मेघराज तामाङ ।
जीवन कै कठिन र संघर्षपुर्ण यात्रा थियो । लक कुमार कुलुङ र मेरो (मेघराज तामाङ) । करिब १० दिन अघि देखि हामी मकालु गाउँपालिकाका वडाहरुको सार्वजनिक सुनुवाई गर्न व्यस्त थियौं । हामी आउने क्रममा नै कोशी राजमार्गको हालत खराब थियो । गत सोमबार देखि संखुवासभा अविरल वर्षाले क्षतविक्षत भैरहेको छ । एकको मृत्युु, केही घाइते र घरबार बिहिन । मकालु वडा ५- को सार्वजनिक सुनुवाई सकाएर हामी शुक्रबार वडा न ६ तर्फ लाग्यौ । बाढी र पहिरोले सडकको हालत बिग्रेपछी हामी पैदल यात्रामा आम्राङतर्फ लाग्यौ ।
बाटो सहज हुँदा सोलाखानीसम्म मोटरसाइकलमा जान सकिन्थ्यो । आम्राङ पुग्दासम्म थुप्रै पहिरो छिचोल्नु पर्यो, हामिले । कहिँ माथिबाट आएको त कहिँ तलबाट सडक कटान गरेको । आम्राङ्बाट वडा १ को वालुङ वेशी हुँदै वडा ६ जाने निर्णय भयो । आम्राङबाट ओरालो लाग्दा खेरी नै ठुलो पहिरोमा परियो । जसोतसो पहिरो पार लाइयो तर सडक मै हिन्न पनि कम असहज थिएन । जुन बाटो हामी एक साता अघि मोटरसाइकलमा सहज यात्रा गर्दै वडा न १ को सार्वजनिक सुनुवाइ गर्न गएका थियौं । केही ठाउँ सडक प्रयोग गर्दा जोखिम हुने भएपछी पहिरोबाटै अरुण नदि पुग्यौं र बेलिबृज तर्यौ । वडा न १ को भुगोल टेक्ने बित्तिकै पहिरो आएर खोल्सो थुनिएपछी सिधै सडकमा छागा बनेर खसेको रहेछ । सडकको निशाना अरुणमा विलिन भएछ । खोल्सो बडेर तर्न नसक्ने खोलो बनेको रहेछ, त्यही खोला पार गर्न कठिन भयो । खुट्टा चिप्लिहाले हामी अरुणमा समाहित हुन पर्थ्यो । तर त्यसो हुन पाएन । यहाँबाट इप्सुवा इनर्जीले पावर हाउस जान खोलेको सडक हुँदै पावर हाउस नजिक पुग्यौं । यहा आएपछी हाइड्रो कम्पनीले पहिरोमा खतराको संकेत गरेको रहेछ ।जहाँ निरन्तर पहिरो खस्ने रहेछ । हामी बाटोमा भन्दा धेरै माथीतिर हेरेर यस्लाई पारलायौ । अहिले वर्षाका कारण होला निर्माणको काम रोकिएको थियो । आप्सुवा खोलाको झोलुङ्गे पुल तरेर हामिले वडा नं ६ प्रवेश गर्यौ । उकालै उकालो यात्रामा बर्खेझरिले हामिलाई साथ छोडेको छैन । साझ ६:३० तिर वडा कार्यालय डाँडागाउ पुग्यौ र कार्यालयमा नै बास बस्यौ । यात्राको थकान थियो, छिट्टै सुत्यौ । केहिबेर पछि सुत्न नसक्ने गरि जस्ताको छानामा मुसलधारे ओइरियो । पानीको दर्कनाले सुत्नै दिएन । शनिबार बिहान सोलाखानी र पारी देखिने पाखाहरुमा बाक्लै गरि पहिरो देखिए । आज वडा कार्यालयमा सार्वजनिक सुनुवाई छ । बर्खा बेला सहभागिको उपस्थिति ढिलै गरि भयो । करिब ३:३० तिर कार्यक्रम सकियो । आजको बास वडा कार्यालयमा नै हुने निश्चित भयो । खानासाना खाएर सुत्यौ । हिजो जस्तै गरि पानीले छाना छेड्ला जस्तै गरि दर्कियो ।
