घटना–१
राष्ट्रिय बालअधिकार परिषद्मा २०७६ भदौ सुरुमा एउटा यस्तो सूचना आयो जुन यस्तो थियो– ‘बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा आश्रित बालबालिकामाथि यौन दुर्व्यवहार भएको छ।’ तब परिषद् र प्रहरीको टोली भदौ ४ गते उक्त बालगृह अनुगमनमा पुग्यो। उक्त बालगृहलाई सञ्चालकले होस्टेलका रूपमा पनि प्रयोग गर्दै आएको पाइयो। त्यहाँ आश्रित बालबालिकालाई आधारभूत सुविधा उपलब्ध थिएन। त्यहाँ रहेका बालबालिकाले अनुगमन टोलीसमक्ष आफूहरूमाथि यौन दुर्व्यवहार भएको बताए।
बालगृह सञ्चालकले संवेदनशील ठाउँमा छुने गरेको गुनासो गरे। त्यसपछि यौन दुर्व्यवहार गरेको आरोपमा सञ्चालकलाई गिरफ्तार गरियो। अनुगमन टोलीले ९ बालबालिकाको उद्धार गर्यो, जसमध्ये ४ बालक र ५ बालिका थिए। रेकर्डमा भएका ६ जना भने बालगृहबाट गायब थिए।
घटना–२
रूपन्देही कोटिहवास्थित अविनाश अनाथ आश्रमका कर्मचारीले २०७० सालमा एउटा सूचना पठाए। सूचना थियो– ‘आश्रमका बालबालिकामाथि यौन दुर्व्यवहार हुने गरेको छ।’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कर्मचारीसहितको टोली रूपन्देही पुग्यो। टोलीले त्यहाँ रहेका बालबालिका असुरक्षित रहेको निष्कर्ष निकाल्यो। उक्त आश्रममा रहेका ८ बालबालिकाको उद्धार गरियो, जसमा ३ बालक र ५ बालिका थिए। आश्रम सञ्चालकविरुद्ध प्रहरीले कारबाही अघि बढायो। त्यहाँबाट उद्धार गरिएका बालबालिकालाई हिमाली नवीन समाज पासिकोटमा राखिएको परिषद्को विवरणमा उल्लेख छ।
घटना–३
खोजतलास केन्द्रसहितको टोलीले २०७६ जेठ १ गते सुकेधारास्थित ऐश्वर्य बालगृहमा छापा मार्यो। उक्त बालगृहको अवस्था दयनीय भेटियोे। त्यहाँ आश्रित बालबालिका सानो ठाउँमा कोचिएर बसेका थिए। सरसफाइ थिएन। ओढ्ने–ओछ्याउने कपडा फोहर थिए। केहीको शारीरिक अवस्था राम्रो थिएन। ७७ बालक र ४८ बालिकालाई उद्धार गरी अन्य बालगृहमा पुनःस्थापना गरियो। उक्त बालगृहमा रहेकामध्ये ८४ बालबालिका हुम्लाका रहेको परिषद्को विवरणमा उल्लेख छ।
घटना–४
भक्तपुर ताथलीस्थित सौडोल महिला समाजमा रहेका बालबालिका यौन शोषणमा परिरहेको सूचना २०७६ असारमा आयो। त्यसलगत्तै परिषद्सहितको टोली समाजको कार्यालयमा पुग्यो। त्यहाँ टिनको छाप्रोमा बालबालिकालाई राखेको भेटियो। उनीहरू विद्यालय जानबाट वञ्चित पाइयो। उनीहरूले खानलाउन पाएका थिएनन्। समाज सञ्चालक श्रीमान्श्रीमती बालबालिकाको नाममा पैसा उठाउँदै हिँडिरहेका रहेछन्। तर, बालबालिकाको अवस्था बिजोक थियो। यस्तो अवस्थामा अनुगमन टोलीले ४ बालक र ५ बालिकालाई उद्धार गरी हिमाली नवीन समाजमा पठायो।
यी घटनाले कतिपय बालगृहमा आश्रय लिएका बालबालिका असुरक्षित रहेको देखाउँछन्। बालबालिकालाई आश्रयका नाममा यौनशोषणसम्म हुने गरेको देखिन्छ। ‘बालगृह सञ्चालकले असहज तरिकाले छुने गरेको त्यहाँका बालबालिकाले हाम्रो टिम र प्रहरीलाई भनेका थिए। यो यौन हिंसा नै हो। यस्ता कति सञ्चालकलाई त प्रहरीले पक्राउ पनि गरेको हो’, परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुसालले भनिन्, ‘यौन हिंसा भएको कुरा बहिर आएपछि कतिपय बालगृह बन्द पनि भएका छन्।’ उनका अनुसार कतिपयले दुर्गमका मानिसलाई विभिन्न प्रलोभनमा पार्छन्। सोझासाझाले भरोसा गरेर आफ्ना सन्तान उनीहरूको जिम्मा लगाउँछन्। ‘त्यस्ता बालबालिका यहाँ आएपछि विभिन्न शोषणमा पर्ने गरेको देखिन्छ’, व्यवस्थापक भुसालले भनिन्।
