास्थित चन्दनपुरको थापा गाउँ । पिता अडिमर्दन थापा र माता चन्द्रमाया थापाकी जेठी पुत्री । बुवाआमाका सात सन्तानमा ३ छोरी र चार छोरा । म बाल्यकाल हुँदा बुवाआमा सपरिवार चोया गाउँमा आफ्नो पैत्रिक सम्पत्ति लिएर बसाइँ सर्नुभयो । ३ भाइ नाबालकमै बितिसके । अब एउटी बहिनी, कान्छो भाइ र म मात्र बाँकी छौ ।
मेरो १४ वर्षको उमेरमा बिहे भएको हो । त्यतिबेला हाल खाँदबारी नगरपालिका- ६ तल्लो पांठा गाउँ बस्ने मानबहादुर घिमिरे (जन्तरे मुखिया) मेरा पति ४२ वर्षका थिए । म उहाँकी कान्छी पत्नी हुँ । छोराछोरीको बिहे सानै उमेरमा गराउने चलन थियो। केटा र केटीबीच हेराहेर गर्ने चलन थिएन । मेरा ५ छोरा ३ छोरी गरी ८ जना सन्तान छन् । ईश्वरको कृपाले उनीहरू यथावत् छन् । बाल्यकालमा खानलाउन त्यति दुःख थिएन । मध्यमवर्गीय परिवारमा म जन्मिएकी हुँ । माइतीको खेतीपाती चेवाबेसी अरूण तीरमा थियो । गाउँबेसीमा उकालीओराली थोरै समय व्यतीत भयो । पशुपालन र किसानी कार्यले जीवन धान्ने र छोराछोरी पढाउने प्रमुख आधार हुन्थ्यो ।
शिक्षाका नाममा स्कुल थिएन । राणाकालीन हुकुमी शासन थियो । मुद्दा, झगडा धेरै गर्थे । शासनमा धेरै कडाइ थियो । अर्काकी पत्नी ल्याउनेलाई पहिलो पति (जार) ले काट्ने चलन थियो । सतीप्रथा कतैकतै मात्र फाटफुट रूपमा थियो । १९९० सालको भूकम्प नै त्यतिबेलाको प्रमुख घटना थियो । मेरा ससुरा मुखियाको काम गर्नुहुन्थ्यो । मैले सुनेअनुसार उहाँको जन्म माल्टा गाउँमा हो र माल्टाबाट १९०७ सालमा तल्लो पांठा आउनुभएको हो । मुखियाका घरमा ठिड्यो मुड्ङ्ग्रो हुन्थ्यो । धेरैजसो गाउँको झगडा मुखियाका घरमा मिलाउने चलन थियो । ससुराको देहान्तपछि मेरा पति जन्तरे मुखिया हुनुभयो । उहाँले गाउँको रेखदेख र तिरो उठाउने, बुझाउने, जग्गा पजनी गर्ने र बस्ती बसाउने काम गर्नुभयो ।
गाउँमा शिक्षा आर्जन गर्न गराउन कहीकतै स्कुल थिएन । हिउँद लागेपछि गाउँका अभिभावक मिल्थे । शिक्षक खोजेर ल्याउँथे । अस्थायी टहरा (घर) बनाई प्राइभेट पैसा सङ्कलन गरेर गाउँका बालबालिकालाई पढाउँथे । मेरो बिहे भएको २ दशकपछि २०१७ साल चैत महिनामा भोजपुर जिल्लाका खिलराज सुवेदी हाम्रो गाउँमा आउनुभएको थियो । मेरा पतिले गाउँमा मान्यजन्य भेला गर्नुभयो। आने लगानीमा अहिले चलिरहेको संस्कृत मा.वि. को ठाउँ तल्लो पांठामा विद्यालय स्थाना गर्नुभयो ।
मेरा पत्ति असल र विश्वासिलो किसानका रूपमा चिनिनुभएको थियो । उहाँले २०१४ सालमा तत्कालीन धुपू गा.वि.स. को पुछारमा पर्ने पांठा खोलाको मुहानबाट अन्दाजी ८ किलोमिटर लम्बाइको सिँचाइ कुलो आफ्नै व्यक्तिगत धनबाट बनाउनुभयो । पाङ्मा खोलामा मुहान बनाई खाँदबारी नगरपालिका हाल वडा नं. ६ को सुरामा भन्ने खेत सिँचाइ अन्दाजी ४ किलोमिटरको पुल निर्माण साथै पांठा खोला मुहान गरी खाँदबारी नगरपालिका ६ को अगराख खेत सिँचाइ अन्दाजी ४ किलोमिटरको कुलो यसमा सानातिना छोटा कुलाहरू ८-१० ठाउँ खनाई सबै किसानका खेतमा आजसम्म सिँचाइ सुविधा सञ्चालन छन् ।