जीवन या मृत्युको त्यो यात्रा
आइतबार बिहान करिब ६:१५ मा नुम पुग्न बाटो लाग्यौं । वडा अध्यक्ष नरेन्द्र कुमार मेवाहाङकाे हामीसगै बास भएकाले सगै बाटो लाग्यौं । केहि वर आएपछी ठुलो पहिरो खसेको रहेछ । जहाँ पार गर्न मुस्किल भयो । अध्यक्ष ज्युले रिपोर्टिङ गर्न अह्राए । केही भिडियो खिचियो । अलिक वर आएपछि घर माथिबाट आएको पहिरोले नयाँ बन्दै गरेको घरलाई आम्शिक क्षति गरेको रहेछ । माथिल्लो घर पुर्ण बिस्थापित हुन लागेछ । यहाँ अध्यक्षको बाइट खिचेर लगाडि लम्कियौ । अध्यक्षको घर आइपुगे पछि वहाँको यात्रा त्यहाँसम्म मात्रै रह्यो । सोमबार नुममा भेट हुने बाचा गरेर हामी छुट्टियौ । छुट्तै गर्दा वहाँले ठट्टा गर्नुभयो, जोगिएर जानू, मुचुल्का उठाउनु आउनु पर्ला । केहिबेर ओरालो र तेर्सो लागेपछि गाउँ र जङ्गलको बाटो छुट्टिने ठाउँमा उभिएर लक सरले राई माइलाले गाउँ छोड्यो भन्नूभयो । रमाइलो गफ गर्दै सिमसिम पानीमा ओराली झर्यौ । केही तल आएपछि अस्ति आएको बाटो ठाउँठाउँमा पहिरोले तानेको रहेछ । म अघिअघि छु ।
लक सरले मजाक गर्दै भन्नू भयो,- 'अघि हिड्ने मान्छेले किन बाटो भत्काउदै बिगार्दै हिडेको ?' म अवाक फिस्स हासे । निकै तल आएपछि भयानक पहिरो खडा भयो । केहिबेर कसरी पार गर्ने भनेर अलमलियौ । लक सरले फर्कौ यहाँबाट भन्नू भयो । तर मलाई लाग्यो, यहाँ मात्रै पहिरो होला, यो कटेसी सहजै पुगिएला । त्यसैले पहिरो पार गर्न म सहज ठाउँ खोज्न लागे । लक सर मैले नफर्किने संकेत गरेपछि वहाँपनि त्यतै लाग्नु भयो । म पहिरोको किनारबाट अलिक तल झरे । लक सर माथिबाटै एउटा पहिरो तर्नु भयो । त्यहाँबाट फेरि अर्को त्यतिकै भयानक अर्को पहिरो तर्नु छ । सहज ठाउँ खोज्दा खोज्दै म निकै तल पुगे । लक सर पहिरोको बीचमा देखे पछि वहाँले नै भन्ने गरेको कुराको याद आयो । मोटरसाइकल यात्रामा कहिँ अलि अप्ठ्यारो जस्तो लाग्यो भने वहाँ ओर्लि हाल्नु हुन्थ्यो र म सोध्ने गर्थें । बाटो ठिकै छ त किन ओर्लिहाल्नु भाको ? खबर लाने मान्छे चाहिन्छ । मैले यो बेला यति सम्झिए । म पनि बिस्तारै पहिरो पार गरेर पारी तरे । हामी दुबैले यो ठुलो पहिरोबाट पार पायौं ।
