भोजपुर : स्वास्थय चौकी भन्ने वित्तिकै मानिसले सफा परेको चटक्क मिलेको भवन सम्झन्छन् । त्यहाँबाट पाउने स्वास्थय सुविधा दिनलाई जोखिम मोलिरहेका छन् स्वास्थ्य कर्मी । सोचेको जस्तो छैन षडानन्द नगरपालिका १, नेपालेडाँडास्थित स्वास्थ्य चौकी । त्यहाँको चारैतिर जीर्ण बनेको भवन छ । पुरानो खिया लागेर प्वाल परेको जस्ताको छानो। कतिबेला भत्किने हो थाहा छैन । पानी चुहिन्छ । तर त्यही भवनबाट स्वास्थ्यजस्तो संवेदनशील काम भइरहेको छ । स्वास्थ्यकर्मी जोखिम मोलेरै काम गरिरहेका भेटिन्छ ।
गाउँले सर्वसाधारण सामान्य औषधि लिन पनि घन्टौं पालो कुर्छन्। यो २०७२ सालको महाभूकम्पले अति जीर्ण बनाएको षडानन्द नगरपालिका १, नेपालेडाँडास्थित स्वास्थ्य चौकीको वास्तविकता हो। जीर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ। भवन भत्किने डरले सेवा दिने र लिने दुवैलाई जोखिमसँगै सावधानी अपनाउनुपर्ने बाध्यता छ। ठेकेदारको लापरबाहीले समयमै पक्की भवन नबन्दा पाँच वर्षदेखि सोही भवनबाटै सेवा प्रवाह हुँदै आएको छ। दैनिक २५ को हाराहारीमा सेवाग्राही आउँदा जोखिमपूर्ण भवनकै कारण सेवा दिन समस्या हुने गरेको स्वास्थ्यकर्मी सुनाउँछन्। त्यसमाथि यतिबेला कोरोना संक्रमणको जोखिमले समस्या थपेको छ।
सामान्य औषधि लिन जाँदा पनि भवन भत्किने डर भएको स्थानीय सौगात गौतमले बताए। उनले भने, ‘चेकजाँच त परै जाओस्, सामान्य सिटामोल लिन पनि सास्ती छ, भवन कतिबेला भत्किएर किच्ने हो थाहा छैन।’ पक्की भवन नहुँदा प्रसुती गराउने सुत्केरीलाई पनि अन्यत्र लैजानुपर्ने अवस्थाले सास्ती निम्तिएको छ। अन्य स्वास्थ्य चौकी अथवा खाँदबारी लैजानुपर्दा सुत्केरी महिलाको ज्यानलाई झनै जोखिम हुने गरेको स्थानीय कविता भण्डारीले बताइन्। ‘स्वास्थ्य चौकीको भवन नहुँदा कि वडाको स्वास्थ्य चौकीका लागि कि खाँदबारी तार्नुपर्छ कि सुत्केरीको बाटैमा मृत्यु हुने जोखिम स्वीकार्नुपर्छ’, उनले सुनाइन्। व्यवस्थित भवन नहुँदा स्वास्थ्य सेवाका लागि आउने ग्रामीण सर्वसाधारण र स्वास्थ्यकर्मीले चरम सास्ती खेप्नु परेको स्वास्थ्य चौकीका अहेव मेघराज देवकोटाले सुनाए।
‘सामान्य औषधि वितरण गर्न पनि समस्या छ, कतिबेला ठूलो हावाहुरीले पनि भवन भत्किने हो पत्तो छैन’, उनले भने, ‘एउटा पक्की भवन नहुँदा जोखिम मोलेर स्वास्थ्य प्रवाह गर्नुपर्ने बाध्यता छ।’ ठेकेदारको लापरबाहीले समयमै अस्पताल भवन नबन्दा जीर्ण भवनबाटै सेवा प्रवाह गर्न बाध्य रहेको स्वास्थ्य चौकीका कर्मचारीले बताए। भवन बनाउन २०७३ सालमा स्वास्थ्य मन्त्रालयले करिब तीन करोडको टेन्डर खुलाएको थियो। भवन निर्माणको ठेक्का पाएको नागराज कन्स्ट्रक्सन भोजपुरले सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाबाट १८ महिनामा काम सम्पन्न गर्ने गरी स्वीकृति पाएपछि काम सुरु र्गयो।
कन्स्ट्रक्सनका सञ्चालक देवी कार्की व्यक्तिगत समस्या देखाउँदै नआएपछि काम ठप्प भयो। स्थानीयले बारम्बार ताकेता गरेपछि कन्स्ट्रक्सनले काम थाले पनि सोचेअनुरूप कामले गति पाएन। विभिन्न बहानामा ठेकेदार नै सम्पर्कमा नआउँदा निर्माण काममा ढिलाइ भएको स्वास्थ्य चौकी नेपालेडाँडाका इन्चार्ज राजनारायण मण्डलले बताए। १८ महिनामा सक्ने गरी ठेक्का पाएको ठेकेदार कम्पनीले लापरबाही गर्दा समयमै काम सम्पन्न हुन नसकेको उनले बताए।