सङ्खुवासभााकाे चिचिला गाउँपालिका वडा-१ पोखरी गाउँका शताब्दी पुरूष मानवीर गुरूङ (दाह्री लामा) को १०६ बर्षकाे उमेरमा आज निधन भएको छ ।
काे हुन् त दाह्री लामा ?
सङ्खुवासभामा ज्येष्ठ नागिरक आवज प्रकाशित दाह्री लामाकाे अनुभवमा आधारित लेख जस्ताको तस्तै :-इतिहासको विभिन्न कालखण्डलाई जीवित र अमरत्व प्रदान गर्दै जीवनका अविरल भोगाइहरूका सन्दर्भ, सम्झना, अनुभव, आरोह-अवरोह सबैलाई समेट्दै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक आवाज पुस्तक प्रकाशन गर्नु आफैमा जटिल भए पनि १ नं. प्रदेश सङ्खुवासभा जिल्लाको सुन्दरनगरी खाँदबारीको पाठकधारा टोल विकास संस्थाले विभिन्न प्रश्नावलीहरू निर्माण गरी स्वर्णिम कार्यको थालनी गर्नु अत्यन्त समयसान्दर्भिक तथा ज्येष्ठ नागरिक अमरत्व प्रदान गर्ने महान् कार्य भएको हुँदा यस पाठकधारा टोल विकास संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछु । चिचिला गाउँपालिका वडा नं. १ मा १९७५ साल असार महिनामा मेरो जन्म भएको हो ।
शास्त्र हराए, संस्कार हराउँछ !
संस्कार हराए, संस्कृति हराउँछ !
संस्कृति हराए, मानव सभ्यता नै हराउँछ !
यो महान् भनाइ गुरूङ जातिको शास्त्र 'पे' मा उल्लेख भएको पाइन्छ । यसै भनाइबाट मेरो जीवनका भोगाइहरू पस्कन सुरू गर्ने अनुमति लिन चाहन्छु । मेरो जन्म नेपालको १ नं. प्रदेश पूर्वीपहाड सभाउत्तर मकालुको काखमा रहेको अरूण उपत्यकाले सजिएको सुन्दर तथा विभिन्न धार्मिक पवित्र स्थलहरू रहेको मनमोहक जिल्ला सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नं. १ पोखरी गाउँमा साधारण घरपरिवारमा पिता धनसुर गुरुङ र माता विष्णा गुरूङको अन्तरे सुपुत्रका रूपमा मेरो १९७५ साल असार महिनामा जन्म भएको हो । समय सुखदुःखसँग विभिन्न कालखण्ड बित्दै जाँदा १७औं वसन्त पार गरी १८औं वसन्तको दौरानमा मेरो बिहे तत्कालीन सभापोखरी गाविस वडा नं. ३ स्वाची निवासी सुकुमाया गुरूङसँग भयो । त्यसबेला मागेर, सल्लाह गरेर बिहे गर्ने चलन कमै मात्र थियो । अहिलेजस्तो टेलिफोन, मोबाइल, इन्टरनेटको व्यवस्था थिएन, आफै पुग्नुपर्थ्यो ।
केटीले मन पराओस् वा नपराओस्, घिस्याएर ल्याउने चलन थियो । तर मैलेचाहि सल्लाह नै गरेर ल्याएको हुँ । उतिबेला अहिलेजस्तो महिला अधिकारको चेतना थिएन । बाल विवाह, अनमेल विवाह गर्नेलाई कुनै पर्वाह नै थिएन । त्यसबेलाको समयमा जागिरका नाममा अर्काकोमा हली, गोठालो बस्नुसिवाय अरू थिएन । त्यसैले मैले पनि भेडागोठमा केही समय जीवन व्यतीत गरे । त्यसबेला पैसाभन्दा पनि काम गरेवापत वार्षिक एक मल्ला भेडा दिने गर्थ्यो । भेडा बेच्न पच्यो भने पनि मकै, पिठो, आलुसँग साट्ने गरिन्थ्यो । त्योबेला र अहिलेको तुलना गर्न हो भने धेरै दुःख तर कमाई वा पैसा भने अत्यन्त कम हुने गथ्र्यो । पैसाको तुलना नै हुँदैनथ्यो । वस्तु विनिमयको प्रचलन प्रशस्त थियो । जीवन भोगाइका क्रममा आरोह-अवरोह पार गर्दै जाँदा पत्तै भएन । ६ जना छोरा र पाँचजना छोरीको पिता भई पैतीसौ वसन्तसमेत पार गर्न लागिएछ । त्यसबेला गाउँघरमा गुरूङहरूको धर्म-कर्म गर्ने लामा गुरूहरूको समस्या भएको पाएँ । त्यसैले मेरा जिजु पनि धर्मगुरू बोक्तर गुरूङ धार्मिक कर्मकाण्ड गर्ने धर्मगुरु लामा नै भएको र उक्त कार्यलाई नै निरन्तरता दिने विचार गरी मानवको जीवनमा जन्मदेखि मृत्युसम्म गर्नुपर्ने धर्मकर्मका कार्यहरू गर्दै आफ्नो दिनचर्यालाई अगाडि बढाएको छु । हालसम्मको जीवन कालखण्ड बोन्पो पच्यु लामा धर्मकर्म गर्ने क्रममा नै रहेको छ । तर उमेरले होला अलिक गाह्रो हुन्छ । जिजुले गर्नुभएका धर्मकर्मका कार्यलाई निरन्तरता दिँदै अगाडि बढेका कारण मलाई बोक्तार लामा भन्ने पनि गर्छन् । मैले आफू मात्र धर्मकर्म गर्ने नभएर धेरैजना चेलाहरूसमेत उत्पादन गरी गुरूङको धर्मकर्म गर्नमा सहजता ल्याउन मद्दत गरेको छु। हाल आएर म दाह्री लामा भनेर धर्मगुरूका नाममा परिचित भएको छु ।
बसाइँसराइको पुख्र्यौली भूमिलाई सम्झने हो भने रमाइलो र घतलाग्दो कथाजस्तै भइसकेको छ । हाल नेपालको कास्की पोखरालाई पहिलेपहिले पश्चिमको फेवाताल नामले परिचित थियो। त्यस बेला त्यहाँ बौद्ध धर्मसम्बन्धी ज्ञान लिने दिने गरिन्थ्यो । त्यतिबेला पोखरामा ठूला-ठूला गुम्बा र धेरै धर्मगुरू लामाहरू बस्ने गरेका थिए । त्यस गुम्बाबाट उत्पादन भएका सातजना लामा गुरूहरू आफ्नो शिक्षा पूरा गरी गुम्बाबाट धर्मकर्मका कार्य गर्दै पूर्वतर्फ अगाडि बढ्यो । यसरी मिति उल्लेख नभए पनि परापूर्वकालमा सातजना लामाहरूमा एकजना पोखरामै बसे। अर्का एकजना ओखलढुङ्गाको रुम्जाटारमा धर्मकर्म गर्दै आफ्नो व्यावहारिक जीवन बिताउन थाले । त्यसैगरी ६ जना लामाहरू धर्मकर्मका कामहरू गर्दै पूर्वतर्फ आएका थिए । यसमा बाँकी रहेका पाँचजना भने घुम्दै धर्मकर्मको कार्य गर्दै आउने क्रममा सङ्खुवासभाको सभाखोला आइपुगेका थिए । यसरी सभाखोलामा आइपुगेपछि अब कता जाने भनी छलफल गर्दा गुरुङ बस्ती भएको ठाउँतिर मिलेर जानुपर्छ भन्नेमा सहमत भई एकजना मादीको गुरूङ बस्तीतीर गए । अन्य चारजना लामा गुरूहरू सङ्खुवासभाको