खाँदबारी । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा रहेको वरुण बहुमुखी क्याम्पसले 'संस्कृति संरक्षण र प्रवर्द्धनमा युवा सहभागीता' नारासहित वरुण लोक सांस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । अरुण उपत्यकाको अगुवा शैक्षिक संस्था वरुणको आयोजनामा शुक्रबार हुन लागेको प्रतियोगितामा सुनसरी, मोरङ, धनकुटा, भोजपुर, तेह्रथुम जिल्लाका प्रतिनिधिमुलक क्याम्पस सहित सङ्खुवासभाका सम्पुर्ण क्याम्पसहरुको सहभागिता रहने प्रतियोगिता संयोजक नवराज कार्कीले जानकारी गराए ।
रैथाने कला संस्कृतिहरुको संरक्षण एवम् पुस्तान्तरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित प्रतियोगितामा भोटे सेलो, कौडा नृत्य, सोरठी नृत्य, राउटे नृत्य, संगीनी नाच, कुमाल नृत्य, हुर्रा नाच, साकेला सिलि, धान नाच, मारुनी नृत्य आदिलाई एकै स्टेजमा प्रस्तुत हुने संयोजक कार्कीले बताए ।
विश्वविद्यालय अनुदान आयोग र खाँदबारी नगरपालिकाको साझेदारी तथा शिक्षा एवम् कलाप्रेमी महानुभावहरुको प्रायोजनमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक कार्कीले बताए ।
प्रतियोगितामा विभिन्न जिल्लाका प्रतिनिधिमुलक क्यापस, जिल्ला भित्रका सबै क्याम्पसहरु र जिल्लाका प्रत्येक स्थानिय तहका माध्यमिक विद्यालय (११/१२ संचालित)लाई आमन्त्रण गरिएको क्याम्पसले जनाएको छ ।
सास्कृतिक कार्यक्रम सहित क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमा रहेको कला तथा सीपलाई सम्बर्द्धन तथा प्रोत्साहन गर्न विद्यार्थीहरुले निर्माण गरेका विभिन्न किसिमका हस्तकला, राडीपाखी, डालो, सिलामसाक्मा, अल्लोनिर्मित पोशाक तथा विभिन्न सजावटका सामग्रीहरु पनि प्रदर्शनी एवम् बिक्रीमा राखिने क्यूएएका फोकलपर्सन रुद्रनाथ दाहालले जानकारी दिए । गत वर्ष वरुण क्याम्पसले हस्ताकला प्रर्दशनि कार्यक्रम गरेको थियो ।
वरुण लोक सांस्कृतिक नृत्य प्रतियोगिताकाे मिडिया पार्टनरहरु जिल्लाका न्युज अनलइन, रेडियो र पत्रिकाहरु रहेका छन् । प्रतियोगितको व्यवस्थापन स्वतन्त्र विद्यार्थी यूनियन, व्यवस्थापन विद्यार्थी संघ, शिक्षाशास्त्र विद्यार्थी समाज र युवा रेडक्रस सर्कल रहेका छन् ।