सोलुखुम्बु, २५ साउन । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ र २ को सीमानामा रहेको चोकर्मा ताल (सेतो पोखरी) फुटेको छ ।
चोकर्मा हिमताल फुट्दा सोलु खोलामा शुक्रबारदेखि पानीको बहाब बी बाढी आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नामगेल जाङ्बु शेर्पाले जानकारी दिएका छन् ।
शुक्रबार बिहान सोलु खोलामा आकस्मिक रुपमा लेदोसहितको बाढी आएको र एउटा चौरी गोठ पनि बाढीले बगाएको उनले जानकारी दिए । स्थानीयले दूधकुण्ड फुटेकाले बाढी आएको आशंका गरेको बताउँदै मेयर शेर्पाले भने, ‘तर पछि स्थानीय दावा शेर्पासहित ५६ जना स्थानीयबासीको समूहले स्थलगत अध्ययन गर्दा दूधकुण्ड नभएर चोकर्मा ताल फुटेको पाइयो ।’
उनले तालको एक छेउ मात्र फुटेका कारण सबै पानी बग्न नपाउँदा क्षति कम भएको जानकारी दिएका छन् । ‘चोकर्मा तालमा पानी धेरै छ । दूधकुण्ड भन्दा पनि यो ताल ठूलो छ,’ सुनाए । पाँच हजार पाँच सय मिटरको उचाइमा रहेको चोकर्मा तालको सबै पानी बाहिरिए सोलु खोलामा ठूलो बाढी आउने र त्यसले धेरै जनधनको क्षति हुन सक्ने भएकाले सबैलाई सचेत रहन उनले आग्रह समेत गरेका छन् ।
आज प्रदेश सांसद र मेयरसहितको टोली तालको अवलोकनमा जाने तयारी छ । ‘मौसमले साथ दिए हामी हेलिकप्टरमा तालको अवलोकन गर्न जाँदैछौँ,’ मेयर शेर्पाले भने, ‘अध्ययनपछि मात्र त्यहाँको वास्तविक अवस्था थाहा हुन्छ ।’
उनले प्रदेश सांसद बुद्धिकुमार राज भण्डारी, वडाध्यक्ष छोङबा लामा, सुरक्षाकर्मीसहितको टोली तालको अवलोकनमा जान लागेको जानकारी दिएका छन् । चोकर्मा ताल सोलु सदरमुकामबाट झण्डै ६० किलोमिटर टाढा पर्छ ।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले पनि फुटेको ताल क्षेत्रको स्थलगत अवलोकन गरिने जानकारी दिएकी छिन् । ‘शुक्रबार सोलु खोलामा ठूलो बाढी आउँदा स्थानीय त्रसित बनेका थिए,’ प्रजिअ सुवेदी भन्छिन्, ‘तर आजदेखि खोलामा पानीको वहाब घटेको छ । अहिले खतरा छैन ।’
शुक्रबार बिहानैदेखि अचानक सोलु खोलामा पानीको सतह बढेपछि स्थानीय प्रशासनले खोला किनारमा रहेका बस्तीमा सावधानी अपनाउन अपिल गरेको थियो ।