पारी पुगेपछि अब हिड्ने बाटो पत्ता लाउन सकेनौं । पारी पट्टी पहिरोसम्म आएको बाटोलाई निसाना लाएर हामी भएदेखी केही माथी होला भनेर त्यतै लाग्यौं । बाटो फेला पर्यो र ओराली झर्यौ, ससाना पहिरोहरु छिचोल्दै । केही तल आएपछि झन् ठुलो पहिरो देख्यौं । लक सरले भन्नू भयो -"अब चाहिँ जान सकिँदैन ।" मलाई पनि हिनताबोध भयो, अघि फर्कौ भन्दा मान्नु पर्ने थिएछ । अरुण नदि नजिकै उर्लिरहेको आवाज सुनिन्छ । त्यसैले फेरि जोखिम मोलियो । पहिरो बाटै हामी हिड्ने बाटो खोज्न थाल्यौं । माथीबाट पहिरो आइहाले हामी बाच्ने स्थिती छैन । केहिगरी खुट्टा चिप्लिए आप्सुवाको बगरमा बजारिन पुग्छ । यो पहिरो आप्सुवा खोलामा झरेको छ । यसलाई ज्यानको बाजि थापेर जित्यौ । बाटोसमेत धाजा फाटेकाले हामी खुड्किलै खुड्किला ओर्लदा बिच्याइएका ढुङ्गाहरु हलचल हुने गर्थ्यो । केही ठाँउ बाटो कटान गरेर पहिरो खसेको छ । सामान्य पानी परिरहेकाले पहिरो खसिहाल्छ्की भन्ने डर कम्ती थिएन । म अघिअघि नै छु । आप्सुवा र अरुणको दोभान देखे । अरुण ठूलो रुप लिएर बाङ्गालको खाडीतर्फ बगेको छ । पारी पट्टी थोरै आप्सुवा पुल देखे । लक सर अलिक पछि आउदै हुनुहुन्थ्यो । म हतार गर्दै पुलतर्फ लागे । तर जब पूरा पुल देखिने ठाँउमा पुगे । पुल आधा मात्रै झुन्डिएको थियो । यो देख्दा म हरेस खाइसकेको थिएँ ।
आज हाम्रो जिवनको अन्तिम यात्रा रहेछ । म अलिक वर फर्किए । लक सरलाई सुनाए । वहाँले नपत्याए जस्तो गरि हेर्न लाग्नु भयो । पुलको त्यो हालत देखेपछि वहाँले भन्नूभयो,- "अब हामी फस्यौ, जाने ठाउँ पनि छैन, फर्किनेनी छैन ।" म आधा भइसकेको थिएँ । वहाँ केही गरि तर्न सकिन्छ कि भनेर निकै तलसम्म पुग्नु भयो । सम्भावना नभएपछी म भए तिरै फर्कनु भयो । माथिबाट आएको पहिरोले पुल क्षति गरेको थियो । पानी सिमसिम छदैछ । यो गति बढे माथिबाट पहिरो खस्ने निस्चित छ, अनि हाम्रो जिबनलिला समाप्त हुनेछ । अब मैले सोच्नु नसोच्नु सबै सोचे । घर परिवार, आफन्त सबै । मलाई लाग्यो अब हामी फर्कन सक्दैनौं । फोन गरि कसैलाई हाम्रो बारे जानकारी दिउँ, नेटवर्क छैन । अब बाचिएछ भने पनि रेस्क्यु हुन सक्दैन । अगि वडाअध्यक्षले ठट्टा गरेको नि सम्झिए । सायद तेस्तै हुनु थियो कि भन्ने पनि लाग्यो । अनि मुचुल्कै गर्न आउँदा नि के होला र हामीलाई भेट्ने छैन । विधि पुर्याउलान्, तेत्ती न हो । यो बीचमा लक सरले के-के भन्नू भयो मैले कति जवाफ फर्काए, मलाई पत्तै भएन । मैले भने तल बगरमा ओर्लन पाए जसोतसो छोयाङ्तर्फ गएको सडकबाट फर्किन सकिन्थ्यो कि ? तर त्यस्को बिकल्पै थिएन । लक सरले भन्नूभयो, स्काउटले खै कति लामो हो डोरि कम्मरमा भिरेको हुन्छ, यस्तो बेला काम लाग्छ । मैले प्रतिक्रिया जनाइन ।
