खाँदबारी । संखुवासभामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप माघ २७ देखि सुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यले मंगलवार सरोकारवाला सँगको अन्र्तक्रिया कार्यक्रममा भोटखोला गाउँपालिका बाहेका पालिकाहरुमा माघ २७ देखि फागुन २ सम्म खोपा अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
भाोटखोला गाउँपालिकामा भने अधिकांश विद्यालयहरु जाडोका कारण बन्द भएकाले खोप अभियान फागुन १८ देखि २० गते सम्म सञ्चालन हुने भएको । विकट र भौगोलिक अवश्याले केही दिन खोप अभियान सार्नु परेको स्वास्थ्य कार्यालयका प्रमुख नारदमुनी सुवेदीले जानकारी दिए।
जिल्लाको ९ स्थानीय तहमा माघ २७ देखि एकै साथ खोप अभियान सुरु हुनेछ। भ्याक्सीन वाहेक सम्पूर्ण सामाग्री स्थानीय तहमा पठाइ सकिएको छ । सङ्खुवासभामा कक्षा ६ देखि १० सम्मका ७ हजार छ सय ६२ विद्यार्थी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका एकहजार तीनसय ७३ किशोरी छन्।
जिल्लाका १४४ विद्यालयका सहित २७६ खोपकेन्द्र मार्फत किशोरीहरुलाई एचपीभी खोप लगाईने जनस्वास्थ्य अधिकृत रोषण श्रेष्ठले बताए । खोप अभियानमा २८० जना स्वास्थ्यकर्मी, ५५६ जना स्वयम सेवक, १३२ जना सुपरिवेक्षक परिचालन हुनेछन् ।
नेपालमा दैनिक पाठेघरको मुखको क्यान्सरबाट दैनिक ४ महिलाको ज्याने गरेकाे भन्दै याे दरलाई राेक्न खाेप अभियान बाट काेही पनि छुट्न नहुने जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताए । खाेप अभियानमा लक्षितवर्गलाई अनिवार्य सहभागि गराउन प्रमुख शाक्यले आवह्वन गरे ।
के हो एचपीभी खोप ?
ह्युमन प्यापिलोमा भाइरसको संक्रमणबाट सुरक्षित हुन दिइने खोपलाई एचपीभी खोप हो। परिवार कल्याण महाशाखाका निर्देशक डा. लालका अनुसार, यो खोप प्युरिफाइड भाइरल प्रोटिनबाट रिकम्बिनेसन प्रविधिद्वारा तयार गरिएको छ। डा. लाल भन्छन्, ‘यो खोपमा भाइरसको डीएनए हुँदैन। त्यसैले यो खोपबाट एचपीभी संक्रमण हुँदैन। एचपीभी प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्दछ।’
यो वर्ष सञ्चालन गरिने खोप अभियानमा सिकोलिन नामको एचपीभी खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो खोप तयारी झोलको रूपमा एक मात्राको भायलमा उपलब्ध हुन्छ। यो खोपको एक मात्रा ० दशमलव ५ मिलि हो। यो खोप सुईंको माध्यमबाट बायाँ पाखुराको माथिल्लो बीच बाहिरी भागमा मासुभित्र दिनु पर्दछ।
किन लगाउने एचपीभी खोप ?
पाठेघरको मुखको क्यान्सर गराउने २०० प्रजातिका भाइरसमध्ये १६ र १८ प्रमुख कारक रहेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ । नेपालमा पनि पाठेघरको मुखको क्यान्सर गराउने ८० प्रतिशत कारक यिनै दुई प्रजाति भएको पाइएको छ ।
वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार, पाठेघरको क्यान्सर गराउने भाइरस (एचपीभी) छालामा कतै न कतै रहेको हुन्छ । स्वस्थ शरीरले यसलाई दबाएर राखेको भए पनि भाइरस व्याप्त रहन्छ ।
किशोरावस्थाको प्रारम्भिकस्तरमा शारीरिक सम्पर्कअगावै खोप दिइँदा भाइरसबाट सुरक्षित हुन सक्ने विभिन्न अध्ययनको निष्कर्ष छ । सोही कारण १४ वर्षसम्मका बालिकालाई खोप दिन लागिएको डा. घिमिरेले बताइन् ।
खोप कति प्रभावकारी ?
हाल दिन लागिएको सिकोलिन खोप यी दुई प्रजाति (१६ र १८)विरुद्ध तयार गरिएको हो । एक डोज मात्र दिइने यो खोपको प्रभावकारिता ९६ प्रतिशत रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पुष्टि गरेको छ ।
नेपालमा यसअघि एचपीभीविरुद्धको दुई डोजवाला खोप दिइएको थियो । हाल दिन लागिएको एक डोज र यसअघिका सबैखाले खोपले भाइरसविरुद्ध अन्तिम सतहसम्मै पुगेर काम गर्ने हुन्छ । एन्टिबडीको लेभल पनि उस्तै भएकाले एक डोज उत्तिकै प्रभावकारी रहेको डा. घिमिरे बताउँछिन् ।
यो खोप लगाएकै कारण बालिकाको मृत्यु भएको घटना विश्वका कुनै पनि देशमा हालसम्म रेकर्डमा नरहेको उनको भनाइ छ । परिवार कल्याण महाशाखाको तथ्यांकानुसार, पाठेघरको मुखको नयाँ बिरामी देखिने दर १६.४ प्रतिशत प्रतिलाख छ । हाल नेपालमा पाठेघरको मुखको क्यान्सरबाट दैनिक औसत चारजनाको मृत्यु भइरहेको महाशाखाको तथ्यांक छ ।
सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा रहन नदिने अर्थात् निवारण गर्ने डब्ल्यूएचओको लक्ष्य छ । ग्लोबल अलायन्स फर भ्याक्सिन (गाभी)सँगको सहवित्तीयकरणमा नेपालले १७ लाख जनसंख्याका निम्ति खोप भित्र्याएको छ । यो खोपमा सरकारको प्रतिडोज करिब ४०० रुपैयाँ लगानी रहेको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल बताउँछन् ।
अरू देशमा पनि दिइन्छ यो खोप ?
डब्ल्यूएचओका अनुसार, एचपीभीविरुद्धको खोप हाल विश्वका १४४ देशमा नियमित रूपमा दिइँदै छ । नेपालमा दिइनेजस्तै एक डोजवाला खोप ६१ देशले दिइरहेका छन् । ७७ देशमा विद्यालयबाट नै दिइएको खोप कार्यक्रम प्रभावकारी भइरहेको डब्ल्यूएचओको रिपोर्ट छ ।
०.५ एमएलका दरले दिइने यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेकाले अभियानमा अनिवार्य रूपमा सहभागी हुन उक्त शाखाले आग्रह गरेको छ ।
असर देखिन्छ ?
एचपीभी खोप लगाएपछि केही सामान्य असर देखिन सक्ने खोप शाखाले जनाएको छ । सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, हल्का ज्वरो, वाकवाकी, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखिन सक्ने डा. गौतमले जानकारी दिए । यस्ता लक्षण केही समयपछि आफैँ ठिक हुने भएकाले नआत्तिन उनको अनुरोध छ ।
रजस्वलाको समयमा पनि खोप लगाउन मिल्ने र यसले महिनावारी छिटो वा ढिलो हुनेमा कुनै असर नपार्ने डा. गौतमले बताए । खोप लगाउने किशोरी विद्यार्थी भए परिचयपत्र र नभए उमेर खुल्ने प्रमाणपत्र लैजान आग्रह गरिएको छ ।