उत्तरी भेगतर्फ लागे । यसमा एकजना नुमको आम्राङ गई आफ्नो धर्मकर्मलाई अगाडि बढाउन थाले । त्यसपछि तीनजना माझिमातीर गई बस्न थाले । यसरी बसाइँसराइको पुख्र्यौली थलो मान्नुपर्दा नेपालको कोलासोथर, कारकी पोखरा, घान्दुक, लमजुङ, मनाङ, मुस्ताङजस्ता ठाउँहरूलाई मान्न सकिन्छ । ती घुम्दै आएका सातजना लामागुरूहरू जुन-जुन ठाउँमा पुगेर बसे, त्यही-त्यही ठाउँमा कायम्बु बुद्ध भगवान्को गुम्बा निर्माण गरी लामा विद्याको सुरुवात गरे । यसैगरी माङ्सिमा बसेका लामाहरूको गुम्बामा नै आगलागी भै सम्पूर्ण पुस्तकहरू जलेर नष्ट भए भने मादीका लामा पछि सिक्किम गएकाले अहिले केही इतिहास पाइँदैन । यसरी सातजना पोखराबाट छुट्टिएर आउनेमध्येमा एकजना रञ्जित लामा थिए । रञ्जित लामाको पुस्तक आम्राङमा सुरक्षित रह्यो भनेर मेरा बाजेले सुनाउनुभएको थियो । अहिले यो वेद पुस्तक मैले धर्मकर्म कार्यमा प्रयोग गरिहेको छु । पछि आएर आम्राङमा गुम्बा निर्माण गरी रञ्जित लामाले लामाविद्याको सुरूवात गरेका थिए । समयक्रमसँगै लामा गुरू भद्रमानभन्दा लामागुरू ल्याट्टा निकै जान्ने र लोकप्रिय लामाहरूका रूपमा उदयमान भए । त्यसमा पनि लामा गुरू ल्याट्टा लामा जान्ने लामा भन्नेर चिनिन्थ्यो । मैले लामा गुरू भद्रमानसँग गुरू थापी अध्ययन गरेको हुँ । त्यसबेला मसँगै छत्रबहादुर गुरुङ (टुके लामा) पनि पढेका थिए । त्यसमा पनि धेरै गुफा पसेर पढ्ने लामा म नै हुँ। त्यसबेला पढ्दा कलम, कापी, स्कुल कुनै थिएन । मसी बनाउँदा मजिटो कुटेर झोल बनाएर, अङ्गार, आगोको धुवाँको ध्वाँसो प्रयोग गरेर खप्द्वारीको कलम बनाएर लेख्ने गरिन्थ्यो । पढ्न साह्रै दुःख थियो । अहिलेजस्तो कुनै सुविधा थिएन । तत्कालीन देशकाल परिस्थितिअनुसार यस दिदिङ गाउँ पञ्चायत/गा.वि.स. मा देहायका व्यक्तित्वहरू निर्वाचित भई यस गाउँको नेतृत्व प्रदान गरेका थियौ । उहाँको योगदानलाई म सदैव कदर गर्दै भावी सन्ततिहरूलाई पनि सम्मान व्यक्त गर्न आग्रह गर्दछु ।
राजनीतिक विकासक्रम सँगसँगै भएको परिवर्तमान तत्कालीन अवस्थामा क्षेत्र अलग गरी २०२५ सालमा दिदिङ पञ्चायत कायम भयो । ०७३ सालमा स्थानीय निकाय पुनः संरचना हुँदा साविक दिदिङ १, २, ३, ४, ५ वडा एकीकृत गरी चिचिला गा.पा. वडा नं. १ साविक दिदिङ वडा नं. ६ र साविक मत्स्यपोखरी १२ २ वडा एकीकृत गरी वडा नं. १, साविक दिदिङ ७, ८ र ९ वडा एकीकृत गरी वडा नं. ३ कायम भयो । ०७४ साल असार १४ गते सम्पन्न निर्वाचनमा वडा नं. १ बाट चन्द्रबहादुर गुरूङ, वडा नं. २ बाट मिनबहादुर राई, वडा नं. ३ बाट गजेन्द्रकुमार राई निर्वाचित भई नेतृत्व प्रदान गर्दै हुनुहुन्छ ।