हामी मरियो भने यहीँ पहिरोमा मरिने भैयो, बाचियो भने घर पुगिएला भन्नेमा पुग्यौं । र अघि जोखिम मोलेर आएको पहिरोको बाटो हुँदै छोयाङ फर्किने निर्णय भयो । लक सरले भन्नू भयो इन्स्योरेन्स गर्नुभाको छ ? मैले सिधा जवाफ फर्काए, छैन । यतिबेला ८:३० बजिसकेको थियो । पारी इसुवा इनर्जी कम्पनिको आवास क्षेत्र सुनसान थियो । सायद पहिरो खस्ने डरले त्यहाँ बस्नेहरु निस्किसके । फर्किने त भइयो । तर यतिखेरसम्म हामी भोकले सिकिस्त भैसकेका थियौं । करिब ८ बजे आम्राङ आइपुग्ने र खाना खान नुम पुग्ने योजनाले खानेकुरा केही बोकिएन । यसले पनि एउटा पाठ सिकायो हामिलाई कुन बेला के समस्या आउछ टुंगो हुदैन । यात्रामा आवश्यक खानेकुरा बोक्नु पर्छ । जीवन या मृत्युको दोसाँधमा हामी फर्कियौ । पहिरोबाट जोगिदै उकालो । खुट्टा कामेर पाइला सरिन्न । उसैत भोकले लर्खराउदा । केही माथि आएपछी लक सरले झोला खोतल्नु भयो र ह्याप्पिडेन्ट निकाल्नु भयो । हामी खाँदबारीबाट बाटो लागेको दिन भ्याङखोलामा किनेका थियौं । २/२ वटा पुग्नेगरी उबृएको रहेछ । चपाउनु अघि मैले ठट्टा गरे, पेट पनि अचम्म मान्छरे मुखले यति धेरै चपाईरहेको छ, किन भित्र चाहिँ पठाउदैन ? बरु भोक थपिन्छ रे । हामी भोको पेटमा हास्यौ र ह्याप्पिडेन्टको तागत पहिरोले तान्न लागेको सिढिहरुमा खर्चियौ । हामी पहिरोको उच्च जोखिम्मै छौँ । केही माथी आएपछी चुच्चे आँप टिपेर खायौं ।
ढुङै खाउकी माटो खाउ भएको हामिलाई अब आउने ठुलो पहिरो सजिलै काट्ने दुस्साहस दियो । धेरै खादा कलिलो आपले असर गर्ने डर । नखाउ पहिरोबाट बाचे पनि भोकले मर्ने डर । निकैबेर हिडेपछी अन्तिम पटक संघर्ष गर्नु पर्ने ठुलो पहिरो पुगियो । यो पहिरो पार गरे बाचिन्छ भन्ने आश छ । पहिरोमा ज्यानलाई जोखिममा पारेर पार लाईयो । अब चाहिँ बाच्छु जस्तो लाग्यो । अत्यन्त भोक र तिर्खाएका हामिले यो पहिरो कटेर छोयाङतर्फ तेर्सै जाउ जसरी भएनी सोलाखानी जाने ठाडो बाटो भेटिएलानी भन्ने भयो र तेसै गरियो । तर बाटो नभएको ठाउँमा बर्खमा हौसिएर आएका झार पन्छाउन नसक्ने भयौं । भोकले थलिन लागेको हामिलाई धागोको तगारो जस्तै भैसकेको थियो । फेरि फर्कियौ र पुरानै बाटो उक्लियौ । यतिबेला सयौं जुकाले हाम्रा शरिरमा खुन चुसिसकेको थियो । डाँडा गाउँ जाने सडक भेटेपछि पसलको खोजिमा लागियो । केही पर पुगेपछी एक जना चिने जस्तै लाग्ने मान्छे हामी तिरै आउदै हुनुन्थ्यो । नभन्दै बुद्धि मेवाहाङ हुँनुहुदो रहेछ । गत वर्ष यता घुम्न आउँदा वहाँ कै घरमा बास बसेका थियौं । वहाँलाई पाएपछि हामी भोकले मरिदैन