मेरा पतिको अगुवाइमा २०१९ सालमा आफ्नो खर्च खाई ३ दिन सबैजना गाउँका मानिस गई अक्कर भीर फोरी बाटो बनाउने काम र २०२१ सालमा तुम्लिङटार हवाई विमानस्थल बनाउने काम ३ दिन लगातार मेरा पतिको अगुवाइबाट गराइएको छ । यसका साथै गाउँघरमा वरपीपल, पाटीपौवा, केरा अन्य फलफूल वरबगैचा लगाउने काम अरूलाई पनि सम्झाई बुझाई गरी लगाउन (रोप्न) लगाउने र आफूले आफ्नो जग्गामा जताततै लगाउने सौख खौतापाटी धारा, कुवा, चौतारा अझै पनि धरै ठाउँमा जीवित छन् । पतिले जे काम गरे पनि मैले धेरै सहयोग गरेकी हुँदा मेरो गृहस्थ जीवन दुःखी नै थियो । ५०/६० जनासम्म मानिस काममा लगाउँदा र इष्टमित्र र साधुसन्तको पनि सेवा घर अटुट नै थियो ।
हाम्रो गाउँको मोहोडा उत्तरदक्षिण रहेको छ । यो गाउँ करिब ४०० मिटरको उचाइमा पर्छ । पहिलाको रहनसहन, भेषभूषा र जातजातिमा क्षेत्री, मगर, बाहुन, तामाङ, कामी, दमाई, साकी फाटफुट नेवार पनि छन् । गहनापातमा ढुङ्ग्री मुन्द्री, नौगेडी, तिलहरी, वाई, बाला गोडामा लाउने कल्ली आदि प्रमुख गहना थिए । खाने सामान कोदाको रोटी, ढिंडो, मकै र धानको भात, दाल, दही, प्रमुख खाद्यान्न थियो । खाजाका रूपमा मकै भुटेर साथै घरतरुल, पिँडाल, सुठुनी यस्तैयस्तै खाने चलन थियो ।
२००७ सालमा राणाशासनविरुद्ध उठेको नेपाली काङग्रेस नाम लिएका फटाहा र लुटाहाहरूले गाउँघरमा पालेका खसी, बोका, राँगा, सँगर लुटेर, काटेर खाएको र पति गोर्खेदल भएकाले फटाहाहरूले घरमा आई मार्ने, कटने नियत गर्दा ओडारमा गई सात दिनसम्म लुकीछिपी बसेको घटना स्मरण हुन्छ । जमिन सस्तो थियो । अन्नको दर एक रूपैयाँ बराबरको धान १० पाथी बन्यो। नौनी घिउ आना माना थियो । सुन एक तोलाबराबर रू. ६०/- र चाँदी ५ रुपैयाँसम्म थियो । सामाजिक चालचलन मर्यादित थियो । दसै तिहारमा टीका, जमरा लगाइदिने र मान्यजनबाट आशीर्वाद लिने छोराछोरीलाई आशीर्वाद हिन्दा ठूलो मान्छे बनेस्, धेरै पढेस् डाक्टर, पाइलट बनेस्, हाम्रो बुढेसकालको सहाचा बनेस् भनिन्थ्यो । तर उद्योगपति बनेस् भनेर कसैले पनि भनेनन् ।
पहिला-पहिला पेसा नम्बर १ मा जागिर र मलायाको लाहुरे, २ नम्बरमा व्यापार, ३ नम्बरमा खेतीकिसान थियो । राजनीतिक अवस्था पहिला राणाकालपछि पञ्चायती व्यवस्था आयो । छोरा मान्छेले मात्र पढ्न पाउँथे । छोरी जातिले पढ्नलेख्न हुँदैन भन्थे । छोरीलाई पढायो भने पोइला जान्छे, पढाउनु हुँदैन भन्थे । बाठाका सन्तान भारतको बनारस, सिक्किम, वृन्दावन शिक्षा आर्जन गरेर आउँथे । उतिबेला गाउँघर र बजारमा पनि वैद्य, डाक्टर, अस्पताल थिएनन् । कोही हैजाले, कोही महामारीले, कोही औलो रोग र कोही टीभी. रोगले मर्थे। कतिपय गाउँ नै उजाड हुन्थ्यो । त्यस्ता गाउँमा धामी झाँक्रीबाट उपचार गराइन्थ्यो ।
