सङ्खुवासभा । यु.डब्लु.एस नेपाल सङ्खुवासभा र धर्मदेवी नगरपालिकाको साझेदारी आयोजनामा गरीएको ३ दिने शिक्षक तालिम कार्यक्रममा नगरपालिका भित्र युडव्लुएस नेपालको साझेदारीमा कार्यक्रम संचालनमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई “आधारभूत गणित तथा भाषा सम्बन्धि तालिम” प्रदान गरिएको छ । यु.डब्लु.एस. नेपालसँग सहकार्य गरी सो तालिम सञ्चालन गरिएको हो । धर्मदेवी नगरपालिकाको सभाहलमा भाद्र १६ देखि १८गते सम्म सञ्चालन भएको तालिममा १६ ओटा सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यापन गराउने ३० जना शिक्षकहरुको उपस्थिति थियो ।
तालिम संचालनको औपचारिक समुद्घाटन समारोहका क्रममा धर्मदेवी नगरपालिका प्रमुख उदयचन्द्र पौडेलले यस तालिमले शिक्षकमा थप उर्जा, हौसला र यसबाट सिकेका व्यवहारीक सीपलाई कक्षाकोठामा प्रयोग गरी शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको थियो | यसै गरी युडव्लु एस नेपालका अध्यक्ष खेमराज खड्काले स्थानीय सरकारले सहकार्य र समन्वयको वातावरण सिर्जना गरेको खण्डमा विभिन्न किसिममा व्यवहारीक तालिम र शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम ल्याउन युडव्लुएस नेपाल प्रतिबद्ध रहेको समेत धारणा राख्नु भएको थियो |
तालिममा नेपाली, अङ्ग्रेजी र गणित विषयलाई कसरी विद्यार्थी केन्द्रित, मनोरन्जनात्मक र खेल विधीहरुको प्रयोग गरेर शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न सकिन्छ भनेर शिक्षकहरुलाई विभिन्न विधि र तरिकाहरुको बारेमा जानकारी गरईएको यु.डब्लु.एस नेपाल सङ्खुवासभाका सिनियर एजुकेसन अफिसर बिक्रम भट्टराईले जानकारी गराएका हुन् ।
तालिममा सहभागी श्री सिंहेश्वरी माध्यामिक विद्यालयका शिक्षक श्री अमृता राईले सहभागी शिक्षकको तर्फबाट बोल्दै यस्तो रचनात्मक तथा फलदायी तालिम प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कक्षाकोठामा व्यवहारीक रुपमा उपयुक्त हुने तरिका सहितका रचनात्मक तालिमहरुको निरन्तरताले सामुदायिक विद्यालयको घट्दो शैक्षिक स्तरलाई उकास्न साथै शिक्षकहरु कक्षाकोठामा उपयुक्त विधि सहित तयार भएर जाने वातावरण सिर्जना हुने र यस्ता तालिमको निरन्तरताले सिकेका र अनुभव गरेका विषयमा पुनर्ताजगी समेत हुने हुनाले यसको निरन्तरताका लागि अनुरोध समेत गरेका छन् ।
त्यसैगरी, धर्मदेवी नगरपालिका शिक्षा शाखा प्रमुख पदम बस्नेतले कार्यक्रमको समापन समारोहमा बोल्दै युडव्लुएससँगको सहकार्यमा संचालित यस तालिमले “ मैले सुने मैले बिर्सिएँ, मैले देखे मैले देखें मैले सम्झिएँ र मैले गरें मैले बुझें” भन्ने भनाईलाई चरीतार्थ गर्न सक्ने खालको तालिम भएको र यसले कक्षाकोठामा पढाउन र विद्यार्थी केन्द्रित शिक्षण विधि अवलम्बन गरी आगामी दिनमा धर्मदेवी नगरपालिकाको शैक्षिक क्षतिलाई कम गराउन महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको थियो |
कार्यक्रमको समापन समारोहका क्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराईले तालिम रोचक, उत्साहजनक र प्रभावकारी रहेको कुरा आफुले अनुगमनका क्रममा महसुस गरेको र यसले सम्पूर्ण शिक्षकलाई सिकेका कुराहरु कार्यान्वयनमा ल्याउन र आगामी दिनमा अझ यस्ता प्रभावकारी कार्यक्रम संचालन गरी पालिकाको शैक्षिक स्तर उकास्नेमा पालिका सदैब तत्पर रहेको बताउनु भएको थियो |
उक्त ३ दिने तालिमको सहजिकरण, युडव्लु एस नेपालका वरिष्ठ शिक्षा अधिकृत बिक्रम भट्टराई, शिक्षा अधिकृतहरु गोकुल दाहाल र बिनुता तामाङले गर्नु भएको थियो |
यु डब्लु एस नेपाल बिगत आठ बर्षदेखि सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, गुल्मी तथा तनहुँका विभिन्न स्थानीय तहमा निरन्तर रुपमा ग्रामीण र सीमान्तकृत समुदायहरूमा बस्ने बालबालिकाको शिक्षा र शैक्षिक अवसरहरू सुधार गर्न प्रतिबद्ध हुँदै आइरहेको छ । संस्थाले गुणस्तरीय र समावेशी शिक्षाको पहुँचबाट ग्रामीण नेपालका १४,००० भन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित गरेको छ |