भन्ने लाग्यो । किनकी गाउँमा यतिबेला मान्छे भेट्न मुस्किल छ । हामिले हाम्रो सबिस्तार लायौ । वहाँको घरमा किराना पसल छ भन्ने थाहा छ । चाउचाउ बनाउन लाउला र खाउला भन्ने थियो । तर सबै काममा गएकाले सोचे जस्तो भएन । वहाँले नै माथ्लो घरमा जाउ भन्नू भयो र त्यतै लाग्यौं । बुद्दी दाइ नभएको भए यहाँ पनि हामी भोकै पर्ने थियौं । वहाँले घरको मान्छे बोलाएर ल्याउनु भयो । त्यहाँ चाउचाउ बनाउन लगायौ र धित मरुन्जेल चिउरासग खायौं । नुम पुग्ने योजनाले त्यहाँबाट अरुणको ओराली झर्यौ । अरुण पुल तरेर सोलाखानिको उकालो गर्मीमा । सडक प्रयोग गरेर अब हामी आम्राङ तिर हानियौ । बाटो भरी पहिरो नै पहिरो छ । केही ठाउँमा निक्कै असहज पनि थियो ।
जति अघि बढ्यो उति ठुलो पहिरो र जोखिम पनि । हामी दुई आज आम्राङ पुगिन्छ के ? भन्दै तेर्सी रह्यौ । सुके खोल्सा आएपछी तर्न सक्ने स्थिति देखिएन । लौरो बनाए र म अघि तरे । लक सर पनि तर्नु भयो । यहाँ कहिँकतै खुट्टा खुस्किए अरुण मै पुगिन्छ । जसोतसो यो संकट झेलियो ।
तारको भरमा खोला तर्दा
क्रमश यात्रा अघि बढ्यो । जब अरुण तेस्रोको आम्राङ सुरुङ छेउ (अडिट-२) आयौ, तब हाम्रो यात्रा टुंगिएको अनुमान भयो । हामिले बाटो प्रयोग गरिरहेको सडक तुङ खोलाले बगाएछ । हामी पुल बगाए जस्तै गरेर फेरि फस्यौ । बिहान देखि संघर्षरत हाम्रो यात्रा फेरि सोलाखानी फर्कन सक्ने हुत्ती थिएन । किनकी छोयाङमा खाएको चाउचाउ र चिउराले साथ छोडिसकेको थियो । तुङ खोला पार गर्ने कि सोलाखानी फर्किने दोधारे मनमा जिवनले साथ छोडिसकेको थियो । फेरि सम्झिए, यो संकट पूरा गरे, सामान्य कालले हामिलाई लानै सक्तैन । लक सरले भन्नू भयो, अब हामी साच्चै अभर पर्यौ । मलाई लाग्यो, आज हाम्रो कालयात्रा भइरहेछ । पटकपटक जिवन मृत्युको परिक्षा भइरहेको छ । पाइलापाइलामा कालयात्रा चलिरहेछ । सडक बगाएपछि खोला नजिक पुग्न कठिन छ । त्यहाँ पुगि हाले तुङ खोला उर्लिएको छ । फेरि अरुण हुँदै हामिलाई गंगासम्म जलयात्रा गराउने छ, तुङ खोलाले । लक सरले सडकबाट तल झर्ने र खोला जसरी नि तर्नु पर्छ भन्नू त भयो तर तल झर्न सजिलो थिएन । नयाँ पहिरोको माटोमा नङ गाडेर वहाँ तल झर्नु भो । करिब २० फुट । ज्यान जोखिममा राखेर । वहाँ तल पुगेपछि मलाई नि पुरुषार्थ देखाउनु पर्यो । नत्र एकलै सोलाखानी फर्किनुको विकल्प थिएन । अब लक सर जस्तै गरि ओर्लने भैयो । मेरो मुटु फुत्किएर बाहिर निस्किएला जस्तो भयो । मुटु बढेर फोक्सो भन्दा ठुलो भए जस्तो लाग्यो । जे होस्, सकुशल ओर्लिए