कपनस्थित केयर बालगृहबाट बुधबार मात्रै ११ बालिकालाई उद्धार गरिएको छ। बालगृह सञ्चालकले चउरमा शिशु भेट्टाएको भनेर नाटक गरेपछि त्यहाँ रहेका बालिकालाई उद्धार गरिएको परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताए। ‘मापदण्डविपरीत बालगृह चलाएको पाइएपछि हामीले उक्त संस्थामा रहेका बालिकालाई उद्धार गरेका छौं’, उनले भने, ‘अब ती बालिकालाई अर्कै बालगृहमा पुनःस्थापना गर्छौं।’ उक्त संस्थाकी संस्थापक पुष्पा अधिकारीले विभिन्न ठाउँका बालबालिकाको संरक्षण गरेको दाबी गर्दै आएकी थिइन्। तर, असहाय तथा अनाथ राख्ने भनिएको बालगृहमा परिवार भएका बालबालिकासमेत भेटिएका छन्। ‘चार जना बालिकाको परिवार नै भेटिएको छ’, चन्दले भने।
नेपालको आवधिक सातौं योजना (२०४२/४३–२०४६/४७)मा बालबालिकासँग सम्बन्धित छुट्टै परिच्छेद राखियो। उक्त योजनाले अनाथ तथा असहाय बालबालिकालाई आवासलगायतको व्यवस्था गरी व्यावसायिक शिक्षाद्वारा सीप विकास गर्नेलगायत विषय समेटियो। योजनाअन्तर्गत अनाथ तथा असहाय बालकालिकालाई अघि बढाउन विभिन्न बालगृहहरू सञ्चालनमा आएको देखिन्छ।
परिषद्को तथ्यांकअनुसार देशभर गरी ५ सय ३३ वटा बालगृह सञ्चालनमा छन्। यी बालगृहमा २०७६ असारसम्म १५ हजार ५ सय ६५ जना आश्रय लिएर बसेको तथ्यांक छ। तर, उनीहरू अधिकांशको घरपरिवार रहेको पाइएको छ। परिवार भएर पनि बालगृहमा रहेका बालबालिकालाई परिषद्ले घरमै पठाउने गरेको छ। परिषद्ले २०७५/७६ मा १८६ जनालाई परिवारमा पठाएको देखिन्छ। त्यस्तै, २०७४/७५ मा पनि परिषद्ले आमाबुवा तथा घरपरिवार भएका ५७ जनालाई उद्धार गरेको थियो।
आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा आमाबाबु दुवै नभएका वा भएर पनि शारीरिक वा मानसिक अवस्थामा ठीक नभएका बालबालिकाको हेरचाहमा यस्ता बालगृह वा राज्यले सहयोग गर्ने उल्लेख छ। तर, परिवारबाट छुट्ट्याएर तथा प्रलोभनमा पारेर यस्ता बालगृहले बालबालिकालाई आफूकहाँ ल्याउने गरेका छन्। ‘धेरै बालगृहमा घरपरिवार भएका बालबालिका छन्। यसरी राख्न नहुने हो, होस्टेल हो कि बालगृह थाहा हुँदैन’, व्यवस्थापक भुसालले भनिन्।
बालगृह किन सहर केन्द्रित ?
सहरी क्षेत्रका बालगृहमा रहेका अधिकांश बालबालिकालाई एक ठाउँबाट अर्कोमा स्थानान्तरण गरिएको हुन्छ। दुर्गमबाट सहरी क्षेत्रमा ल्याएर राख्ने प्रवृत्ति बालगृहको देखिएको छ। २०७६ सम्मको विवरणअनुसार ४६ जिल्लामा मात्र बालगृह सञ्चालित छन्। बाँकी ३१ जिल्लामा बालगृह छैन। जसका कारण सहरसम्म पहुँच नहुने वास्तविक बेसहारा तथा अनाथ बालबालिकाले आश्रय पाउँदैनन्। तर, घरपरिवार तथा पहुँच भएका बालबालिका भने अनाथका नाममा सहरी क्षेत्रका बालगृहमा बसिरहेका छन्।
दातालाई आकर्षित गर्न सहरी र पर्यटकीय क्षेत्रमा बालगृह सञ्चालन हुने गरेको केन्द्रीय बाल कल्याण समितिका कार्यकारी पूर्वनिर्देशक तारक धितालको भनाइ छ। ‘बालगृहको संख्या बढ्नु राम्रो होइन, बालबालिका राख्न बालगृह अन्तिम उपाय हुनुपर्छ भनेर हाम्रो कानुनले भन्छ’, उनले भने, ‘धेरैजसो बालगृह राजधानी र पर्यटकीय सहरहरूमा छन्। यहाँ खोल्नुको प्रमुख कारण पैसा दिने मान्छेलाई देखाउन पाइन्छ भन्नु नै हो।’
www.annapurnapost.com/