मेरो जीवनकालमा पतिको सल्लाह अनुसार दुईपटक दुईजना ब्राह्मण कन्याको आफ्नै घरबाट आफ्नै घरमा कन्यादान (बिहे) गरियो । म पति र छोराहरूका साग लागी पालैपालो भारतका चार धाम बद्री, केदार, हरिद्वार र गङ्गोत्री यमुना, काशी, प्रयागराज, रामेश्वर, जगन्नाथ र नेपालका तीर्थस्थलहरूमा पुग्न सफल भएकी छु । मैले जान्दा हरिभजन, बालन, सँगीनी सुन्ने र गाउने, नाच्ने चलन थियो र अझै पनि ठाउँठाउँमा यथावत् छ । मेरा पति २०६० साल कात्तिक २५ गते सय वर्ष पूरा गरी स्वर्ग हुनुभयो । आठैजना सन्तान ईश्वरका कृपाले जीवित छन् । जेठी छोरी राधादेवीको २००६ सालको जन्म हो । उनी हाल इटहरी सुनसरीमा बस्छिन् । माहिली छोरी उत्तरा अविवाहित बसी । उ शिक्षिका थिइ । हाल पेन्सन अवकाश भइसकी । घर पांठा र काठमाडौ आउनेजाने गर्छिन् कान्छि छाेरी पार्वति पनि अविवाहित बसी। भगवानकाे हरिकिर्तन र भक्तिमा लागी । मेरा पतिसमेले बनाएको शिवालय भन्दिर सेवा गर्छन् । तीर्थ व्रत, घुमफिर गर्दै जीवन बिताउँदैछन् ।
जेठो छोरा खड्गबहादुर २००८ सालका हुन । उनी सानैदेखि बुबाआमाको सेवारत भई गाउँका जनताको सेवामा खटिरहेका छन् । गाउँका विद्यालयको रेखदेख र संरक्षण गर्ने काम गर्छन । अहिले घरमै बसी मेरो सेवा गरिरहेका छन् । खड्गका छोरा २ र छोरी ३ । जेठो नाति कुमार काठमाडौंमा सपरिवार बस्छ । बोर्डिङका साथै कलेज पढाउने काम गर्छ । २ जना पनाति पढाउँछन् । नातिनी शान्ति सपरिवार अमेरिका बस्छे । कान्छो नाति सपरिवार स्पेनमा बसोवास गर्छन । माहिलो भूपेन्द्र आठ कक्षा पूरा गरी इन्डिया आर्मीमा जागिर खायो । हाल रिटाएर भएर सपरिवार का.मा. मा बस्दै आएको छ । उसका ३ छोरा र १ छोरी छन् । छोराहरू सपरिवार जापान, दुबई र अस्ट्रेलियामा बस्छन् । साहिँलो छोरा जगतविक्रम गाउँकै स्कुलमा पढाउँछ । अहिले घरमै पशुपालन, खेतीकिसानी काम गर्छ । बुहारीको ३ वर्षअघि नै देहान्त भयो । उसका २ छोरा र १ छोरी छन् । जेठो छोरा घरव्यवहारमै छ भने कान्छो छोरा सागर पढ्ने सिलसिलामा अमेरिकामा बस्छ । छोरी नर्स काम गरिरहेकी छ ।
काहिँलो छोरो कप्तान सपरिवार अमेरिकामा बस्छन् । उसका २ छोरी र १ छोरा छन् । कान्छो छोरा शिवकुमार प्रा।वि। तहको शिक्षक हो । हाल ऊ खाँदबारीमा बस्दै छ । उसका २ जना छोरा छन् । मेरा पतिले निजी सम्पत्तिमा गुठी राखी सिङ्गेश्वर शिवालय मन्दिर स्थापना गर्नुभयो । त्यसमा छोराछोरीको पनि पूर्ण सहयोग रह्यो । मेरा पति आफै संस्थापक भई चलाएको संस्कृत माध्यमिक विद्यालयको नाफाजति छोराछोरीले बुवाआमाका नाममा एक लाख एक हजार (१०१,०००) रूपैयाँको अक्षयकोष खडा गरेका छन् । सो रकमको ब्याजले स्कुलको वार्षिकोत्सवकमा छात्रवृत्ति वितरण गर्ने गरिन्छ ।
अन्त्यमा, छोराछोरीले बुवाआमाको कमाइबाट एक जनकल्याणकारी स्वास्थ्य सेवा भवन बनाई निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरे १०र१२ वर्षसम्म एक परिवारको आर्थिकले मात्र सेवा सञ्चालन हुन सकेको छ । नेपाल सरकारबाट सरसहयोग भए यस क्षेत्रका दुःखी जनताले स्वास्थ्य सेवाबाट लाभान्वित हुने थिए । त्यो काम पूरा भइदिए मलाई पनि शान्ति मिल्नेछ । तीनपटकसम्म देहत्याग गरिसकेकी छु । अब अरुण नदीका किनारमा मेरो देहत्याग होस् । नयाँ सन्ततिहरू सबैजना सद्धर्मतर्फ अघि बढून् । बाँकी जीवन धर्मकर्म गर्दागर्दै बितोस् ।