भौगोलिक अवस्थाको अध्ययन गर्ने हो भने सङ्खुवासभा जिल्लाको सुन्दर नगरी खाँदबारीको उत्तर सिमाना जोडिएको चिचिला गाउँपालिका वडा नं १ को दक्षिण मोहडा हल्का भिरालो जमिन रहेको हरियाली वनजङ्गलले सुसज्जित संरक्षण र प्रचारप्रसारको पर्खाइमा रहेको लगभग एक रोपनीभन्दा ठूलो क्षेत्रफलमा फैलिएको पोखरीको नामबाट जुराइएको सुन्दर गाउँपोखरी गाउँको गुरूङ जातिको सङ्ख्यात्मक हिसाबले बाहुल्यता भए पनि अन्य जातिको पनि बसोवास रहेको छ । यस ठाउँमा अलैची, अम्लिसो, चिया, कोदो, मकै, धान आदि राम्रो उत्पादन हुने ठाउँ हो ।
मैले जान्दा यहाँ निराजको मुलुक थियो । कपडा भाङ्ग्रा र खाँडीका थिए । सिउने कल थिएन । हातले सिउँथे । कपाल काट्ने अहिलेजस्तो ब्लेड थिएन । फलामका छुरा स्लेटमा उद्द्याएर कपाल खौरने चलन थियो । वानालिङलिङ र सभापोखरीको फाकुवामा फलामाखानी उत्खनन गर्थे । लिङलिङमा निकालेको फलाम धेरै राम्रो र फाकुवाको फलमा अलिकाँकर जाने खालको थियो । खानीबाट फलाम किनी ल्याएर हाम्रो गाउँमा कली गुरूङ हातहतियार बनाउँथे । धरानबाट फलाम ल्याउन थालेको त १५/१६ सालबाट मात्र हो । आरनमा जाँदा रक्सी, मासु, अन्न कोसेली लिएर जानु पर्थ्यो । त्यो जमानामा किमाथाङ्ङ्काभन्दा २ दिनउतासम्म भेडीगोठ लाने गर्थ्यो । तिब्बतियनहरूले बाली भने लाउन दिँदैन थिएँ । बाली लगाउन दियो भने जग्गा दाबी गर्छन् भन्ने रहेछ । प्रायः सबै गोठ बस्ने चलन थियो । जङ्गलमा तरूल, भ्यागुर, रिठ्ठा खनेर खाने चलन थियो । घरगाउँमा सबै खोरियाँ फाँडेर कोदो, कागुनो, सिलाम छर्ने प्रचलन थियो ।
त्यसबेला अहिलेको जस्तो हाटबजार साप्ताहिक लाग्दैनथ्यो । मैले जान्दा खाँदबारीमा १५/१५ दिन औसीपूर्णमा बजार लाग्थ्यो भने मेरा बाउबाजेले भन्नुहुन्थ्यो । उहाँहरूका पालामा त वर्षमा एकपल्ट माघे सङ्क्रान्तितिर भोटखोलामा, कात्तिकको ठूली एकादशीछेक अरूण र सभाखोलाको त्रिवेणी घाटमा, रामनहमी छेक मादी राम्बेनीमा लगातार २ महिनासम्म बजार लाग्थ्यो । वर्षभरि चाहिने चिजवीज त्यही बजारबाट जोहो गर्नुपर्थ्यो । सुनचाँदी अहिलेजस्तो जताततै पाइँदैनथ्यो । भोटबाट भोटेहरूले असली बुकी सुन ल्याउँथे । तोलाको तीस रूपैयाँ पर्थ्यो । असली चाँदी तोलाको रु ७/- मा पाइन्थ्यो । एउटा गोरूलाई रू. ५/-, भैसी रू १०/-र जग्गाको खासै दाम थिएन । लोसे पाखो फाड्थे । थरी, मुखियाले पजनी गरिदिन्थे । ९९ को घरसारको तमसुक लेखेर किनबेच हुन्थ्यो। नुन भोटबाट ल्याउँथे । चामल सरी साट्न पाइँन्थ्यो। पैसा गण्डी हुन्थ्यो । ४ पैसाको १ गण्डी हुन्थ्यो । भिक्टोरिया पैसा भन्थे । पछि चुल्ठे पैसा पनि आयो । पैसा चाँदीको हुन्थ्यो । नेहरूको पालादेखि मात्र कागजको पैसा भित्रियो ।