पुगिएला भन्ने लाग्यो र जेनतेन ओर्लिए । ओर्लन त ओर्लियौ तर खोला के गरि तर्ने ? खोला तर्न नसके अघि ओर्लिएको पहिरो उक्लन सक्ने थिएनौं । हाम्रो जिवनको यात्रा साघुरिदै थियो । हामी भए ठाउँमा छागाबाट झरेको पानीको बाफ र बाछिटाले निथ्रुक्क पारी सकेको थियो । पारी कम्पनीमा काम गर्ने साथीहरूलाई डोरि लौरो ल्याउन संकेत गर्यौ । पानी बाक्लो गरि परे खोला बढ्ने डर कम थिएन । निकै बेरमा ३ भाइ डोरि र लामो रड लिएर आए । यतिन्जेल लक सरले बिना सहारा २ पटक खोला तर्ने प्रयास गरिसक्नु भएको थियो । मैले नै अनुरोध गरे, केही छिन् पर्खौ । एकै छिनको हतारले जीवन समाप्त हुन्छ । म खोला खेल्ने मान्छे । वहाँ पौडिनै नजान्ने मलाई थाहा थियो । तर म भन्दा आटिलो बनेर खोला तर्ने प्रयास हेर्दा मान्छे बाच्नको लागि मर्न नडराउने रहेछ । डोरिको सहायताले हामी तुङ्खोला तर्यौ । जुन अन्तिम मृत्यु परिक्षा थियो । खोला तर्न सहयोग गर्ने तीन जना मित्रलाई हार्दिकताले धन्यवाद दियौं । उनिहरु नभएको भए हामी के गर्थ्यौ र के हुन्थ्यो टुङ्गो भएन । सुरुङ अघि सडकबाट तेर्सिदा लक सरले भन्नू भयो, यसरी खोला नतरेको धेरै भएको थियो । अब बाचिन्छ भन्ने पुर्णआश भयो र आम्राङ हुँदै गुरुङ गाउँबाट साँझ १२ घन्टाको यात्रा नुम आएर टुङ्यायौ ।
अब मकालु ६ का स्थानीयहरु गाउँपालिकाको केन्द्र नुम आउन पाउने छैन । नुम आएपछि वडाअध्यक्ष, गाउँपालिकालाई सूचना गर्ने मन थियो । तर हामिसँग विकल्पहरु थिएन । आजसम्ममा यो बाटोमा हामी जस्तै धेरै जनाले सास्ती पाए होलान् । तीन विकल्पको बाटोहरु, छोयाङ-आप्सुवा पुल-अरुण नदि आम्राङ हुँदै नुम । छोयाङ हुँदै अरुण नदि तरेर सोलाखानी-आम्राङबाट उकालै उकालो नुम र सोलाखानीबाट उकालै उकालो सुके खोला र तुङ खोला तरेर गुरुङ गाउँ हुँदै नुम । यो रुट अहिले पुर्ण रुपमा बन्दछ । छोयाङ बासी अब नुम आउन २ दिन लाग्नेछ । वर्खयाममा योजना फरफारक गर्न आउन उनिहरुलाई मुस्किल छ । तत्काल बाटो मर्मत गर्न पनि निरन्तर पानी परिरहेकाले सम्भव छैन । मकालु क्षेत्रमा एक साता देखि नियमित विजुली छैन । ईन्टरनेटको के कुरा, मोबाइलमा नेटवर्क छैन । अब मकालु गाउँपालिकाले के गरि उपभोक्ता र निर्माण व्यवसायीलाई केन्द्रसम्म ल्याउला र भुक्तानी देला ? विधुत ब्याकप नहुदा मसान्तमा क्लोजिङ गर्न सक्ला त मकालुले ? जिवनकै सबैभन्दा कठिन यात्रामा मकालु बासिको समस्या कम देखिएन । अहिले पनि निरन्तर पानी रोकिएको छैन । सोमबार, असार ३, २०८१
(मेघराज तामाङ सङ्खुवासभा पत्रकार हुन् ।)