जीवनका अविस्मरणीय क्षणको सम्झना गर्ने हो भने जब १०/११ वर्षको उमेरपश्चात् सखुवासभाको डिमा भन्ने ठाउँमा भेडागोठमा बस्दाको क्षणमा बाघ, भालुसँगको घम्साघम्सी अझै पनि सम्झदा कहाली लागेर आउँछ । त्यति मात्र नभएर राणाशासनको समयमा दौडाह आउँदा भागेको, कुनै साथीले टोपी झिकेर मेरो घरमा चाँडो पुग्नुपर्ने भयो भनी छलिएर हिँडेको सम्झिरहन्छु । त्यो किन त्यस्तो गरेको हो भने दौडाहको राणा सरकारलाई अर्को ग्रुप मानिस नभेटेसम्म बोकेर हिँड्नु पर्दथ्यो । १९९० सालको महाभूकम्पको र २०२२ सालतिर अरूण बौलाएको बेला अति धनजनको क्षति भएको थियो । अहिले हो भने सारा विश्वको ध्यान उद्धारमा केन्द्रित हुन्थ्यो होला । विडम्बना त्यसबेला कयौं बेपत्ता भए । यसबेलाको समयमा वस्तु विनिमयको बढी प्रचलन थियो । पैसा धेरै महँगो थियो । पैसा कमाउन ६ महिने लाहुर जानुपर्थ्यो । भारतको सिलाङलगायतका क्षेत्रहरूमा ज्याला मजदुरीका रूपमा जानु पर्दथ्यो । समाचार आदानप्रदान गर्नुपन्यो भने मानिस नै गएर भन्नुपर्ने हुन्थ्यो । अहिले त एक मिनेट नभई प्रत्यक्ष समाचार पुऱ्याउन सकिन्छ । ईमेल, इन्टरनेट, मोबाइल सेवाले विश्व नै एउटा कोठामा सीमित भइसकेको छ । आफ्नो जीवन व्यतीत गर्ने क्रममा यसरी सम्झनै पर्दा गुरूङ जातिको कर्मकाण्ड विधिहरू गर्नका लागि जम्मा ४५ थान पुस्तकको अध्ययन गर्नुपर्दछ । त्यसमध्ये आफूलाई गुरूले ३२ थान पुस्तक पढ्ने अनुमति दिएको र मैले पढेको छु ।
सङ्खुवासभाका विभिन्न ठाउँका साथै सुनसरी, मोरङ, पोखराका विभिन्न स्थानका खेगी भेलाहरूमा उपस्थित भई प्रवचन दिइसकेको छु भने मैले सिक्किम गएर पनि लामाविद्या पढेको छु । मोरङ जिल्लाको गछियामा २०३६/०३७ सालमा ३/४ वर्ष लामा शिक्षा पढाउँदा राम्रै सफलता प्राप्त भएको थियो । त्यहाँ पढाउँदा इलाम, झापा र मोरङका शिष्यहरू थिए । त्यसबेला मैले मासिक रूपमा रू. ३००/- फिस लिएर लामा विद्या सिकाएको थिएँ । त्यसपछि चिचिला डाँडामा काशीराम कायम्वु बुद्ध गुम्बाको स्थापना गरी गाउँमा पढ्न इच्छा गर्ने युवाहरूलाई भेला गरी लामा शिक्षा सुरूवात गरे । सुरूमा धेरैजना पढ्नेहरू भए पनि २/३ जनाले मात्र शिक्षा पूरा गरे । यसलाई अध्ययन गर्दा आधुनिक जमनाको विद्यालयहरू पढ्न-पढाउन बालबालिका र अभिभावकहरू केन्द्रित भएकाले गर्दा गुम्बामा अध्ययन गर्नुभन्दा विद्यालयप्रति ध्यान केन्द्रित भएको पाएँ । अहिले पनि लामाविद्याभन्दा विद्यालय शिक्षा पढ्न-पढाउन नै अग्रसर भएको पाइन्छ । त्यसबेला मेरो शिष्यहरूमध्ये पूरा शिक्षा लिएका शिष्यहरू माङमायाकै गोकुल गुरूङ पैजो लामा र भुवनसिंह गुरूङ पैजो लामा हुन् । त्यसपछि ध्वजेका सूर्यबहादुर कोरङ्गी लामा र माम्लिङका मनकुमार गुरूङ मेघी लामा हुन् । यी चारजनाले कर्मकाण्डीय विधिहरू अपनाई काम गरिरहेका छन् ।
मेरो नाम कसरी दारी लामा रह्यो भन्नेबारेमा भन्नुपर्दा मैले जब लामा विद्या पढ्न सुरू गरें, गुरू जजमान बने। तब मेरो परिचय बदलिएको महसुस गरे । हिजो पोखरी गाउँको म मानवीर गुरूङ अब एकाएक दाही लामाको नामले दुनियाँमा चिनिन थाले । लामा-लामा जुंगा, दाह्री र टुपी पालेका कारण मेरो नाम दाह्री लामा भएको होइन । मेरो गुरू भद्रमान लामाको पनि लामा-लामा दाह्री पालेका थिए । उसलाई पनि दाह्री लामा भनिन्थ्यो । त्यसैले मलाई पनि दाह्री लामा नै भनिन थाल्यो । रञ्जित लामालाई पनि दाह्री लामा उपनामले नै चिनिन्थ्यो । त्यसैले गुरूहरूको उपनामबाट म पनि दाह्री लामा उपनामले चिनिन थाले । त्यसैले मैले भन्नुपर्दा गुरूले बक्स दिएको उपनाम हो । मेरो नाम दाह्री लामा । त्यसैले हिजोआज मलाई सबैले मानवीर गुरूङभन्दा पनि दाह्री लामाको उपनामले बोलाउने गर्दछन् ।
मलाई सम्मान र अभिनन्दन त अनगिन्ती भए । त्यसमा पनि तमुच्ह्युिल छोज धीले गरेको सम्मान, २०७४ साल कात्तिक २४।२५ गते कास्की पोखरामा तमु पेलु सङ्घले गरेको राष्ट्रिय भेलाले ज्येष्ठ बन्पो लामा भएकाले सम्मान तथा अभिनन्दन कार्यले थप ऊर्जा प्रदान भएको थियो । त्यसैगरी विभिन्न समयमा सम्मान तथा अभिनन्दनहरू प्रशस्त रूपमा पाएको छु । यसमा मलाई लाग्छ, सम्मान मात्र हैन, धर्म, संस्कृति र जातीय संस्कारको संरक्षण गर्न पनि जरूरत छ ।
अन्ततोगत्वा मैले पढ्ने वेद (पुस्तक) बोन्पो (बोन) वेद हो । यसलाई बोन्पो धर्मका रूपमा पनि लिने गर्दछ । अहिले देखिएको बोन्पो वेदको आफ्नै लिपि छ । यस वेदको स्थान ज्यादै ठूलो महत्व रहेको छ । मूल धर्म कुलहो (बोन), बौद्ध धर्म पहिचान हो । त्यसैले हामीले यी वेदहरूको संरक्षण र संवर्द्धन गर्न आवश्यक रहेको छ । त्यसमा पनि पूर्वको सङ्खुवासभा जिल्लामा त बोन्पो (बोन) धर्मको नै बाहुल्य रहेको छ । हाल आएर गुरूङहरूको बोन्पो धर्मकर्म गर्ने कार्य लोप हुन लागिरहेको छ । यसको संसक्षण र संवर्धन गर्न जरूरी भएको छ ।